मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २९ शनिबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २९ शनिबार २o:o३:oo
Read Time : > 2 मिनेट
सप्तरंग

एक कराेड पुरस्कार राशिकाे मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको दोस्रो सिजन घोषणा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २९ शनिबार २o:o३:oo

इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्न अन्तर्राष्ट्रिय दुईवटा रियालिटी सोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ। सन् २०२३ मा यी दुवै रियालिटी सोको पहिलो सिजन सम्पन्न भएको थियो।

‘नेपालभित्र र संसारको जुनसुकै कुनामा रहेको नेपाली समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी रियालिटी सोहरूको आयोजनाको हुन लागेका हुन्,’ इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार आयोजित कार्यक्रममा भने, ‘संसारका ५२ देशमा बसोबास गरिरहेका नेपालीको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौँ।’ 

अधिकारीका अनुसार मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक भूमिकामा रहेछन्।

यसैगरी, मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमण्डलमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, अभिनेतृ शिल्पा मास्के, कोरियोग्राफरहरू शंकर बिसी, किरण थापा हुनेछन्। मेरो भ्वाइस युनिभर्सको सिजन २ को निर्देशन सुरेश पौडेलले गर्नेछन् भने डान्स युनिभर्सको सिजन २ को निर्देशन मौसमी गुरुङले गर्ने तय भएको छ। दुवै सोहरूका कार्यक्रम प्रस्तोताहरू रिमा विश्वकर्मा, नरेश भट्टराई, राजाराजेन्द्र पोख्रेल र नम्रता श्रेष्ठ अनुबन्धित भएको अधिकारीले बताए। 

‘विश्वभरि छरिएर रहेका नेपाली मूलका अर्थात् नेपाली भाषीहरूका बिचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली भाषी प्रतिभाहरूलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी सोहरू आयोजना गरिएको जानकारी गराउँदा गर्वको अनुभूति भएको छ,’ अधिकारीले भने, ‘संसारभरका नेपालीको नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, संवर्द्धनन र उत्थान गर्नु फाउन्डेसनको मूलभूत उद्देश्य हो। नेपाली जातिप्रतिको यही भावनालाई एउटै मालामा गाँस्न सकियो भने हाम्रो सांस्कृतिक पहिचान पुस्तापुस्तासम्म पनि जीवित राख्न सकिन्छ भन्ने विश्वास लिएका छौँ।’

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अस्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा र नेपालका झापाको दमक, बाँकेको नेपालगन्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसन आयोजना गरिने आयोजकले जनाएको छ।

सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउन्डेसनको वेबसाइटबाट आवेदन दिन सक्नेछन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनोट भएका कलाकारलाई थप प्रतिस्पर्धाका लागि काठमाडौं ल्याइनेछ। दुवै कार्यक्रममा दुई सय ४० प्रतिस्पर्धी काठमाडौं आउनेछन्। 

दुवै सोका विजेताहरूलाई एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। 

दुवै सोको दातृ संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका हो। दुवै प्रतियोगिताका लागि प्रतियोगीको न्यूनतम उमेर १८ वर्ष पूरा भएको हुनुपर्नेछ। नेपालबाट भने १६ वर्ष उमेर पुगेको व्यक्ति सहभागी हुन पाउनेछन्। सोमा प्रस्तुत गरिने सबै प्रस्तुतिहरू नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनैपर्नेछ। अडिसनहरूबाट छनोटमा परी नेपालबाहिरबाट प्रस्तुतिका लागि नेपाल आउने सबै प्रतियोगीहरूको यात्रा खर्च फाउन्डेसनले नै दिनेछ। 

अधिकारीका अनुसार टप २५ भित्र पर्ने प्रतियोगीहरूका लागि खाना र होटेल खर्चको व्यवस्था गरिनेछ भने नेपाल र भारतबाहेक अरू देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीहरूका लागि आवासको व्यवस्था गरिनेछ।

यही २५ र २६ जनवरीमा अमेरिकाको कोलम्बसमा सुरु हुने अडिसन लन्डन, लिसस्बन, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई, सिलिगुडीमा हुनेछ। यसैगरी, पश्चिम नेपालको पोखरा, नेपालगन्ज, दमक हुँदै  २३ र ३० मार्चमा काठमाडौंमा जनरल अडिसन हुने फाउन्डेसनले जनाएको छ।