भ्रष्टाचारको अनुसन्धानलाई प्रभावित पार्न अख्तियारका कर्मचारीलाई घुस खुवाउन खोज्ने प्रशासकीय अधिकृत पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटालाई अख्तियारको कञ्चनपुर कार्यालयले एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनी यसअघि अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिदमा अनियमितताको विषयमा अनुसन्धान भइरहेकोमा शुक्रबार अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन भनिएको थियो । उनले कागजातसहित एक खाम बुझाए । जसमा एक हजार रुपैयाँ दरका ९६ र पाँच सय दरका ८ वटा नोट गरी एक लाख रुपैयाँ थियो ।
अनुसन्धान अधिकृतले के हो यो भनेर सोध्दा उनले ‘मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेको’ अख्तियारद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । तत्कालै अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।