मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २८ शुक्रबार
  • Monday, 06 January, 2025
शान्ति तामाङ काठमाडाैं
२o८१ मङ्सिर २८ शुक्रबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सडकको चार मिटर भ्वाङ टाल्न चार महिना : भौतिक पूर्वाधारका सचिवले रिबन काटेर गरे उद्घाटन 

कामको श्रेय महानगरलाई जाने डरले हल्लाखल्लासहित उद्घाटन

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २८ शुक्रबार o६:१o:oo

भ्वाङ परेको कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयअगाडिको सडक टाल्न सरकारलाई चार महिना लागेको छ । टुकुचा (इच्छुमती) खोलामाथिको बक्स कल्भर्ट गत २५ साउनमा भासिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध थियो । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले तामझामका साथ रिबन काटेर उद्घाटन गरेपछि सडक सञ्चालनमा आएको छ । 

४.८४ मिटर भ्वाङ टालिएको सडक भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्ने कार्यतालिका थियो । तर, उनको कार्यव्यस्तताले सचिव शर्मा रिबन काट्न पुगे । कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीलगायतको पनि उपस्थिति थियो ।

सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीका अनुसार सडक सञ्चालनमा आएको कुरा सबैलाई जानकारी होस् भन्ने हेतुले उद्घाटन गरिएको हो । ‘बाजागाजा बजाएर, खसीबोका काटेर वा लाखौँ खर्च गरेर सडक उद्घाटन गरेको होइन, यसमा आश्चर्य मान्नुपर्ने कुरा केही छैन,’ उनले भने, ‘हामीले यस्ता कैयौँ कल्भर्ट दैनिक टालेका हुन्छौँ । यो सडकको चर्चा धेरै भएकाले सञ्चालनमा आयो भन्ने जानकारी दिन उद्घाटन गरिएको हो ।’

चार मिटर सडक बनाउन चारै महिना लागे पनि सडक डिभिजनले भने कार्यतालिकाभन्दा अगाडि नै सडक निर्माण सम्पन्न गरेको भन्दै ठेकेदार कम्पनीलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरेको छ । अत्यधिक चाप हुने यो क्षेत्रमा चार महिनासम्म सडक बन्द हुँदा ट्राफिक जाम हुने गरेको थियो । 

चार महिनादेखि रोकिएको सडक ठेकेदार कम्पनी डिबी प्रकाश कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको हो । जोशीका अनुसार ठेकेदार कम्पनीले पनि २४सै घण्टा काम गरेको थियो । सडक डिभिजनले पनि आफ्नो तर्फबाट पूर्ण रूपमा सहयोग गरेका कारण समयमै सडक निर्माण सम्पन्न भएको हो ।

ठेकेदार कम्पनीले ४९ लाखमा सडक निर्माण गरेको हो । २ कात्तिकबाट ठेकेदार कम्पनीले कल्भर्ट मर्मत थालेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले १७ मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । भासिएको सडकमा धेरै पुरानो कल्भर्ट भएकाले यसअघि पनि करिब १० पटक सडक भासिइसकेको थियो । तर, सडक डिभिजनअन्तर्गत पर्ने यस सडकलाई मर्मत गर्दै सञ्चालन गर्ने गरिएको थियो । 

कामको श्रेय महानगरलाई जाने डरले हल्लाखल्लासहित उद्घाटन
पछिल्लो समय संघीय सरकारले गरेका धेरै कामको श्रेय महानगरपालिकालाई गएको देखिन्छ । सडक निर्माण, सडक मर्मत, सडक हरियाली, विद्युत् प्राधिकरणले गरेको भूमिगत तार व्यवस्थापनलगायत काम संघीय सरकारले गर्ने र त्यसको श्रेय महानगरलाई जाने गरेको छ । महानगरले पनि आफैँले काम गरेकोजस्तो गर्दै आएको छ । जसका कारण सडक विभागले महानगर क्षेत्रभित्रका पोलमा सवि अर्थात् सडक विभागको क्षेत्रभित्र पर्ने सडक हो भनेर सेतो घेराभित्र रातो रंग लगाएर पोतेको छ । ‘यो सडक उद्घाटन गर्नुपर्ने धेरै कारण छन् । सडक हामीले बनायौैँ । तर, आज बिहान कुनचाहिँ एउटा मिडियाले महानगरपालिकाले समयमै सडक निर्माण ग¥यो भनेर लेखेछ,’ जोशीले भने । 

यो सडक मर्मतको श्रेय पनि महानगरलाई जाने डरले सडक डिभिजनले उद्घाटन गर्ने चाँजोपाँजो मिलाएको देखिन्छ । महानगर कार्यालयअगाडिको सडक पटक–पटक भासिएपछि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सडक भासिएकै दिन खोलामाथि बाटो निर्माण भएकाले यस्तो समस्या देखिएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । ‘यति त सबैलाई थाहा हुनैपर्छ कि मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्छ । घर र बाटो होइन,’ उनले लेखेका थिए ।