मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २४ सोमबार
  • Thursday, 26 December, 2024
अली मामौरी
२o८१ मङ्सिर २४ सोमबार o७:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असदको पतन र मध्यपूर्वमा यसको प्रभाव

अधिकांश सिरियाली जनताले असदको पतनको स्वागत गरे पनि तिनको जीवनमा उल्लेखनीय सुधार आउँछ या आउँदैन भन्ने देखिन बाँकी छ

Read Time : > 2 मिनेट
अली मामौरी
नयाँ पत्रिका
२o८१ मङ्सिर २४ सोमबार o७:५७:oo

सिरियाको राजधानी दमास्कसले सुन्नी विपक्षीसामु घुँडा टेकेको छ । दमास्कसको एकाएकको पतनले मध्यपूर्वमा महत्वपूर्ण मोड निम्त्याएको छ । सन् २०११ देखि विद्रोह, गृहयुद्ध र प्रतिबन्ध सामना गरेका बसर अल–असदको सत्ता प्रतिरोधविनै ढलेको छ । यस परिवर्तनले क्षेत्रीय शक्ति सन्तुलनलाई नयाँ स्वरूप दिएको छ र असदपछिको सिरियाको भविष्य तथा छिमेकी देश एवं अन्तर्राष्ट्रिय शक्तिका भूमिकाबारे प्रश्न खडा गरेको छ ।

असद सत्ताको पतनसँगै सिरिया अहिले राजनीतिक रूपमा तीन प्रमुख हिस्सामा विभाजित र खण्डित भएको छ । र, प्रत्येकका बाह्य समर्थक एवं पृथक् उद्देश्य छन् ।

१. हयात तहरिर अल–साम नेतृत्वको सिरियाली विपक्षी शक्ति : यी समूह टर्कीको समर्थनमा चलिरहेका छन् । यिनले उत्तरी टर्कीको सिमानादेखि दक्षिणी जोर्डनको सिमानासम्म फैलिएको मध्य सिरियामा नियन्त्रण गरिरहेका छन् । यिनीहरू सबै सुन्नी छन्, तर सुन्नी गुटबिचको आन्तरिक विवादले एकताबद्ध सरकार गठन गर्ने वा दीर्घकालीन स्थिरता कायम राख्ने मामिलामा चुनौती व्यहोर्न सक्छ । यो विपक्षी शक्तिमा इस्लामिक स्टेट र अल–कायदाबाट आएका पूर्वजिहादीदेखि सन् २०११ को विद्रोहपछि असदको सेनाबाट अलग भएको सिरियन नेसनल आर्मीजस्ता धर्मनिरपेक्ष समूह पनि समावेश छन् ।

२. कुर्दिस शक्ति : कुर्दिस समूहले उत्तरपूर्वी सिरियालाई नियन्त्रणमा राखेको छ । जसले उत्तरमा टर्की र पूर्वमा इराकसँग सिमाना साझा गर्छ । यो तप्काले अमेरिकाबाट निरन्तर समर्थन पाइरहेको छ र अमेरिकाले कुर्दिस समूहको क्षेत्रमा सैनिक अड्डा स्थापनासमेत गरेको छ । यसले टर्कीसँगको तनाव बढ्ने जोखिम पैदा गरेको छ ।

३. अलावी शक्ति : असद समर्थित अलावी समूह मुख्यतः पश्चिमी सिरियाका तटीय क्षेत्रमा केन्द्रित छन् । यो समूहले इरान, इराक र लेबनानको हिजबुल्लाह लडाकुसँग बलियो सम्बन्ध राख्छ । यी क्षेत्र दमास्कसमा विपक्षी शक्तिको कब्जापछि असद समर्थित समूहको गढका रूपमा रहन सक्छन्, जसले साम्प्रदायिक विभाजनलाई थप बल दिनेछ ।

असद सत्ताको अकस्मात पतनले मध्यपूर्वका प्रमुख खेलाडीमाझ गहिरो असर पार्नेछ । टर्कीको बलियो समर्थनमा रहेका सुन्नी विद्रोहीले सिरियाको कमजोर अवस्थालाई आफ्नो फाइदाका रूपमा उपयोग गरेका छन् । असद सत्ताका सहयोगी अन्यत्र व्यस्त थिए । रुस युक्रेनसँगको युद्धमा होमिएको छ भने इरान र अन्य समर्थक इजरायलसँगको द्वन्द्वमा मुछिएका छन् । यो अवस्थाले विद्रोहीलाई द्रुतरूपमा राजधानी दमास्कससम्म पुग्न रणनीतिक अवसर प्रदान ग¥यो ।

टर्कीले पहिल्यै उत्तरी सिरियाको एक हिस्सामा नियन्त्रणमा लिएको छ, जहाँ यसका सेनाले सिरियाली कुर्दिस बलसँग लडिरहेका छन् । दमास्कसको सत्ता पतन र टर्कीका सिरियाली विपक्षी सहयोगीको विजयसँगै यसले सिरियामा आफ्नो राजनीतिक र सैनिक प्रभाव विस्तार गर्ने अपेक्षा गरिएको छ, जसले आत्मनिर्णयका लागि संघर्षरत कुर्दिस अल्पसंख्यकसामु थप चुनौती सिर्जना गर्नेछ ।

इजरायल पनि रणनीतिक रूपमा थप बलियो अवस्थामा पुगेको छ । असदको पतनले इरान, सिरिया र लेबनानको हिजबुल्लाह, गाजाको हमास, यमनका हुथी विद्रोहीजस्ता तेहरान समर्थित छद्म समूह मिलेर बनेको तथाकथित गठबन्धन ‘एक्सिस अफ रेसिस्टेन्स’लाई छिन्नभिन्न पार्नेछ । इरानका हिजबुल्लाहसम्मका महत्वपूर्ण सैन्य आपूर्ति मार्गमा सम्भवतः अवरोध हुनेछ । नतिजा, हिजबुल्लाह लडाकु समूह थप कमजोर हुने सम्भावना छ ।

यसबाहेक सिरिया जातीय र धार्मिक समूहमा विभाजित हुँदा इजरायलका क्षेत्रीय चिन्ता÷चासोलाई घटाउन सक्छ । नतिजा, इजरायललाई आफ्ना व्यापक रणनीतिक लक्ष्यलाई अगाडि बढाउन अवसर प्रदान गर्नेछ । उदाहरणका लागि गत महिना इजरायलले हिजबुल्लाहसँग युद्धविरामको सहमति गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो ध्यान ‘इरानी खतरा’लाई रोक्नमा केन्द्रित हुने बताएका थिए ।

इरानले धेरै क्षति व्यहोर्नेछ । असद इरानको क्षेत्रीय छद्म सहयोगीको सञ्जालका महत्वपूर्ण सहयोगी थिए । उनको सत्ता पतन इजरायलले हिजबुल्लाह र हमासजस्ता अन्य साझेदारमाझ पहिल्यै पु¥याएको ठूलो क्षतिका कारण पनि भएको हो । इरानको क्षेत्रीय प्रभाव अब गम्भीर रूपमा घटेको छ, जसले यसलाई इजरायलसँगको प्रत्यक्ष संघर्षका लागि थप संवेदनशील बनाइदिएको छ ।

सिरिया खण्डित हुनुले छिमेकी राष्ट्र टर्की, इराक, जोर्डन र लेबनानका लागि पनि महत्वपूर्ण सुरक्षा जोखिम सिर्जना गर्नेछ । शरणार्थी प्रवाह, सीमापार हिंसा र साम्प्रदायिक तनाव बढ्न सक्नेछ । टर्कीले अहिले ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई आवास दिएको छ र यीमध्ये धेरैले असदको सरकार ढलेपछि घर फर्किन पाउने भन्ने आशा राखेका छन् ।

सिरियाको अस्थिरताले इराक र लेबनानमा मौजुदा नाजुक राजनीतिक र आर्थिक स्थितिलाई थप बिगार्न सक्छ । सिरियाको जातीय र धार्मिक आधारमा बाल्कनाइजेसन (पृथकीकरण) मध्यपूर्व क्षेत्रका अन्य समूहलाई आफ्ना स्वायत्तता प्राप्तिका लागि सरकारविरुद्ध विद्रोह गर्न उत्प्रेरित गर्न सक्छ । यसले मध्यपूर्व क्षेत्रभरका विभाजनलाई थप गहिरो बनाउँदै द्वन्द्वलाई लम्ब्याउने जोखिम पैदा गर्छ ।

धेरै सिरियालीले असदको पतनको स्वागत गरे पनि आमसिरियाली जनताको जीवनमा उल्लेखनीय सुधार आउँछ वा आउँदैन भन्ने देखिन बाँकी नै छ । सिरियामा एकीकृत र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सरकारको अभावका कारण प्रतिबन्ध हट्ने सम्भावना कम छ । यसले पहिले नै ध्वस्त भएको सिरियाली अर्थतन्त्रमाथि थप दबाब दिनेछ, मानवीय संकटलाई गहिरो बनाउनेछ र सम्भवतः चरमपन्थलाई प्रोत्साहित गर्नेछ ।

(मामौरी डिकिन विश्वविद्यालयमा मध्यपूर्व अध्ययनका शोधकर्ता फेलो हुन्) 
द कन्भर्सेसनबाट