कृष्णभिरमा ग्यासको बुलेट दुर्घटना

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- ७ कृष्णभिरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार सडकबाट तल खसेको गाडीको केही भाग भिरमा अड्किएको छ । दुर्घटनामा परेर कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा चालक र सहचालकसमेत नभेटिएकाले उनीहरूको खोजी भइरहेको छ ।

दुर्घटनाआसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।  ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले अनुरोध गरेका छन् ।

सुझावित समाचार