बर्दियामा ड्रोन प्रयोग गरेर गैँडाको अनुगमन गरिएको छ । हरेक वर्ष गैँडाको संख्या, वासस्थान र गैँडाको चोरीसिकारको अवस्था पत्ता लगाउन अनुगमन गर्ने गरिन्छ । गैँडा रहने क्षेत्रलाई सुरुमा ड्रोनबाट अनुगमन गरिने र त्यसपछि हात्तीमा प्राविधिक टोलीसहित गएर गैँडा पत्ता लगाउने गरिएको छ ।
अनुगमन गर्न जाने स्थानमा अन्य जनावरले निम्त्याउनसक्ने सम्भावित खतरा बुझ्न पनि ड्रोन प्रयोग गरिन्छ । जंगली हात्तीको बथान भएको स्थानमा घरपालुवा हात्ती लिएर जाँदा जोखिम हुन सक्ने भएकाले ड्रोन प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।
सन् २०२१ को राष्ट्रिय गैँडा गणनामा बर्दियामा ३८ गैँडा फेला परेका थिए । गत वर्ष गरेको गैँडा अनुगमनका क्रममा पनि ३८ वटा नै फेला परेका थिए । अनुगमनकै क्रममा प्राकृतिक कालगतिले मृत्यु भएका चार गैँडाको कंकाल फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सूर्य खड्काले बताए ।
यस वर्ष पनि जोखिमबाट बच्नका लागि अभिमुखीकरण तालिम दिई प्राविधिकसहितको टोली तयार गरेर ११ मंसिरदेखि गैँडा अनुगमन सुरु गरिएको छ ।भारतीय सीमावर्ती क्षेत्र खाता जैविक मार्गदेखि सुरु गरिएको गैँडा अनुगमन हाल निकुञ्जको मुख्य क्षेत्रमा सञ्चालित छ ।
अनुगमनका लागि ६ हात्ती र करिब ३५ जना प्राविधिकसहितको जनशक्तिको प्रयोग गरिएको छ । गैँडा अनुगमनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, खाता समन्वय समिति र उपभोक्ताहरूले सहकार्य गरेका छन् ।