पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै प्रहरीले मध्यरातमा चितवनबाट पोखरा पुर्याएको पाइएको छ । बिहीबार राति ३ बजे पोखरा पुर्याएपछि गरिएको स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप देखिएपछि प्रहरीले लामिछानेको स्वास्थ्य अवस्था ख्याल नगरी रातारात हिँडाएको पाइएको हो । बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्याइएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयको टोलीले शुक्रबार साँझ लामिछानेसँग भेटेर सोधपुछ गर्दा उनको स्वास्थ्य अवस्थाबारे नयाँ तथ्यबाहिर आएको हो । आयोगका अधिकारीका अनुसार चितवनबाट रातारात पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९० थियो । कार्यालय प्रमुख नितु गर्तौला र मानव अधिकार अधिकृत टंक खनालले लामिछानेसँग सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै थिए ।
हाल रक्तचाप सामान्य रहेको लामिछानेले मानव अधिकार आयोगको टोलीसँग बताएका छन् । चितवनमा स्वास्थ्य जाँच गर्न माग गरे पनि प्रहरीले कास्की पुगेपछि मात्रै स्वास्थ्य परीक्षण गराएको लामिछानेले आयोग अधिकारीहरूसँग गुनासो गरेका छन् ।
लामिछानेले चितवनबाट पोखरा ल्याउने क्रममा आफूमाथि अमानवीय व्यवहार भएको र सूचनाको हकको समेत हनन गरिएको बताएका छन् । ‘भोलिपल्ट पोखरा ल्याउने कुरा हुँदाहुँदै अचानक राति ल्याइयो । सञ्चो छैन, औषधि खाएको छु, चेक गरौँ भन्दाभन्दै पनि गरेनन् । टाउको दुखेर बिहानैदेखि औषधि सेवन गरेको थिएँ । तनाव नै थियो । घरपरिवार र वकिललाई जानकारी गराउँ भन्दा पनि नगराई लिएर आए,’ लामिछानेले आयोगको टोलीसँग भनेका छन्, ‘बाटोमा केही घटना भएको भए के हुन्थ्यो ? पटक–पटक घरमा र वकिललाई सूचना गरिदेऊ भन्दा पनि गरेनन् ।’
अनुसन्धानबारे जानकारी पाउनु हरेक नागरिकको अधिकार भएको खनालले बताए । ‘हरेक नागरिकको सूचनाको हक हुन्छ । हिरासतमा रहेका व्यक्तिले आफ्नो अनुसन्धान कहाँ पुग्यो, कहाँ लैजाँदै छ भनेर जान्न पाउँछ । स्वास्थ्य त झनै संवेदनशील कुरा भयो,’ खनालले नयाँ पत्रिकासँग भने ।
लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार नै मानव अधिकार हनन भएको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएकी छिन् । सोही उजुरीपछि लामिछानेसँग सोधपुछका लागि आयोगको टोली गएको खनालले बताए । ‘उजुरी परेको विषयमा जानकारी लियौँ ।सोधपुछ गर्दा प्रहरी अधिकारी पनि सँगै हुनुहुन्थ्यो । सोधपुछका आधारमा भोलि (आइतबार) आयोग केन्द्रमा प्रतिवेदन पठाउँछौँ,’ उनले भने ।
खनालका अनुसार दुव्र्यवहार भएको विषय आयोगले हेर्नुपर्ने लामिछानेको माग छ । मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरातमा दुव्र्यवहार गरेको लामिछानेले आयोगको टोलीसँग बताएका छन् । ‘राति सुतिराखेको अवस्थामा चार–पाँचजना आएका थिए । एकजनाले मादक पदार्थ सेवन गरेको जस्तो थियो । मैले कुरा उठाएपछि एकजना त्यहाँबाट भागे,’ लामिछानेले आयोग टोलीसँग भनेका छन् ।
लामिछानेले माथिल्लो निकायको आदेशमा आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् । पोखरा प्रहरीसँग गुनासो नभएको र चितवन प्रहरीले पनि माथिको आदेश पालना गर्दा अमानवीय व्यवहार भएको लामिछानेको भनाइ छ । ‘माथिको आदेशअनुसार ममाथि दुव्र्यवहार भएको भन्ने छ । सुरुमा भोलिपल्ट पोखरा आउने भनिएको थियो । सोहीअनुसार आराममा थिएँ । एक्कासि पोखरा जाने कुरा आयो । आइजीकै ठाडो आदेशमा यस्तो भएको हो भन्ने सुनेको छु । छानबिनमा सत्य–तथ्य बाहिर आउला,’ खनालले लामिछानेको भनाइ उद्धृत गर्दै भने ।
रास्वपाले सभापति लामिछानेलाई अनुसन्धानका नाममा यातना दिएर सरकारले मानव अधिकार हनन गरेको आरोप लगाएको थियो । सरकारी निर्देशनमा लामिछानेलाई मध्यराति चितवनबाट पोखरा पुर्याएको रास्वपाको दाबी छ । आफन्त र कानुन व्यवसायीलाई जानकारी नदिई मध्यरातमा शंकास्पद तरिकाले हिँडाउँदा थुनुवाको आधारभूत मानव अधिकार हनन भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन् ।
लामिछानेलाई पोखरा हिरासतमा पुगेर शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र शनिबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले भेटेका छन् । भट्टराईले लामिछानेमाथि प्रतिशोध साधिएको बताएका छन् । शाहीले लामिछानेको मानव अधिकार हनन भएको प्रतिक्रिया दिएका छन् । रास्वपाले राज्यको न्यायिक पद्धति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सबैसँग अपिलसमेत गरेको छ ।