दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) को उद्घाटन आइतबार हुँदै छ। गृहनगरमा बनेको भव्य भ्युटावर उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली आइतबार दमक आउँदै छन्।
उनी दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा निर्माण ठेक्का लागेको थियो। २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए। यो भ्युटावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो।
सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ। जसअन्तर्गत दमकको भ्युटावर पनि सञ्चालन हुनेछ। तर, यो भ्युटावरमा कस्ता व्यवसाय सञ्चालन हुन्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन। यस्तै, भ्युटावर निर्माण भए पनि यसको घर नक्सा दमक नगरपालिकाबाट पास भएको छैन।
घर नक्सा मात्र होइन, सरकारी निकायबिचको समन्वय अभावले अझैसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि हुन सकेको छैन। भ्युटावर उद्घाटनको सन्दर्भमा शनिबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दियो। भ्युटावर निर्माणको पूर्वसन्ध्यामा कैद गरेका तस्बिर हेर्नुस्।