विश्वको दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ।
कास्की जिल्लाको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडे पानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्न थालेको हो।
नयाँपुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। विशेष गरी युरोपियन, कोरियन, अस्ट्रेलियन, जर्मन तथा रसियन पर्यटकहरूले यो रुट प्रयोग गर्न थालेका छन् भने आन्तरिक पर्यटकको आगमन पनि बढेको होटेल खड्का भिलेजका सञ्चालक रनबहादुर खड्काले जानकारी दिए।
करिब १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्दै गएको पर्वत–भमरकोट–घोडे पानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताए। आधारभूतस्तरको पूर्वाधार तयार भएपछि उक्त वैकल्पिक पदमार्ग यस वर्षदेखि सञ्चालनमा आएको उनले जानकारी दिए।
‘पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो,’ समितिका अध्यक्ष खड्काले उनले ‘संस्कृति र प्रकृतिले भरिपूर्ण यो पदमार्ग साहसिक गन्तव्य हो।’
मनोरम हिमश्रृंखला, सुन्दर वनजंगल, हावापानी, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको उनको भनाइ छ।
विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, संघीयतापछि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए।
'ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो। पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएका छन्,' उनले भने।
हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए। उक्त पदमार्गलाई व्यवस्थित बनाउन आगामी बजेटमा पनि प्राथमिकता दिने उनले उल्लेख गरे।
पदमार्गले पर्वतको मोदी गाउँपालिका–१, २, ३ र ५, जलजला गाउँपालिका–५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ७ र ८ वडालाई समेटेको छ।
हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौँसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास सञ्चालन भएका छन्। साथै, मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजंगलमा विभिन्न प्रजातिका जडीबुटी, वनपैदावार पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ। गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ।
पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाई डाँडा र जलजलामा चिया पसल र रेस्टुरेन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन्। पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भूमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ।
पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग विस्तार, खोज तथा अनुसन्धान गर्दै आएको छ।
उक्त कार्यमा पर्वतको मोदी र जलजला, कास्की र म्याग्दीका सम्बन्धित गाउँपालिकाले सहकार्य गरेका छन् । प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले अन्नपूर्ण चक्रीय पदमार्गमा सडकका कारण पर्यटकको पदयात्रा छोटिँदै गएका वेला नयाँ पहिचान भएको पदमार्गलाई प्रवर्द्धन गरी यसतर्फ पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिए। पदमार्गमा ठाउँ-ठाउँमा खानेपानीको व्यवस्थापन चिया तथा चमेना गृहहरू, होटेल तथा रेस्टुरेन्ट थप गर्नुपर्ने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण चक्रीय पदमार्गको महत्त्वपूर्ण स्थल नयाँ पुल र घोडेपानीलाई जोड्ने उक्त पदमार्गमा पर्यटक भित्र्याउन चारदिने पदयात्रा आयोजना गरेर प्रचारप्रसार, प्रवर्द्धन र विस्तारमा लागेको बताए। उनका अनुसार आपसी समन्वयका लागि मन्त्रालय, टान गण्डकीसहित सरोकार भएका निकायसहित ५० जनाको टोली अहिले पदयात्रामा छन्।
सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए। पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ।
अध्यक्ष आचार्यका अनुसार प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानीनजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुन्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ। सडकले छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता आवश्यक पर्नेमा उनले जोड दिए।