प्रहरीले गृहमन्त्रीको नक्कली पिएलाई पक्राउ गरेको छ । बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको धुम्बराहीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले आफुलाई गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी, प्रशासन र विभिन्न निकायमा फोन गर्दै हैरानी दिने गरेका थिए । गृह मन्त्रालयसम्म सूचना पुगेपछि प्रहरीले उनीमाथि निगरानी सुरु गरेको थियो । सोही क्रममा उनलाई प्रहरीले बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।