कञ्चनपुरको लालझाडी गाउँपालिका– १ बिनबारीका एक दम्पती हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ परेका छन्। लालझाडी गाउँपालिका– १ बिनबारीका ४६ वर्षीय रामेश्वर बडायक र ४३ वर्षीया कमला बडायकको हत्या आरोपमा लालझाडीकै युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले ८ कात्तिकमा बडायकदम्पती हत्यामा संलग्न रहेको आशंकामा लालझाडी– २ का ५० वर्षीय गंगाराम रानालाई पक्राउ गरिएको बताए। बिहीबार पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ। बडायकदम्पती हत्याकाण्डमा झन्डै डेढ महिना अर्थात् ४३ दिनमा अभियुक्त पक्राउ परेका हुन्।
८ कात्तिकको राति हत्या भएकोमा ९ कात्तिक शुक्रबार बिहान बडायकदम्पती मृत फेला परेका थिए। सोही दिनदेखि प्रहरीले निरन्तर अनुसन्धान अघि बढाएको थियो। ‘हामीले घटनालगत्तै अनुसन्धान अघि बढाएका थियौँ,’ प्रवक्ता जोशीले भने, ‘सो रात गंगाराम राना त्यहाँ गएको सूचना पाएपछि उनीमाथि अनुसन्धान अघि बढाएर पक्राउ गरेपछि उनले हत्या गरेको स्वीकार गरेका छन्।’
मदिरा बिक्री–वितरण गर्दै आएका बडायकदम्पतीले आफूलाई गाली गरेपछि पहिले रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेको र त्यसपछि उनकी श्रीमतीको पनि हत्या गरेको पक्राउ परेका रानाले प्रहरीमा बयान दिएका छन्। रानाले आफू एक्लैले हत्या गरेको बयान दिए पनि प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।