मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Thursday, 26 December, 2024
२o८१ मङ्सिर २० बिहीबार १३:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रामेछापको सुन्तलाले बजार पाएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार १३:३o:oo

रामेछापको सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। जिल्लाको मन्थली नगरपालिका– १४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए।

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उनकाे भनाइ छ । अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको, तर बजार नपाएकाले समस्या भएको बताउँछन्।

‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला एक सय रुपैयाँमा बिक्री–वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी ७५–८० रुपैयाँमै दिनुपर्ने बाध्यता छ। के गर्नु, उत्पादन गरे पनि बजार नभएपछि,’ उनले भने।

मन्थली नगरपालिका– १४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्। यहाँ पुग्ने जोकोहीलाई पहेँलपुर सुन्तलाले लोभ्याउँछ।

यस वर्ष यस वडाबाट करिब दुई करोड रुपैयाँको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गरे।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनासक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो। बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ।

‘हामीले वर्षभरि मिहिनेत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ, तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ। यसरी त सधैँ व्यवसाय हुँदैन। त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ,’ स्थानीय किसानको भनाइ छ।