मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १७ सोमबार
  • Saturday, 22 February, 2025
सौरभ यादव राजविराज
२o८१ मङ्सिर १७ सोमबार o८:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन पुस्तादेखि ‘अनागरिक’ बाँचिरहेको मेहतर परिवार

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ मङ्सिर १७ सोमबार o८:३६:oo

सप्तरीको राजविराज नगरपालिका– ६ की अरहुलिया मेहतर ५५ वर्षकी भइन् । नेपाली नागरिकता प्रमाणपत्र छैन । एकल महिला अरहुलियासँग नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षाभत्तालगायत सरकारी सेवा–सुविधाबाट वञ्चित छिन् । यति मात्र होइन, अरहुलियासँग नागरिकता नहुँदा छोराबुहारीले समेत नागरिकता पाएका छैनन् । नातिनातिनाको जन्मदर्तासमेत भएको छैन ।

भारतको बिहार सुपौल जिल्ला निर्मलीकी अरहुलिया मेहतरले ४० वर्षअघि राजविराज– ६ का कमल मेहतरसँग प्रेमविवाह गरेकी थिइन् । त्यतिवेला अरहुलिया १५ वर्षकी मात्रै थिइन् । उनीहरूबाट एक छोरा र दुई छोरी जन्मिए । कमल नेपालमा बसोवास गरे पनि उनीसँग नेपाली नागरिकता थिएन । नागरिकता नहुँदा अरहुलियाले पनि नागरिकता पाउन सकिनन् । विवाहको २० वर्षपछि कमलको मृत्यु भयो । कमलको मृत्यपछि परिवारको सबै जिम्मेवारी अरहुलिया र छोरा शत्रुधन मेहतरमाथि आइलाग्यो । कमलको मृत्युअघि दुई छोरीको विवाह भारतमै भयो । शत्रुधनको पनि विवाह भारतकी रूपा मेहतरसँग भयो ।

बाबुआमाकै नागरिकता नहुँदा शत्रुधन ३२ वर्षको भइसक्दासमेत उनीसँग नेपाली नागरिकको परिचय दिने प्रमाणपत्र छैन । शत्रुधनकी श्रीमतीले पनि नागरिकता पाउन सकेकी छैनन् । शत्रुधन र रूपाको चार छोरी छन् । तीनजना उनीहरूसँगै बस्छन् भने एकजना मामाघरमा बस्दै आएकी छिन् । आमाबुबाको नागरिकता नहुँदा उनीहरूको जन्मदर्तासमेत भएको छैन । वडा कार्यालयले जन्ममिति र स्थान सिफारिस गरिदिएरका आधारमा विद्यालयमा भने पढ्न पाएका छन् ।

पुस्तौँदेखि बसोवास गर्दै आए पनि नेपाली नागरिकको प्रमाणपत्र नहुँदा जीवनयापनमा समस्या भोग्नुपरेको शत्रुधन मेहतर बताउँछन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आए पनि नागरिकता नहुँदा धेरै चुनौती खेप्नुपरेको उनको भनाइ छ । ‘नागरिकता नहुँदा धेरै दुःख भोग्नुपरेको छ । काम खोज्दा, ज्याला माग्दा नागरिकता नै माग्छन्, अहिले ट्रक लोडअनलोड गर्ने काम गर्छु,’ उनले भने । आफ्नो जीवन कष्टमै बितिरहे पनि सन्तानको भविष्यको थप चिन्तित बनाएको उनी बताउँछन् । युवा अवस्थामै जीवनसाथी गुमाएकी ५५ वर्षीया अरहुलियाले धेरैपटक प्रयास गरे पनि नागरिकता नपाएको पीडा सुनाइन् । ‘म बिहे गरेर आउँदा सासूससुरा कसैको नागरिकता थिएन, हामीले पनि नागरिकता पाउन सकेनौँ, छोराको पनि त्यही अवस्था छ ।’ उनले भनिन्, ‘नातिनीहरूले पनि नागरिकता नपाए कसरी जीवन बिताउलान् ।’ उनीहरू ऐलानी जमिनमा बस्दै आएका छन् । उनले भनिन्, ‘सम्पत्तिको नाममा केही छैन । पटक–पटक वडा कार्यालय गए, तर कसैले कुनै सुनुवाइ गरिदिएनन् । अब अन्तिम सपना नै नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।’

राजविराज नगरपालिका– ६ वडा कार्यालयले मेहतरका नातिनीको जन्ममिति सिफारिस गरिदिए पनि नागरिकताका लागि भने सिफारिस दिएको छैन ।  बुबा शत्रुधन मेहतर र आमा रूपादेवी मेहतर दुवैको नेपाली नागरिकता नबनेको हुँदा छोरीहरूको जन्मदर्ता प्रमाणपत्र बनेको छैन । सोही सिफारिसपत्रका आधारमा छोरीहरूको आधारभूत विद्यालय थानगाछीमा भर्ना भएका छन् ।