माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको बताएका छन्। पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२/६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको नौ वर्षमा कमजोर भएको बताए।
कांग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरूको मात्र सीमित गर्ने कोसिसमा र आफूहरू बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो। आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरूलाई नियन्त्रण गर्न थालेपछि कांग्रेस एमाले अप्रत्याशित रूपमा मिलेको पुनले बताए। कांगेस-एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले उनीहरू एउटा कित्ताका र आफूहरू अर्को कित्ताको भन्ने जनताले स्पष्ट रूपमा बुझेको दाबी गरे।
‘हामी एउटा कित्ताका र कांग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन्,’ पुनले भने, ‘कांग्रेस एमालेको भ्रष्टाचार र बेथितिका कारण जनता हामीतर्फ आकर्षित भएका छन्। अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ।’ सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि कांग्रेस-एमाले बिच्किएको भन्दै उनले कांग्रेस र एमालेसँग त्यही विन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए।
संसारमा कहीँ पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरूलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो। प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरूले सरकार चलाइरहेको आरोप लगाए।
यद्यपि, जनताले गणतन्त्रको विकल्प नखोजेको उनले बताए। ०२६, ०४६ अघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन भए पनि ०६२-६३ पछि २० वर्ष भए पनि त्यस खालको आन्दोलन नहुनुले वर्तमान व्यवस्थाप्रति बहुसंख्यकको अपनत्व रहेको पुष्टि हुने पुनले उल्लेख गरे।
‘यसअघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन हुन्थ्यो। अहिले २० वर्ष भयो। किन आन्दोलन उठेको छैन भने मानिसले यसलाई रुचाएका छन,’ उनले भने। कांग्रेस–एमाले नयाँ भन्ने दलहरूलाई माथि उठ्न नदिने र आफूहरू भने लोकतन्त्रको बगैँचामा नयाँ फूल फुल्न दिनुपर्ने नीतिमा रहेको उनले बताए।
‘लोकतन्त्रमा नयाँलाई आउन दिनुपर्छ। यदि वृक्ष गलत परेछ भने आफैँ सकिन्छ। तर, आउनै रोक्ने कुरामा हाम्रो सहमति छैन,’ पुनले भने। फरक प्रसंगमा उनले प्रचण्डकै नेतृत्वमा पार्टीलाई पुनर्गठित र पुनर्ताजगी गरेर जानुपर्छ भन्ने पार्टी निष्कर्ष रहेको उनले उल्लेख गरे।