मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १३ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार

गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न नागरिक पहिलो अभियानको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १७:१४:oo

नागरिक पहिलो अभियानले स्थानीय तहको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेको छ। निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार अभियानका प्रवक्ता प्रशान्त सिंहले प्रेस वक्तव्य जारी गर्दै स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन सके भविष्यमा सोहीबमोजिम संविधान संशोधन गर्न भूमिका हुने उल्लेख गरेका छन्।

‘देशमा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र आधारित कुशासन, भ्रष्टाचार, अति दलीयकरण, कमिसनतन्त्र, सुस्त विकास र पक्षपात बढ्दै गएको सन्दर्भमा स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिएको हुँदा निर्वाचनमा खडा भएका सबैभन्दा कर्मठ, इमानदार र क्षमतावान गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न हार्दिक आह्वान गर्दछौँ,’ सिंहले जारी गरेको विज्ञप्तिमा छ। 

पालिका र वडा हाम्रो लोकतान्त्रिक राज्यव्यवस्था र शासन प्रणालीका आधार स्तम्भ रहेको भन्दै विज्ञप्तिमा स्थानीय लोकतन्त्रका सर्वोत्तम र पवित्र संस्थामा नागरिककै बलियो पहुँच चाहिने उल्लेख छ। ‘वडा र पालिकामा नागरिकत्व जति बलियो हुन्छ, देशको स्थानीय लोकतन्त्र उत्तिकै सबल, सक्षम र सफल हुन्छ। दलीय उम्मेदवार नागरिक भावनाको हैन, नेतातन्त्रका उपज हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूले आफ्नो निकटता र गुटका आधारमा नागरिक छनोटको प्रक्रिया प्रारम्भिक निर्वाचनविनै ती उम्मेदवार छनोट गरेको र मनोनयन-पत्र दिएको हुँदा तिनलाई मतदान नागरिक सार्वभौमसत्ता संकुचित हुनेछ। लोकतन्त्रको नाममा दलतन्त्र र नेतातन्त्र बलियो हुनेछ, नागरिकतन्त्र कमजोर हुनेछ भन्ने यथार्थलाई सबैले बुझ्न र आत्मसात गर्न जरुरी छ।’

विज्ञप्तिमा बहुदलीय लोकतन्त्रमा स्थानीय निकायको निर्वाचन दलीय आधारमै हुनुपर्छ भन्ने नरहेको दाबी गर्दै दलतन्त्रभन्दा नागरिकतन्त्र अझ उन्नतस्तरको लोकतन्त्र हुने उल्लेख छ। ‘आसन्न १६ मंसिरको उपनिर्वाचनमा बढीभन्दा बढी स्वतन्त्र उम्मेदवारलाई मतदान गरी विजयी गराउन सक्यौैँ भने भविष्यमा सोहीबमोजिम संविधान संशोधनलाई अघि बढाउनसमेत ठुलो योगदान पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ।