खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनमा उत्कृष्ट काम गरेको भन्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीलाई ‘च्याम्पियन मेयर’ घोषणा गरिएको छ ।
नेपाल नगरपालिका संघद्वारा कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासनमा रोल्पा नगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै रोल्पा नगरपालिकाका प्रमुख घर्तीलाई च्याम्पियन मेयर घोषणा गरिएको हो ।
उत्कृष्ट घोषणा गर्नुपूर्व संघले विभिन्न मापदण्डहरूमा अनुगमन तथा मूल्यांकन गरेको थियो । संघले संस्थागत विकास र क्षमता अभिवृद्धि, वास प्लान, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी ऐनहरू, विद्यालय, स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ र स्वच्छता (वास)को व्यवस्था, वित्तीय व्यवस्थापन, कार्यान्वयन, अनुगमन र मूल्यांकनलगायतका विषयमा विभिन्न नगरपालिकाहरूको स्तरीकरण गरी विश्लेषण गरिएको थियो ।
सीमित स्रोत–साधनका बाबजुद पनि रोल्पा नगरपालिकाले वास क्षेत्रमा उल्लेख्य काम गरेको संघले जनाएको छ । संघले स्थानीय तह खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र सुशासन सुदृढीकरण कार्यक्रमअन्तर्गत उक्त मूल्यांकन सार्वजनिक गरेको हो ।
नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले भौतिक पूर्वाधारको विकाससँगै स्वच्छताको सन्दर्भमा पनि नगरपालिकाहरूले राम्रो काम गरेको बताए ।
कार्यक्रमबारे प्रस्टीकरण दिँदै देवकोटाले स्वच्छताका काम पनि नगरपालिकाको महत्त्वपूर्ण क्षेत्र भएकाले संघले च्याम्पियनको योजना अघि सारेको बताए । उक्त कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम र वास फोकल पर्सन निशान आचार्यले रोल्पा नगरपालिकाले वासको क्षेत्रमा गरेको कामबारे प्रस्तुतीकरण गरेको बताइएको छ ।