मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वतमा एकैपटक पाँचवटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चारवटा पुल निर्माण थालिएको हो ।
मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छ भने मोदीखोलामा दुईवटा पुलको काम यही मंसिरभित्र सुरु हुने भएको छ ।
पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सबइन्जिनियर अस्मिता भट्टराईले जानकारी दिइन् । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उनको भनाइ छ ।
उनका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक–एक र पातीखोला दुईवटा पुल निर्माण गर्न लागिएको हो । सबइन्जिनियर भट्टराईले भनिन्, ‘सुन्दरेखोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलोपटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँअघि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।’
पाँचवटै पुल निर्माणको जिम्मा लुम्बिनी/प्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । रु. ४४ करोड १५ लाख ३५ हजारमा ती पाँच पुल निर्माण हुनेछन् ।