साउदी अरबको महत्त्वाकांक्षी परियोजनाको रूपमा रहेको रियाद मेट्रो ट्रेन नेटवर्कको साउदी अरबका राजा सलमान विन अब्दुलाजिज अल–साउदले एक कार्यक्रमबिच उद्घाटन गरेका छन् ।
साउदी अरबका राजा अल–साउदले एक कार्यक्रमबिच स्विच थिचेर मेट्रो ट्रेनको उद्घाटन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा बढ्दो चारपांग्रे सवारीसाधनको चापलाई मध्यनजर गर्दै र भविष्यमा विश्वभरका पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले सुविधासम्पन्न मेट्रो ट्रेन निर्माण गरिएको हो ।
साउदी अरबले रियाद मेट्रो परियोजनालाई समृद्ध युगतर्फ अघि बढेको र पूर्वाधारको विकाससँगै सहरमा जीवनको गुणस्तर बढ्दै जाने विश्वासको रूपमा लिएको छ । यसले साउदी अरबको भिजन– २०३० को लक्ष्य र विश्वभरिका पर्यटकीय गन्त्वयको रूपमा विकसित सहरमा उभिने अपेक्षा गरिएको छ ।
विश्वको ठुलो लगानीको परियोजना
एकै चरणमा निर्माण गरी सञ्चालन गरिने रियाद मेट्रो विश्वको ठुलो लगानीको परियोजना रहेको छ । ६ लेनको यो मेट्रो ट्रेन १८४ किलोमिटर लम्बाइको रहेको छ । जसमा अन्डरग्राउन्डसहित ८४ वटा सुविधासम्पन्न वातानुकूलित स्टेसनहरू निर्माण गरिएको छ ।
साउदी अरब सरकारले यो परियोजनाको निम्ति २२.५ बिलियन डलर अर्थात् प्रचलित मूल्यअनुसार ३० खर्ब ३० अर्ब ३८ करोड ९१ लाख नेपाली रुपैयाँभन्दा बढीको रहेको छ ।
६ लेनमध्ये पहिलो चरणमा १ ब्लु लेन, ४ एल्लो लेन र ६ पर्पल लेन सञ्चालनमा आएको छ । त्यसैगरी, लेन २ रेड लेन र ५ ग्रिन लेन आगामी डिसेम्बर १५ र लेन ३ ओरेन्ज लेन जनवरी २०२५ मा सञ्चालनमा आउने बताइएकाे छ ।
साउदी अरबको मन्त्रिपरिषद्ले रियाद सार्वजनिक यातायात परियोजनालाई अनुमोदन गरेपछि निर्माण सुरु भएको थियो ।राजधानी रियाद सहरमा सार्वजनिक यातायात परियोजनालाई भविष्यमा थप व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी रोयल कमिसन अफ रियाद सिटी आरसिआरसीले अध्ययन गरेको थियो ।
सोहीअनुरूप राजधानी रियादमा सुविधासम्पन्न मेट्रो ट्रेन र बस सञ्चालन गर्ने निर्णय सन् २०१३ मा गरियो । ग्लोबल बोलपत्रमार्फत १३ देशका १९ वटा कम्पनी मिलेर तीनवटा कन्सोर्टियम बनाएर रियाद मेट्रो ट्रेनको काम अघि बढाएको हो ।
तीनवटा जेभिए कन्सोर्टियममा बाप्स बेचटेल–अलमावानी जेनरल कन्ट्याक्टस– कन्सोलिडेट्स कन्ट्याक्टर कम्पनी (सिसिसिसिएमेन्स, एएनएममा बिडिल्ड–एलएनटी–नेस्मा) र फास्टमा–एफसिसी–एटकिन्स–अलस्टोम–सामसुङ सी एन्ड टी लगायतका कम्पनी मिलेर मेट्रो ट्रेनको काम सन् २०१४ बाट अघि बढेको थियो ।