मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ मङ्सिर १३ बिहीबार १४:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सानोगौचरनमा रंगशाला पुनर्निर्माण सुरु

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १४:४६:oo

काठमाडौं महानगरपालिकाले सानोगौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम थालनी गरिएकाे हो । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आह्वान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ । 

स्टेडियम पुनर्निर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनर्निर्माण गर्न लागेका हौँ,’ उनले भनिन् । विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन्। 

वडामा स्टेडियम पुनर्निर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले बताए । ‘टोलहरू र चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउन्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब पाँच रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,’ प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए। 

स्टेडियमको ड्रइङ, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो ।स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकासेपानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र पाँचवटा पुरुषका लागि शौचालय हुनेछन् । 

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, तीनवटा पुरुषका लागि तीनवटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुईवटा टिम लकर हुनेछन् । निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेस गरेका थिए। 

छनोट भएको निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।  रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शकक्षमता एक हजार पाँच सयजनाको हुनेछ ।