मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
२o८१ मङ्सिर १३ बिहीबार १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १३:५४:oo

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको माई नगरपालिका– १ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका– ४ कोशीपारी घर भई हाल काठमाडौं महानगरपालिका– १५ स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका– ४ कोशीपारी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘आपराधिक लाभ लिने उद्देश्यले योजना बनाई मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङका लागि अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबर्जस्ती करणी मुद्दामा फसाइदिन्छु भनी डरत्रास देखाई १८ लाखबाट बार्गेनिङ गर्दै आठ लाख दिए कुरा मिल्छ भनी रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।’

दर्जीले सामाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङका लागि आइदिनु भनी पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउचोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाई पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यसैगरी, पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्की एक महिला आई पीडितसँग कुरा गर्नु छ भनी कोठाभित्र लगी जबर्जस्ती करणी मुद्दामा फसाइदिउँ वा सहमतिमा आउनुहुन्छ भन्दै घम्की दिएको प्रहरीको भनाइ छ ।

१८ लाखदेखि रकमको माग गरी आठ लाख दिने सर्तमा कुरा मिलाई भक्तपुरको मध्यपुर ठिमी– ३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मंसिर ११ गते बिहान २५ हजार नगदसहित दीपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिद्धार्थ बैंकको क्युआर खातामा २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु. ७५ हजारको चेक लिएको तथा एकजना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।

पक्राउ परेकाहरूको साथबाट एनआइसी एसिया बैंकको वर्षाको नाममा काटेर दिएको ७५ हजारको चेक एक थान, नगद एक हजारको एक थान र ५०० का ३९ थान गरी जम्मा २० हजार पाँच सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दीपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यानमा ०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।