सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बिच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । अली पेको नेटवर्कमा आबद्ध सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्न यी दुई संस्थाबिच सम्झौता भएको हो ।
यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकाले नेपाल आउने पर्यटकलाई सहज हुने बैंकले जनाएको छ । साथै पर्यटन व्यवसाय, होटेल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीलाई पनि यसले प्रोत्साहित गरी आर्थिक कारोबारलाई सजह र सुरक्षित बनाउने बताइएको छ ।
नेपालमा रहेको नेपाल पे क्युआर मर्चेन्टमा अली पे नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।
एनसिएचएलले अली पेसँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।
यस पहलअनुरूप अब सिद्धार्थ बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्न सकिनेछ ।