लामो समयसम्म अधिवेशन हुन नसकेर तदर्थका भरमा चलिरेहका कांग्रेसका भ्रातृ संस्थाको अधिवेशन अझै लम्बिने देखिएको छ । आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशक समिति बनाउने पार्टी आफ्नै निर्णयलाई बेवास्ता गर्दा भ्रातृ संस्थाका अधिवेशन तयारी अलपत्र परेको हो ।
गत १९ असारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले ०८१ चैतभित्र भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्ने कार्यादेशसमेत तय गरेर दश भ्रातृ संस्थाका निर्देशक समिति बनाउने निर्णय गरेको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्णयको पाँचमहिने अवधिमा १६ असोजमा महिला संघ, तरुण दल र नेविसंघका निर्देशक समिति बनेका छन् । जसअनुसार महिला संघको निर्देशन समिति संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी, तरुण दल निर्देशन समिति संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र नेविसंघको निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौरले जिम्मेवारी पाएका छन् । त्यसयता कुनै पनि संस्थाका निर्देशक समिति बनेका छैनन् ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बाँकी निर्देशक समिति पनि छिट्टै बन्ने बताउँछन् । चैतभित्र भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न हुने उनले दाबी गरे । ‘पार्टीमा सहमति गर्दै बाँकी निर्देशक समिति बनाउँदै छौँ । यसबिचको राजनीतिक घटनाक्रमलगायतका कारण केही समय लागेको हो,’ उनले भने, ‘चैतभित्रै भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न हुन्छन् ।’ बनेका निर्देशक समितिले भने भ्रातृ संस्थासँग छलफल र तयारीका लागि समन्वय गरिरहेका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समिति बनेपछि पार्टीसँगको समन्वय सहज भएको बताउँछन् । समितिसँगको छलफलसँगै महाधिवेशन केन्द्रित भएको उनले बताए । ‘निर्देशक समितिसँग छलफल गरेर हाम्रो तयारीबारे जानकारी गरायौँ । समितिले हामीलाई तत्काल विधान र कार्यतालिका तयार गरेर बुझाउन भनेको छ । अहिले त्यसकै गृहकार्यमा छौँ,’ उनले भने, ‘सुझाव लिएर एक महिनाभित्र विधान बनाउन लागेका छौँ । साथै, सदस्यता वितरणको काम पनि थाल्दै छौँ । सम्पूर्ण रूपमा चैतभित्र महाधिवेशन हुने दिशामा अघि बढेका छौँ ।’
महाधिवेशनका लागि पार्टीले समन्वय नगर्दा भ्रातृ संस्थाहरू अलमलमै छन् । लामो समयसम्म महाधिवेशन नहुँदा नेतृत्वले अनुकूलको तदर्थ समिति बनाउने र पटक–पटक म्याद थप गर्ने प्रवृत्ति देखिँदै आएको छ । महाधिवेशन हुन नसकेर नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्था प्रभावहीन बन्दै गएका छन् । पटक–पटक म्याद मात्र थप हुँदा कांग्रेस नेतृत्वको आलोचना हँुदै आएको छ ।