पोखराको प्राइम बहुउद्देश्यीय सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी आरोपमा पक्राउ परेका एक व्यक्ति अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्।
तनहुँ व्यास नगरपालिका–१० बस्ने ५६ वर्षीय शंकरनारायण श्रेष्ठलाई जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। ८ मंसिरमा उनलाई पक्राउ गरेको थियो। पक्राउपछि कास्की जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट मंगलबार ५० लाख धरौटी माग गरेपछि सो रकम तिर्न नसकेपछि बुधबार जेल चलान भएका हुन्।
सञ्चालक समितिका पदाधिकारीहरूसमेतले सहकारीका निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिनासँगै अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले सहकारी ऐन, ०७४ बमोजिम अनुसन्धान गरिदिन भनी १ जेठमा प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको थियो।
रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनपछि सहकारीको एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२.८५ रुपैयाँ अपचलन तथा हिनामिना भएको देखिएको थियो। १ जेठमै प्रहरीले सूचना जारी गर्दै २० जेठसम्मको समय दिएर सहकारीका बचतकर्ताबाट उजुरी माग गरेको थियो।
सहकारीको रकम अपचलन तथा हिनामिना गरेको आरोपमा श्रेष्ठसँगै पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि प्रहरीले सहकारीका अध्यक्ष पोखरा महानगरपालिका–१४, चाउथे बस्ने शंकर कार्की, सहकारीका निवर्तमान अध्यक्ष पोखरा–४ गैह्रापाटन बस्ने निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा–११, रानीपौवा बस्ने निरू थापा केसी, कर्मचारी प्रमुख पोखरा–२७ अर्चले बस्ने सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार पोखरा–१३, आर्वा घर भई पोखरा–१२, ढिकालेथर बस्ने इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा–३० सिसुवा बस्ने कुलदीप भट्टराई, कर्जा अधिकृत पोखरा–३०, सिसुवा बस्ने सुनील थापा, सेयर सदस्य एवं सल्लाहकार पोखरा–८, नयाँबजार बस्ने मानबहादुर गुरुङ, पोखरा–४ बस्ने दीपा कोइराला, पोखरा–२९ पट्नेरी बस्ने उत्तम मगरलाई प्रहरीले पक्राउ गरेको थियो।