सिराहाको लहानस्थित नापी कार्यालयले लहान नगरपालिका–२०, ब्रम्हाण गोर्छाडीमा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरेको छ। लहान नगर प्रमुख महेशप्रसाद चौधरी, वडाध्यक्ष गणेशकुमार चौधरी, नापी सर्भेक्षक टोलीका सदस्यहरूलगायतको उपस्थितिमा बुधबार वडा कार्यालयमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाणपुर्जा बाँडिएको हो।
ब्रम्हाण गोर्छाडीमा गाउँब्लक जग्गा नापीका टोली प्रमुख सजनप्रसाद साहका अनुसार साबिक ब्रम्हाण गोर्छाडी गाविसअन्तर्गत १ देखि ९ नम्बर वडाका १९१ जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) बाँडिएको हो। वर्षौदेखि हकभोग गरे पनि प्रमाणपुर्जा नहुँदा उनीहरूले समस्या भोग्दै आएका थिए। प्रमाणपुर्जा पाएसँगै समस्या हटेको ५५ वर्षीय पुरन मोचीले बताए।
जिल्ला सदरमुकाम सिराहा र लहानस्थित नापी कार्यालयअन्तर्गत आठ हजार ६ सय ३३ हेक्टर जग्गा गाउँब्लकमा पर्छ। लहान नापीको कार्यक्षेत्रमा पर्ने साबिकका ४८ गाविसका जग्गाधनीको हकभोगमा रहेको सात हजार ६ सय हेक्टर गाउँब्लक जग्गामध्ये धनगढी, अयोध्यानगर, तरेगना गोविन्दपुर, विष्णुपुरकट्टीको लालपुर्जा क्रमशः वितरण गरिने योजना रहेको नापी कार्यालय लहानले जनाएको छ।
नापीका अनुसार त्यसअघि लहान नगरपालिकाअन्तर्गत सोनमति मझौरा, साबिक लहान १ देखि १० नम्वर वडासम्म २ र ३ बाहेक एक हजार दुई सय ३९, बस्तीपुर तीन सय ६७, पडरिया सात सय ८२, ढोढना तीन सय १५ र सिसबनीका चार सय ६७ जनालाई गाउँब्लक जग्गाधनी दर्ता प्रमाणपुर्जा बाँडिएको छ।
लहान नापीअन्तर्गत साबिकको ४८ वटा गाविसमा आ.व. ०७२-७३ देखि नै जोतभोगको आधारमा गाउँब्लक जग्गाको नापी गरिसकेको टोली प्रमुख साहले उल्लेख गरे। त्यही नापीको आधारमा जग्गा नापजाँच ऐन २०१९ ले गरेको व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा बाँडिएको उनले बताए।
उनका अनुसार सिंगराही, मटियर्वा, लहानगोठ, पडरिया, बस्तीपुर, सिसबनी, ढोढना, हनुमाननगर प्र.ध., मोहनपुर कमलपुर, धनगढी, चैनपुर, नैनपुर, फुलकहाकट्टीमा गाउँब्लक जग्गाको लालपुर्जा बाँडिएको छ। नापजाँच भइसकेका गाउँब्लक जग्गासम्बन्धी सबै प्रक्रिया वडासँगको समन्वयमा हुने भएकाले प्रमाणपुर्जा वितरणमा समय लागेको उनले बताए। ’
के हो गाउँब्लक जग्गा?
गाउँब्लक क्षेत्रको नापजाँचसम्बन्धी निर्देशिका, २०७७ मा ‘गाउँब्लक’ भन्नाले सुरु नापीको फिल्डबुकमा कित्ता कायम भई गाउँब्लक, गाउँ, सहर, सहरी क्षेत्र, बजार क्षेत्र, बजार, मिनही, डिही, घरबास कोटी, भखारी, स्वबासी, बेनिस्सा, बास जनाइएको वा सुरु नापी हुँदा ब्लकभित्र विभिन्न कित्ता कायम भएको र हकभोगमा जनाइएको दर्ता हुन बाँकी क्षेत्र हो।
निर्देशिकामा दर्ता बाँकी वा फिल्डबुकमा गाउँब्लक जनिने शब्द उल्लेख नभई फिल्डबुक खाली रहेको, तर परापूर्वकालदेखि गाउँबस्ती रहेको प्रमाणित हुने आधार भएको क्षेत्र वा सुरु नापी हुँदा गाउँब्लक क्षेत्र ठुलो भएको कारणबाट कित्ता कायम नगरिएको, तर नक्साको मार्जिनमा गाउँ, नगर, बजार वा सहरी ब्लक कायम भएको व्यहोरा उल्लेख भई उक्त ब्लकको वरिपरिका नक्सा जोडी भिडाउँदा ब्लकको स्वरूप देखिने र परापूर्वकालदेखि बस्तीको रूपमा रहेको ब्लक क्षेत्र वा नेपाल सरकारको निर्णयबाट ‘गाउँब्लक’ क्षेत्र निर्धारण गरिएको क्षेत्रलाई गाउँब्लक भनिएको छ।