यू–१९ महिला विश्वकपको तयारीबारे निरीक्षणका लागि पोखरा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधिले खेलस्थल पोखरामा आवश्यक पहिलो चरणका आधारभूत पूर्वाधारहरू नरहेको टिप्पणी गरेको छ। तीन दिनअघि पोखरा आएको आइसिसीको दुई सदस्यीय टोलीले यस्तो टिप्पणी गरेको हो।
सन् २०२७ को महिला विश्वकप नेपाल र बंगलादेशमा हुँदै छ। नेपालले विश्वकपको तयारी कसरी गरिरहेको छ भनेर आइसिसीका प्रतिनिधि निरीक्षणमा पोखरा आएका हुन्। तीन वर्षअघि आइसिसीले विश्वकप आयोजनाका लागि नेपाललाई सहआयोजक बनाउने निर्णय गरेको थियो। प्रतियोगिता आयोजना गर्ने अवसर पाएपछि नेपालले काठमाडाैं र पोखरामा गर्ने तयारी गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दुई स्थान तोकेर प्रतियोगिता आयोजना गर्ने जनाएपछि आइसिसीका प्रतिनिधि नेपाल आएका हुन्। नेपाल आएका उनीहरू मंगलबार पोखरा आएका थिए। मंगलबार नै उनीहरूले पोखरा रंगशालास्थित क्रिकेट मैदान, मैदानको अवस्था अवलोकन गरेका थिए। साथै, पोखराका होटेलहरूको बारेमा समेत जानकारी लिएका थिए। टोलीले गण्डकी प्रदेशका खेलकुदमन्त्रीसँगै पोखरा महानगरपालिकाका प्रमुखसँग प्रतियोगिता आयोजनाको विषयलाई लिएर भेट गरेका थिए।
बुधबार काठमाडौं फर्कने क्रममा उनीहरूले पोखराको मैदान, भौतिक पूर्वाधारको अवस्था, मैदानसम्म जाने सडकको अवस्थासँगै पोखरामा रहेका होटेलहरूको अवस्थाका बारेमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए।
आइसिसीका सिनियर म्यानेजर रोहित पोडरले पोखरामा प्रतियोगिता आयोजनाका लागि सकारात्मक भए पनि आवश्यक पहिलो चरणका पूर्वाधारहरू नरहेकाले समस्या भएको बताए। उनले भने, ‘भौगोलिक र प्राकृतिक हिसाबले पोखराको जस्तो मैदान संसारका अन्य स्थानमा खोजेर पाइँदैन। मैदान रहेको स्थान राम्रो भएर मात्र हुँदैन। आधारभूत पूर्वाधार अनिवार्य विषय हो।’ कमसेकम आइसिसीको मापदण्डअनुसार अन्य पूर्वाधार निर्माण गर्न नसकिए पनि मैदानमा ड्रेसिङ रुम, शौचालय, एक्सेस रोड, ब्रोडकास्टर वा मिडिया बक्स, प्लेएर बक्स, भिआइपी कक्ष, डाइनिङ रुम, स्कोरबोर्डसँगै आउटफिल्ड आवश्यक पर्ने उनले बताए।
प्रतियोगिताका लागि दुई वर्ष समय रहेकाले प्रदेशका मन्त्री र पोखराको मेयरसँगको भेटपछि आवश्यक पूर्वाधार भन्नेमा आशावादी र उत्साहित बनाएको बताए। यी आधारभूत पूर्वाधारहरू तयार भएको खण्डमा सन् २०२७ को प्रतियोगिता मात्र नभई आइसिसीले आयोजना गर्ने अन्य प्रतियोगितासमेत पोखरामा आयोजना गर्न सकिने उनले बताए। आवश्यक पूर्वाधार तत्काल निर्माण गर्न उनको सुझाव थियो।
आइसिसीका डेभलपमेन्ट अफिसर एमडी एम्युनल इस्लामले प्रतियोगिताका लागि आइसिसीले तय गरेको पहिलो चरणको मापदण्ड पूरा गरे आफूहरू सकारात्मक रहेको बताए। पोखरालाई पहिलो रोजाइको भेन्युको रूपमा हेरे पनि पूर्वाधारका हिसाबले निरास बनाएको बताए। आवासका लागि पाँचतारे होटेलहरूमा करिब पाँच सय कोठा आवश्यक पर्नेमा नरहेको उनले बताए।
क्यान अध्यक्ष चतुुरबहादुर चन्दले काठमाडाैंपछि दोस्रो रोजाइको रूपमा पोखरालाई लिएको बताए। पोखरामा प्रतियोगिता हुनुपर्छ भन्ने मान्यता रहे पनि पूर्वाधारका कारण समस्या हुन सक्ने उनले बताए।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले हाल मैदानमा राखेपले करिब चार सय सिट क्षमताको भिआइपी प्याराफिट निर्माण गरिरहेको बताए। अन्य पूर्वाधार कसले बनाइदिने भन्ने केही निर्णय नभएको उनको भनाइ छ। आवश्यक पूर्वाधारको लागि लागेको धेरै समय भए पनि आवश्यक बजेट व्यवस्था नहुँदा संरचना निर्माणमा ढिलाइ भएको बताए।