अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ। बिहीबार क्लब पदाधिकारी र एन्फाबिच बसेको बैठकले १३ माघबाट लिग आयोजना गर्ने र क्लब दर्ता मिति १३ मंसिर निर्णय गरेको छ। खेलाडी दर्ता २४ मंसिर र प्रतियोगिताको खेल तालिका १३ पुसमा गर्ने एन्फाको योजना छ।
तर, बैठकमा १४ मध्ये १० क्लबका पदाधिकारी उपस्थित भएनन्। एन्फाको योजनामा ११ क्लबले असन्तुष्टि जनाएका छन्। उनीहरूले बक्यौता रकम सुरुमा पाउनुपर्ने माग राखेका छन्। बिहीबारको बैठकमा एन्फाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, सदस्यहरू मनिराज विष्ट, मनीष जोशी र टीका लामा तथा महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधार, प्रवक्ता सुरेश शाह तथा सह महासचिव बन्द्र भट्टराई र विजय घलेको उपस्थिति थियो।
क्लबबाट श्रीकुमारी, श्री भगवती, बाँसबारी र प्लानिङ ब्वाइज मात्रै सहभागी भए। एन्फा महासचिव किरण राईले सात दिनअघि नै बैठक बस्ने सूचना क्लबलाई पठाएका थिए। प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामा एन्फा उपाध्यक्ष तथा श्री भगवतीबाट एन्फा सदस्य मनीष जोशी बैठकमा सहभागी थिए। श्रीकुमारीबाट उपस्थित नकुल हमाल र बाँसबारीबाट उपस्थित भएका रमेश कार्की गत साता मात्रै नेपाली राष्ट्रिय फुटबल टोलीसँग ताजकिस्तान पुगेका थिए। उनीहरू बैठकमा उपस्थिति हुनुपर्ने सर्तसहित ताजकिस्तान पुगेको आरोप अन्य क्लबको छ।
‘हामीलाई बैठकमा बोलाइएको थियो। माग पूरा नभएपछि गएनौँ। एन्फाले केही क्लब पदाधिकारीलाई बैठकमा राखेर अवैधानिक निर्णय गरेको छ,’ सहिद स्मारक ‘बी’ डिभिजन लिग संयोजक कुमारराज भण्डारीले भने, ‘यो कस्तो खालको निर्णय हो? बुझ्न सकिएन।’
यसअघि नै प्रतियोगिता चैत ०७९ मा गर्ने एन्फाको तयारी थियो। तर, क्लबले बक्यौता रकम नपाएको, तयारी खर्च नपाएको भन्दै लिग खेल्न आनाकानी गरेको थियो। एन्फाले क्लबको माग पूरा गर्ने भने पनि पालना भएन।
दुई वर्षदेखि पटक-पटक मिति तय भए पनि प्रतियोगिता हुन सकेको छैन। पछिल्लो समय एन्फाले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गरेपछि भने बैठक नै सौहार्दपूर्ण हुन सकेको छैन। ‘हामीले बाँकी पाँच क्लबको बक्यौता ६ लाख ५० हजार सुरुमा दिएपछि लिग खेल्ने भनेका छौँ। एन्फा तयार छैन। अनि हामी मात्रै लगानी गर्न किन तयार हुने? एन्फाले बक्यौता दिएपछि लिग खेल्न तयार छौँ,’ राजभण्डारीले भने।
एन्फाले ०७९/८० सालमा विवादस्पद सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो। तर, त्यसमा रेलिगेसनको विवाद चलिरहे पनि एन्फाले कुनै निर्णय सुनाएको छैन। त्यसयता ‘सी’ डिभिजन लिग सम्पन्न भए पनि‘‘बी’ डिभिजन लिग नहुँदा ‘साइकल’ पूरा गर्न सकेको छैन।