आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रतिबद्धता बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा गएसँगै चुनावी माहोल तातेको छ । एमाले र माओवादीले गत सातादेखि नै घरदैलो थालिसकेका छन् । कांग्रेसले भने बुधबारबाट घरदैलो अभियान थालेको छ । प्रत्येक घरमा पुगेर मतदातासँग प्रतिबद्धता जाहेर गर्ने रणनीति दल र स्वतन्त्र उम्मेदवारको छ ।
राजनीतिक दलहरूले राजधानीको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस विरासत जोगाउने, एमाले विरासत फर्काउने र माओवादी इतिहास रच्ने रणनीतिसहित घरदैलो अभियानमा व्यस्त छन् । उनीहरू बिहान र बेलुकाको समयमा घरदैलो अभियान थालेका छन् । मेयर पदका लागि उपनिर्वाचन हुन लागेको एक मात्र स्थानीय तह भएकाले कीर्तिपुरमा सबैको ध्यान छ । गत निर्वाचनमा मेयरमा निर्वाचित कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुँदै छ । गत निर्वाचनमा अधिकांश स्थानमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो । तर, कीर्तिपुरमा भने कांग्रेस र जसपाको मात्रै गठबन्धन थियो । जसपाकी शुभलक्ष्मी शाक्य कांग्रेसको रुख चिह्नबाट निर्वाचित भएकी थिइन् ।
०७९ वैशाखको निर्वाचनमा कांग्रेसका राजकुमार नकर्मीले ९ हजार ४३ मत प्राप्त गरेर निर्वाचित हुँदा दोस्रो भएको एमालेले पाँच हजार ५०७ पाएको थियो । माओवादीले चार हजार ९० र एकीकृत समाजवादीले एक हजार १५३ मत प्राप्त गरेका थिए । कांग्रेसबाट निर्वाचित वडा नं. १ का अध्यक्ष हीरालाल महर्जन र वडा नं. ४ मा स्वतन्त्रबाट निर्वाचित श्याम अधिकारीको निधन भएकाले ती वडामा पनि निर्वाचन हुँदै छ । ०७९ को निर्वाचनमा कीर्तिपुरमा ३० हजार ३२८ मतदाता रहेकामा उपनिर्वाचनमा ७८४ जना थपिएर ३१ हजार ११२ पुगेका छन् ।
कांग्रेसमा कृष्णमानको अग्निपरीक्षा
उपनिर्वाचनमा राजीतिक परिवेश फेरिएको छ । कांग्रेस र एमाले सत्तागठबन्धनमा छन् । चुनावी मैदानमा भने एक्लाएक्लै छन् । चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय गरेको कांग्रेसका लागि यो परीक्षा हो भने कृष्णमान डंगोलका लागि विरासत जोगाउनुपर्ने चुनौती ।
‘विरासत जोगाउने जिम्मेवारी मेरो काँधमा आएको छ । पार्टीले विश्वास गरेर जिम्मा दिएको छ । घरदैलो कार्यक्रममार्फत मतदाताकहाँ पुग्दै छौँ । स्व. मेयर नकर्मीको अधुरो सपना पूरा गर्नु मेरो दायित्व हो,’ डंगोलले भने, ‘चुनावी अभियानमा उहाँले प्रतिबद्धता जनाउनुभएका केही काम पूरा भएका छन् । केही प्रक्रियामा छन् । स्वास्थ्यमा स्व. नकर्मीले एक स्टेप चालिसक्नुभएको छ । कीर्तिपुर अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गराउने प्रतिबद्धता पूरा भइसकेको छ । सेवा शुल्क मात्रै लिएर सुविधा सम्पन्न कीर्तिपुर नगर अस्पताल सञ्चालन गर्ने ठूलो योजना छ । शिक्षा, स्वास्थ्य, रोजगारको एजेन्डा बोकेर चुनावी मैदानमा आएको छु । कीर्तिपुर संस्कृतिले भरिएको छ । पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण–प्रवद्र्धनको योजना पनि छ ।’
कांग्रेसको माहोल राम्रो भएकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ । ‘मेयर, उपमेयरले राम्रो काम गर्नुभएको छ । वडाध्यक्षहरूले पनि राम्रो काम गर्नुभएको छ । विकासको लहर थालनी भएकाले त्यसलाई पूर्णता दिन अघि सरेको छु,’ उनले भने । पहिलोमा कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादी आउने डंगोलले दाबी गरे । कांग्रेस–एमाले सत्तागठबन्धनले उपचुनावको प्रचारमा कार्यकर्ताले खुलेर विरोध गर्न पाएका छैनन् । ‘अरू पार्टीलाई गाली गरेर आफू मात्रै राम्रो हो भन्नुहुँदैन । अरूलाई गिराएर, चाहिने–नचाहिने गाली गरेर माथि आउने सोच मेरो होइन । आफ्नो एजेन्डा जनतालाई राम्रोसँग बुझाएर, विश्वास जितेर अघि बढ्ने हो,’ उनले भने । वडाहरूमा पार्टीको जनप्रतिनिधि भएकाले कांग्रेसलाई सहज छ ।
तीन सातादेखि एमाले घरदैलोमा
अघिल्लोपटक ‘क्लिनस्विप’ भएको एमालेलाई पुरानो विरासत फर्काउने चुनौती छ । विगतमा जित्दै आएको एमालेले गत निर्वाचनमा मेयर, उपमेयरसहित कुनै पनि वडा जित्न सकेन । त्यसको मुख्य कारण आन्तरिक व्यवस्थापनको कमजोरी रहेको बताउँछन् एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धर । अहिले उम्मेदवार चयनदेखि एकता भएकाले परिणाम आफ्नो पक्षमा आउने उनको दाबी छ । ‘एमालेका नगरपालिकाका लगभग दुई सयजति कार्यकर्ता एकताका साथ आपसी विश्वासमा चुनावमा खटिनुभएको छ । स्वतःस्फूर्त रूपमा आ–आफ्नो ठाउँबाट कार्यकर्ता परिचालित हुनु जितको एउटा आधार हो,’ उनले भने ।
कीर्तिपुरको विकासलाई निरन्तरता दिन बिचमा केही समस्या देखिएकाले मतदाताले एमालेको महŒव बुझेको उनको दाबी छ । ‘सबल, सक्षम नेतृत्वको खोजीमा कीर्तिपुर छ । सबल, सक्षम नेतृत्व नभएकै कारणले कीर्तिपुरका जनप्रतिनिधिमा पनि असाध्यै ठुलो अन्योल सिर्जना भएको छ । एकआपसमा अविश्वास सिर्जना हुँदा बादविवादको तहसम्म जनप्रतिनिधि पुगेको अवस्था छ । जसले गर्दा कीर्तिपुरले गति लिन सकेको छैन । एमालेको नेतृत्वमा कीर्तिपुरले गति लिन्छ,’ उनले भने ।
एमालेले तीन साताअघिदेखि नै घरदैलो गरिरहेको छ । मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्र पारेको छ । ‘गत निर्वाचनपछि कीर्तिपुरमा कामै हुन सकेन । त्यो कुरा यहाँका मतदाताले बुझ्नुभएको छ । र, अहिले सोच्दै नसोचेको ठाउँबाट पनि हामीले अपार माया पाएका छौँ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी नगरपालिकालाई अझ बढी फोकस गर्नुपर्छ । स्वास्थ्यमा ०७४ देखि ०७९ सम्मको जनप्रतिनिधिले जे कार्यक्रम स्थापित गर्नुभएको थियो, त्यसलाई अब कसरी बढाउन सकिन्छ भन्नेमा छौ,’ उनले एजेन्डा अघि सार्दै भने ।
भ्रष्टाचारविरुद्धको अभियान माओवादीको मूल मुद्दा
उपनिर्वाचनमा माओवादीले कांग्रेस–एमालेबाट सुशासन र विकास निर्माणको काम हुन नसक्ने भन्दै भ्रष्टाचारविरुद्धको अभियानलाई मूल मुद्दा बनाएको छ । माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले कीर्तिपुरमा इतिहास रच्ने दाबी गरे । महर्जनलाई एकीकृत समाजवादी र जसपाको साथ छ । यद्यपि, एकीकृत समाजवादीका भानु रिजालको नाम मेयरको उम्मेदवारमा कायमै छ । ‘प्राविधिक रूपमा मात्रै नाम रह्यो । फिर्ता लिन जान ढिला भएकाले प्राविधिक रूपमा मात्रै नाम रहेको हो । हामीले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवारलाई समर्थन गरिसकेका छौँ,’ एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले भने । गत निर्वाचनमा एकीकृत समाजवादीले मेयरमा एक हजार १५३ मत प्राप्त गरेको थियो भने कांग्रेसको चुनाव चिह्न लिएर उठेकी जसपा उम्मेदवार उपमेयर छिन् ।
जसपा नेपालले अन्य समुदायबाट दीपक महर्जनलाई उम्मेदवार बनाएको छ । महर्जनले बुधबार कीर्तिपुर लायकु दरबारमार्गमा कोणसभा गरेका थिए । जसपा नेपालले आफूलाई राजनीति सिकाएको उनले बताए । ‘हामीले विकास निर्माणदेखि स्थानीय समस्यासम्मका एजेन्डा अघि सारेका छौँ । हामीले जित्यौँ भने धेरै राम्रो काम गर्नेछौँ । जित्न सकेनौँ भने पनि राम्रो सिकाइ हुनेछ । यो निर्वाचनले हामीलाई राजनीति सिकायो,’ महर्जनले भने ।
दलहरूको वितृष्णा ‘क्यास’ गर्ने स्वतन्त्रको दाउ
कीर्तिपुरको मेयरका लागि राजनीतिक दलका नौ र स्वतन्त्र ११ जना चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्रमध्ये राजमान मानकको चर्चा बढी छ । राजमानलाई धरानका मेयर हर्क साङपाङको समर्थन छ । ‘निर्वाचित जनप्रतिनिधिमा हर्क साङपाङ आउनुभयो । रास्वपाले पनि मेरो समर्थनमा आजभोलि वक्तव्य निकाल्छ होला । मलाई सघाउनकै लागि रास्वपाले उम्मेदवार नदिएको होला । काठमाडौंको मेयरको केही प्रतिक्रिया आएको छैन,’ उनले भने ।
राजमान दलहरूप्रति आमनागरिकमा वितृष्णा भएकाले आफूले ठुलो मतान्तरले चुनाव जित्ने दाबी गर्छन् । ‘जनताको निराशालाई आशामा बदल्न उम्मेदवार बनेको हुँ । परिणाम आउनेबित्तिकै जनतालाई आशा जगाउने गरी कार्य गर्नेछु,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा मेरो प्रतिस्पर्धी उम्मेदवार नहुन सक्छ । दलका उम्मेदवारलाई भोट दिने मनस्थितिमा जनता छैनन् । चार–पाँच गुणा नै फरक भयो भने त त्यसको अर्थ प्रतिस्पर्धा भएन ।’