मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर ३ सोमबार o८:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घोषित मितिमा भएन दशौँ राष्ट्रिय खेलकुद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o८:३३:oo

कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन सकेन । राष्ट्रिय खेलकुद परिषद्ले २–९ मंसिरसम्म कर्णालीमा राष्ट्रिय प्रतियोगिताको मिति घोषणा गरेको थियो । तर, खेलकुदको सम्बन्धित निकायले प्रतियोगिताबारे निर्णय गर्न सकेको छैन । खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङबिच आपसी टकरावका कारण प्रतियोगिता हुन नसकेको मानिन्छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले पूर्वाधारका कारण नभएर अन्य विविध पक्षले नभएको बताए । ‘पूर्वाधारका कारण प्रतियोगिता निर्धारित समयमा गर्न नसकेका होइनौँ, अझै पनि गर्न तयार छौँ,’ उनले भने, ‘के–कति कारणले भएन, यसको विश्लेषण हुनुपर्छ ।’

गत साता मन्त्री चौधरीले २५ फागुनपछि मात्रै प्रतियोगिता हुन सक्ने बताएका थिए । राखेपको बोर्डमा रिक्त उपाध्यक्षसहित अन्य सदस्यको नियुक्ति पूरा गरेर मात्र प्रतियोगिताको मिति घोषणा हुने चौधरीको भनाइ छ । ‘पहिला राखेपको रिक्त बोर्ड सदस्यहरूको नियुक्ति गर्नुपर्छ, त्यसपछि बस्ने बैठकले मिति घोषणा गर्नेछ,’ मन्त्री चौधरीले भने । उनका अनुसार यसै साता उपाध्यक्षसहित सदस्यले नियुक्त पाउनेछन् । ‘यसै साता सबै रिक्त सदस्य नियुक्त गरी बैठक बस्नेछ,’ उनले भने । दशौँ राष्ट्रिय खेलकुद पूर्वनिधारित समयमा नहुँदा खेलकर्मी निराश भएका छन् ।

गत साउनमा कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको सय दिनको काउन्ट डाउन नै सुरु गरेको थियो । राखेप र मन्त्रालयबिच सम्बन्ध राम्रो नहुँदा दशौँ राष्ट्रिय खेलकुदको कार्यिविधिसमेत बनेको छैन । दशौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ मध्ये २४ खेल कर्णालीले आयोजना गर्ने थियो । केही खेलका भौतिक पूर्वाधार नहुँदा बाँकी खेल अन्य क्षेत्रमा गरिने परिषद्ले जनाएको थियो ।

आयोजना स्थलको निरीक्षण
०७९ कात्तिकमा पोखराबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुदको झन्डा बोकेको थियो । दुई वर्षभित्र प्रतियोगिता आयोजना गर्न आयोजक कर्णालीले भौतिक पूर्वाधार निर्माणमा गति बढायो । वीरेन्द्रनगर नगरपालिका– ८ सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला लगभग तयार छ । प्रतियोगिता निर्धारित समयमै गराउन यसबिच दुई पूर्व तथा वर्तमान खेलकुदमन्त्रीले निरीक्षण गरेका थिए । यसअघिका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पनि आफ्नो संक्षित कार्यकालमा दशौँ राष्ट्रिय खेल हुने स्थलको भ्रमण गरे । त्यसवेला उनले राज्यबाट प्रतियोगिता आयोजनामा सबै किसिमको सहयोग हुने बताएका थिए । श्रेष्ठपछि खेलकुद मन्त्रालय सम्हालेका चौधरीले पनि कर्णालीका खेल आयोजना हुने स्थलको भ्रमण गरे । उनले पनि प्रतियोगिता निर्धारित समयमै हुने दाबी गरेका थिए ।

पूर्वाधार निर्माण अन्तिम चरणमा
पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको परिषद्ले जनाएको छ । सेन्थेटिक ट्र्याकसहितको वीरेन्द्रनगरको अत्याधुनिक रंगशालाको निर्माण अन्तिम चरणमा पुगेको छ । यहाँ भिआइपी बक्स बन्ने क्रममा छ । सदस्यसचिव सञ्ज्यालका अनुसार प्रतियोगिता आयोजना गर्न पूर्वाधार तयार भएको बताए । राखेपले २७ कात्तिकबाटै महिला फुटबल, महिला–पुरुष बास्केटबल, जुडो, उसु, तेक्वान्दो र महिला–पुरुष हक्की, महिला–पुरुष ह्यान्डबल, महिला–पुरुष क्रिकेट, फेन्सिङ, भलिबल र फुलकन्ट्याक्टको स्पर्धा उद्घाटनअघि नै तालिका थियो ।