मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २३ शुक्रबार १६:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भैरहवा र पोखरामा थप उडान गर्न पहल गर्नेबारे छलफल

नयाँ दिल्लीबाट नेपाली श्रमिकलाई उड्न दिन सहजीकरण गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १६:o९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगारसम्बद्ध संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँदिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।

छलफलका क्रममा वैदैशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूले ट्याक्सी वे विस्तारका लागि रातको समयमा विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नुपर्ने बताएका थिए। लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसाेसिएसनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक रूपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनी र केही ट्राभल एजेन्सीहरूको हात रहेको जिकिर गरेका थिए।

छलफलमा परराष्ट्रमन्त्री राणाले हवाई टिकमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गर्दै पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या समाधान गर्ने बताइन्। तत्काललाई यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने उनको भनाइ थियो।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले यसअघि भारतको  नयाँदिल्लीबाट नेपालीहरू श्रम गन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरूकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए। मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गर्दै भने, ‘हवाई टिकटमा भएको मूल्यवृद्धिका कारण नेपाल आउने पर्यटकहरूसमेत मर्कामा परेका छन्। सिन्डिकेट र कार्टेलिङ भएको भए त्यसलाई रोक्नुपर्छ। वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ।’

त्यसैगरी, पर्यटनमन्त्री पाण्डेले दसैँ–तिहारको समयमा बाढीपहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गर्दै हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्न रातको समयमा हुने उडान समय घटाएकाले टिकटको मूल्य वृद्धि भएको बताए।

‘धावनमार्गको विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्स कम्पनीहरूले उडान कटौती गर्ने योजना बनाइसक्नुभएको थियो। पोखरा र भैरहवा अन्तर्राष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ट गर्न थालिएको हाल तीन–चारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन्,’ मन्त्री पाण्डेले भने।

सरकारसँग पर्याप्त विमान नहुँदासमेत समस्या देखिएको उनको भनाइ थियो।  व्यवसायीहरूले भने सरकार आवश्यक परेको बखत निर्मम बन्नुपर्ने धारणा राखेका थिए।