मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Friday, 27 December, 2024
२o८१ कार्तिक २३ शुक्रबार १o:५७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बुटवल–गोरुसिंगे सडक : वन्यजन्तुमैत्री बनाइँदै, सडक खण्डमा १९ वटा अन्डरपास बन्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १o:५७:oo

बुटवल–गोरुसिंगे सडकखण्ड वन्यजन्तु तथा वातावरणमैत्री बनाउने गरी निर्माण कार्य अगाडि बढाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको ५० किलोमिटर लामो सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रुपैयाँको ठेक्का सम्झौता भई काम अगाडि बढाइएको छ ।

अहिले सडक विस्तारका लागि अतिक्रमण हटाउनेदेखि रुख तथा बिजुलीका पोल हटाउन थालिएको छ । दसैँ–तिहारको आसपासबाट निर्माण व्यवसायीले काम सुरु गर्नेछन् । काम सुरु गरेको तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भएकाले कामले गति लिने सडक विस्तार आयोजनाले जनाएको छ । 

यो सडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी सडक विस्तार गर्न लागिएको छ । सडकखण्ड वातावरणमैत्रीसँगै वन्यजन्तुमैत्री सडक बन्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना छ । गोरुसिंगे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । बुटवल–गोरुसिंगे सडक खण्ड वनक्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ । 

यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र छ । पूर्व–पश्चिम राजमार्गको उत्तर तथा दक्षिण क्षेत्रमा जंगल पर्ने भएकाले वन्यजन्तुमैत्री सडक बनाउन लागिएको योजनाले जनाएको छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको न्यौपानेले बताइन् । यस सडक खण्डको आसपासमा पर्ने जंगलमा ठुला जनावर भने नदेखिएको उनको भनाइ छ । जंगल क्षेत्रमा १९ जटा अन्डरपास बनाइने भएको छ । आयोजनाका इन्जिनियर किसनप्रसाद गैरेले १९ मध्ये सालझन्डी पिपरा खण्डमा चारवटा बनाइने बताए । कोइली बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । 

सात हजार रुख काटिँदै, ७२ हजार रोप्न चार करोड खर्च गरिँदै
सडक विस्तार गर्दा सात हजार एक सय ७५ रुख हटाउनुपर्ने भएपछि ती रुख काट्ने तयारी गरिएको छ । ती रुख काट्दा वातावरणमा हुने नोक्सानी कम गर्न १० गुणा बढी बिरुवा रोप्ने तयारी पनि गरिएको छ । ७२ हजार बिरुवा रोप्न र ती बिरुवा हुर्काउन चार करोड रुपैयाँ खर्च गरिँदै छ । यसका लागि वन विभागसँग आवश्यक सहकार्य अगाडि बढाइएको छ । योजना कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले बिरुवा रोप्न चार करोड रुपैयाँ पठाउने तयारी भएको बताए । कार्यालयले रकम उपलब्ध गराउने र वनले बिरुवा रोप्ने तथा हुर्काउने जिम्मा लिनेछ । 

सडक खण्डमा ३० वटा पुल, १४९ कल्भर्ट बन्ने
यो सडक खण्डमा ३० वटा पुल बन्नेछन् । बजार क्षेत्रमा सडक पार गर्न सहजताका लागि ओभरहेड ब्रिज पनि बन्ने इन्जिनियर गैरेले बताए । सडक खण्डमा १४९ कल्भर्ट तथा ६ अन्डरपास बन्नेछन् । सडकको विस्तारको काम गर्दा सवारी आवागमनमा अवरोध नहुने गरी अगाडि बढाउने योजना कार्यालयको छ । पुल, क्रसिङदेखि सर्भिस लेनको काम गरेपछि बिचको सडक भत्काउने र बनाउने काम अगाडि बढाइने भएको छ । सडक विस्तारको काम सुरु गरेपछि बिचसडकको काम नथाल्दै सडकमा खाल्टाखुल्टी परेमा मर्मत–सम्भारको काम पनि निर्माण व्यवसायीले गर्ने आयोजनाले जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर न्यौपानेका अनुसार यसो गर्दा सडक विस्तारको काम सहज रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन सहज हुनेछ । 

विस्तार गर्न लागिएको सडक खण्ड रुपन्देही र कपिलवस्तु जिल्लामा पर्दछ । सडक विस्तारका क्रममा सडक अतिक्रमण हटाउने क्रममा रुपन्देहीमा मात्रै ८९ घरपरिवारको संरचना हटाइएको छ । सडक क्षेत्रमा पर्ने घरहरू हटाउँदा मात्रै मुआब्जा दिने प्रावधानअनुसार यहाँ हालसम्म ८९ जनालाई दिनुपर्ने देखिएको छ ।

मुआब्जा निर्धारणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बनाएको समितिले एक करोड ४३ लाख ७१ हजार ७ सय ७६ रुपैयाँ दिनुपर्ने भएको छ । योजना कार्यालयका लेखा प्रमुख आचार्यका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५६ लाख ३३ हजार २ सय ४५ रुपैयाँ वितरण गरिएको थियो । यो आर्थिक वर्षमा १३ लाख २९ हजार ८२ गरी हालसम्म जम्मा ६९ लाख ६२ हजार ३ सय २७ रुपैयाँ वितरण गरिएको छ ।