मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Monday, 09 December, 2024
२o८१ कार्तिक २२ बिहीबार o६:१o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि ट्रम्पको पुनरागमन

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o६:१o:oo

‘अमेरिकी फर्स्ट’को नारा अगाडि सारेका ट्रम्पको ह्वाइटहाउसमा पुनरागमनले रुस–युक्रेन युद्ध, मध्यपूर्व तनाव, आप्रवासन र विश्व व्यापार नीतिमा के हुन्छ भन्नेमा विश्वकै चासो

विश्व महाशक्ति अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित तय भएको छ । राष्ट्रपतीय निर्वाचनको अन्तिम नतिजा आउन अझै केही समय लाग्न सक्छ, तर ह्वाइटहाउसमा ट्रम्पको पुनरागमन भने सुनिश्चित भइसकेको हो । अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पले २० जनवरी २०२५ मा शपथ लिनेछन् । उनी पहिलोपटक २०१६ मा राष्ट्रपति भएका थिए । अमेरिकी राष्ट्रपतिमा को आउँछ भन्ने विषयले खास गरेर विश्व राजनीति, सैन्य क्षेत्र र अर्थव्यवस्थामा प्रभाव पार्ने भएकाले संसारभर यसलाई चासोका साथ हेरिन्छ । 

रिपब्लिकन पार्टीका ट्रम्पले कुल ५३८ मध्ये राष्ट्रपति पदमा विजयी हुन आवश्यक २७० इलेक्टोरल कलेज मतभार पार गरिसकेका छन् । अग्रता हेर्दा उनले ३१२ मत आफ्नो पक्षमा सुरक्षित गर्न सक्ने देखिन्छ । ट्रम्पको कार्यकाल सहज हुने गरी आँकडाले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिकनकै वर्चश्व हुने देखाएका छन् । रिपब्लिक पार्टीले सय सदस्यीय सिनेटमा बहुमत पार गर्दै ५२ स्थान पक्का गरिसकेको छ भने हाउसमा पनि बहुमतको २१८ को आँकडा पार गर्ने देखिँदै छ । 

ट्रम्पले यस निर्वाचनमा लोकप्रिय मत र मत प्रतिशतसमेत राम्रो नतिजा प्रदर्शन गर्ने देखिएको छ । यसपटक ट्रम्पले कम्तीमा ५१ प्रतिशत मत पाउने संकेत मिलेको छ । साथै, लोकप्रिय मतमा पनि उनले प्रतिद्वन्द्वी ह्यारिसलाई उल्लेख्य अंकले पछि पार्ने भएका छन् । पछिल्लो नतिजामा उनी ह्यारिसभन्दा करिब ५० लाख मतले अगाडि छन् । 

अघिल्लोपटक निर्वाचन जित्दा ट्रम्पले खसेको कुल मतको ४६.१ प्रतिशत मात्रै प्राप्त गरेका थिए, जब कि प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले ४८.२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । आफूले हार व्यहोरेको सन् २०२० को निर्वाचनमा भने उनको मत प्रतिशत केही बढेको थियो । उनले ४६.९ प्रतिशत लोकप्रिय मत प्राप्त गरेका थिए । 

अघिल्ला निर्वाचनमा ट्रम्पको प्रदर्शन 
सन् २०१६ को राष्ट्रपतीय निर्वाचन ट्रम्पले जितेका थिए । ट्रम्पको पक्षमा ३०४ इलेक्टोरल कलेज परेको थियो । तर, लोकप्रिय मतमा भने ट्रम्प प्रतिद्वन्द्वी हिलारी क्लिन्टनभन्दा २८ लाखभन्दा बढीले पछि परेका थिए । उनले ४६.१ प्रतिशत मात्रै मत प्राप्त गरेका थिए भने उनीसँग पराजित हिलारीले ४८.२ प्रतिशत प्राप्त गरेकी थिइन् । सो निर्वाचनमा रिपब्लिकनले सिनेटको ५२ सिट सुरक्षित गरेको थियो भने २४१ सांसदसहित हाउसमा पनि बहुमत प्राप्त गरेको थियो । 

सन् २०२० मा ट्रम्पको स्थिति
सन् २०२० को निर्वाचनमा जो बाइडेन ३०६ इलेक्टोरल कलेजसहित विजयी भएका थिए । ट्रम्प भने २३२ मै सीमित भए । जित हासिल गरेका बाइडेनले ५१.३ प्रतिशतसहित आठ करोड १२ लाख ८४ हजार लोकप्रिय मत पाए । लोकप्रिय मतमा पनि बाइडेनकै अग्रता थियो । उनले ट्रम्पले भन्दा ७० लाख बढी मत प्राप्त गरेका थिए । सो निर्वाचनमा ट्रम्पले सात करोड ४२ लाख २४ हजार मत पाएका थिए । मतमा ट्रम्पको हिस्सेदारी ४६.९ प्रतिशत थियो । सन् २०२० को निर्वाचनमा ६६ प्रतिशतको कीर्तिमानी मत खसेको थियो । सन् २०२० को निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटिभमा पनि डेमोक्र्याटिक पार्टीले नै बहुमत प्राप्त गर्‍यो । डेमोक्रेटिकका २२२ सांसद विजयी भए भने रिपब्लिकन २१३ मै समेटियो । सिनेटमा भने रिपब्लिकनका ५० सदस्य रहेका थिए ।

नेपालसहित विश्वका नेताहरूको बधाई र प्रतिक्रिया 
कठोर र अनुदारवादी म्यान्डेटसहित ह्वाइटहाउस पुनरागमन गर्न लागेका ट्रम्पलाई बधाई दिन विश्वभरका नेताहरूले ‘को पहिलो भन्ने गरी’ होड गरेको देखियो । निर्वाचनमा सामान्यतः जितको आँकडा पार गरेपछि बधाई आउनुलाई नौलो मानिँदैन, तर ट्रम्पलाई जितका लागि आवश्यक अंक नपुग्दै विभिन्न मुलुकका नेताहरूबाट बधाई आयो । 

बधाई दिनेहरूको अग्रपंक्तिमा हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्वान देखापरे । ‘अमेरिकी राजनीतिक इतिहासमा अभूतपूर्व पुनरागमन ! बधाई राष्ट्रपति ट्रम्पलाई महाविजयका निम्ति । विश्वको लागि अत्यावश्यक विजय,’ उनले सामाजिक सञ्जालमा लेखिहाले । ‘इतिहासको भव्यतम् पुनरागमनका लागि बधाई ! ह्वाइटहाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकालाई नयाँ सुरुआत प्रदान गर्नेछ भने अमेरिका र इजरायलबिचको मित्रतालाई शक्तिशाली प्रतिबद्धता,’ ह्वाइटहाउसमा ट्रम्प खोजिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक्समा लेखे । नेतन्याहु ट्रम्पले अमेरिकी सैन्य सहयोगको निरन्तरता दिने र इरानमाथि दबाब बढाउने आशामा छन् । 

क्रेमलिनले पनि प्रवक्ता दिमित्री पेस्कोभमार्फत अमेरिकी निर्वाचनको नतिजाप्रति नरम प्रतिक्रिया जनाएको छ । ट्रम्पको आलोचनाको निसानामा पर्ने गरेको नेटोका महासचिव मार्क रुटले पनि ट्रम्पलाई बधाई दिइसकेका छन् । ‘ट्रम्पको नेतृत्व गठबन्धनलाई बलियो बनाउन महत्वपूर्ण हुनेछ । सामथ्र्यको माध्यमबाट शान्तिलाई अघि बढाउन म उहाँसँग काम गर्न उत्सुक छु,’ मार्क रुटले बधाईमा भनेका छन् । यसैगरी, ट्रम्पसँग पहिलो कार्यकालमा उतारचढावपूर्ण सम्बन्ध रहेका फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले पनि मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘थप शान्ति र समृद्धिका लागि आपसी विश्वास, सम्मान र महत्वाकांक्षासहित चार वर्षमा जसरी नै मिलेर काम गर्न तयार,’ उनको प्रतिक्रिया छ ।

ट्रम्पको निसानामा पर्दै आएकी युरोपेली आयोगकी अध्यक्ष उसुर्ला भोन डेर लियनले भने सतर्कतापूर्ण प्रतिक्रिया दिएकी छिन् । उनले लाखौँ आपसी रोजगारी र अर्बौं डलरको व्यापार तथा लगानी आर्थिक सम्बन्धको गतिशीलता र स्थिरतामा निर्भर गर्ने भन्दै मिलेर काम गर्न आह्वान गरेकी छिन् । चीनको विदेश मन्त्रालयले ‘शान्तिपूर्ण सहअस्तित्व’मा जोड दिँदै पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्व र विन–विनको सिद्धान्तका आधारमा चीन–अमेरिका सम्बन्ध अगाडि बढाउनुपर्ने प्रतिक्रिया दिएको छ । 

अघिल्लो निर्वाचनमा ट्रम्पको प्रचार गरेको भनेर आलोचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् । उनले एक्समा लेखेका छन्, ‘निर्वाचनमा तपार्ईंको ऐतिहासिक विजयमा मेरो मित्र डोनाल्ड ट्रम्प हार्दिक बधाई । भारत–अमेरिका विश्वव्यापी तथा रणनीति साझेदारी थप सुदृढ हुने विश्वास छ ।’

जित सुनिश्चित गर्ने ट्रम्पका एजेन्डा : अमेरिकालाई हरहालतमा फेरि महान् बनाउने ट्रम्पको सबैभन्दा आकर्षक नारा 
ट्रम्पले चुनावी अभियानका क्रममा अघि सारेका ‘एजेन्डा ४७’ निकै आक्रामक र अनुदार छन् । अमेरिकालाई हरहालतमा फेरि महान् बनाउने उनको सबैभन्दा आकर्षक नारा थियो । विशेष गरी अवैध आप्रवासीप्रति उनको नीति अत्यन्त कडा देखिन्छ । ट्रम्प अमेरिकी जनताले आप्रवासीका कारण अवसरहरू गुमाउनुका साथै अनेक दुःख पाएको ठान्छन् । केही मुलुकका नागरिकलाई उनी अमेरिका भ्रमणमा प्रतिबन्धित गर्ने पक्षमा छन् । उनी आप्रवासीहरूलाई कुनै अधिकार नदिने र आफ्नै मुलुक फिर्ता गर्ने पक्षमा छन् ।

अमेरिका र मेक्सिकोबिचको पर्खाल पूरा गर्ने ट्रम्पको भनाइ छ । पुरानो कार्यकालमै उनले यस्तो वाचा गरेका थिए । उनको आर्थिक नीतिको केन्द्रमा ‘अमेरिका फर्स्ट’को नीति देखिन्छ । सुन्दा आकर्षक लाग्ने यो नाराका पछाडि नीति भने निकै कठोर र वर्तमान विश्व व्यवस्थाको प्रतिकूल छन् । उनी विदेशी सामानमाथिको शुल्कलाई ६० प्रतिशतसम्म पुर्‍याउने पक्षमा छन् ।

उनको ‘ट्यारिफ’ अवरोधको निसाना भने चीन हो । शुल्क वृद्धिको सहाराले उनी अमेरिकी उत्पादनलाई बढावा दिलाउन चाहन्छन् । यसकारण उनको नेतृत्वमा चीनसँगको व्यापार युद्ध चर्किन सक्छ । उनी करका दरका साथै संघीय नियमनलाई पनि कटौती गर्न चाहन्छन् । ट्रम्पले खर्बौँको कर कटौती गर्ने बताएका छन् ।

अघिल्लो कार्यकालमा पनि उनले यस्तो निर्णय लिएका थिए, जसले धनीहरूलाई फाइदा पुगेको थियो । अर्थव्यवस्थाको वृद्धि गरेर कर कटौतीको भर्पाइ गर्ने ट्रम्पको दाबी छ । महँगी कम गर्ने उनको अर्को एजेन्डा हो । यसबाहेक यसैगरी उनले गर्भपातको विषयमा पनि ठोस निर्णय लिने बताएका छन् । 

विदेश नीतिमा उनी युक्रेन युद्धको अन्त्य र मध्यपूर्वमा इजरायललाई थप साथ दिने पक्षमा छन् । युक्रेनलाई सित्तैमा सैन्य सहयोग दिएर अमेरिकाले आफ्नो प्रतिरक्षा प्रणालीलाई कमजोर पारेको उनको बुझाइ छ । उनले मिसाइल प्रतिरक्षालाई थप सुदृढ बनाउने वाचा गरेका छन् । 

ट्रम्पको जितले नेपाललाई भूराजनीतिक असर कस्तो पर्छ ? 

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य : अब ट्रम्प २.०का रूपमा उनको पुरानै नीति र घोषणा कार्यान्वयन होला । नेपाललाई धेरै ठुलो फरक पर्छ जस्तो मलाई लाग्दैन । उनले रुस–युक्रेन तथा पश्चिम एसियामा चलेका युद्ध बन्द गरे भने ठुलो उपलब्धि हुनेछ । यसबाट हामी पनि लाभान्वित हुनेछौँ । ट्रम्पले आप्रवासीहरूप्रति अनुदारवाद अपनाउँदा यसको असर नेपालीहरूलाई पर्न सक्छ ।  भारत–क्यानडा सम्बन्ध सुधारका लागि ट्रम्पले सहजीकरण गर्न सक्छन् । अर्कातिर चीनसँग उनले कुनै पनि वेला अँगालो हाल्ने अवस्था पनि हुन सक्छ । ट्रम्पको विजयलाई यही रूपमा हेर्नुपर्ला । 

पूर्वराजदूत युवनाथ लम्साल : अमेरिकाको हिन्द–प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी) ट्रम्पकै पालामा आएको हो । हामी ठुला शक्ति नभएकाले नेपाललाई आधारभूत रूपमा धेरै फरक पर्दैन । चीन घेराउका सन्दर्भमा अघिल्ला सरकारहरूलाई जस्तै ट्रम्प सरकारले पनि नेपालको महत्व बुझेको छ र यस सन्दर्भमा नेपाललाई हेर्ने उसको नजर विगतकै निरन्तरता हुनेछ भन्ने लाग्छ । दक्षिणपन्थी धारका सन्दर्भमा मोदीसँग ट्रम्पको सहकार्य बलियो हुन सक्छ । नेपाललगायत दक्षिण एसियामा भारत र अमेरिकाबिच कतिपय मुद्दामा मेल र बेमेल दुवै छ । ट्रम्पका पालामा चीनसँग व्यापार युद्ध बढ्छ । अमेरिकाले ताइवान, तिब्बत र ट्रेड (तीन टी)को आँखाबाट चीनलाई हेर्छ । त्यस हिसाबले ट्रम्प आउँदा चीनसँग दूरी बढ्न सक्ने स्थिति हुन्छ । नेपालले सतर्कतापूर्वक परिस्थिति नियाल्नुपर्छ । 

पूर्वराजदूत विजयकान्त कर्ण : ट्रम्पको विजयले अमेरिकाको दक्षिण एसिया नीति र त्यसमा पनि नेपाल नीतिमा धेरै फरक पर्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उसको राम्रो सम्बन्ध छ । नेपालका सन्दर्भमा अघिल्लोपटक ट्रम्पको पालामा प्रजनन स्वास्थ्यको नाममा आउने सहायता बन्द भएको थियो, त्यसमा फरक पर्ला । यद्यपि, उनी चीनप्रति थप अनुदार हुन सक्छन् । अमेरिकाले व्यापार, उत्तर कोरिया र इन्डो प्यासिफिक रणनीतिका सन्दर्भमा उसको संवेदनशीलताको रेड लाइन क्रस गर्‍यो भने मात्रै नेपाललाई असर पर्छ, नभए केही फरक पर्दैन । 

नेपाली सेनाका पूर्वउपरथी डा. पूर्ण सिलवाल : चुनावमा ट्रम्पले बोलेको कार्यान्वयन गर्ने हो भने भूराजनीतिक परिस्थिति बदलिन्छ । अब नेटो कमजोर हुने सम्भावना छ । युक्रेनलाई हातहतियार रोके भने रुस–युक्रेन युद्ध रोकिने सम्भावना हुन्छ । चीनलाई छाडेर रुसले अमेरिकासँग सम्बन्ध अघि बढाउँछ कि बढाउँदैन भन्न सकिँदैन । मुख्य कुरा के हो भने ट्रम्प अब अमेरिकाकेन्द्रित हुनेछन् । चीनसँग आर्थिक युद्ध (इकोनोमिक वार)को सम्भावना छ । युरोपसँग उसको सम्बन्धको प्राथमिकतामा कमी आउनेछ । भारतसँग सम्बन्धमा तलमाथि नहोला । गैरकानुनी आप्रवासी निकाल्ने उनको घोषणा कार्यान्वयन भएमा यसको असर नेपाली विद्यार्थी र कामदारलाई पर्नेछ । अब अमेरिकाकेन्द्रित हुने अवस्थामा एमसिसीजस्ता ठुला परियोजना आउँदैनन् । महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सहायता रोकिनेछ । चीनसँग सैनिक रूपमा होइन, आर्थिक व्यापार युद्धमा केन्द्रित भएमा नेपालमा उसको रणनीतिक प्रभाव घट्नेछ । 

अरुणकुमार सुवेदी, तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार : ट्रम्पको आगमनसँगै अमेरिकामा बलियो नेतृत्वको प्रत्याभूति भएको छ । अहिले विश्वमा चलिरहेका युद्धहरू अन्त्य हुने स्थिति छ । यसको सकारात्मक असर नेपाललाई पर्छ । विगतमा नेपाललाई हेर्ने कतिपय दृष्टिकोण र मुद्दामा अमेरिका र भारतबिच फरक हुँदा नेपाललाई परेको कूटनीतिक र राजनीतिक रणनीतिक दबाबबाट मुक्ति मिल्नेछ । अमेरिकाले मेरिटाइम सेक्युरिटी, स्टेट सेक्युरिटी र इन्टरनेसनल फाइनान्सियल ट्रान्जेक्सन सेक्युरिटीलाई चुनौती दिने कुनै पनि स्थितिबाहेकको हकमा अरू देशका बाह्य मुद्दा र द्विपक्षीय मुद्दामा अब उपस्थिति देखाउनेछैन । यो पनि नेपालका लागि ठुलो भू–राजनीतिक दबाबबाट छुटकारा हो ।