विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचित थिए । पत्रिकाको हेडलाइनमा उनको भाषण छापिन थालेको धेरै भइसकेको थियो । एकपटक उनी कतै भाषण दिने सिलसिलामा रेलबाट यात्रा गरिरहेका थिए । केही क्षणमै टिकट निरीक्षक यात्रीको टिकट जाँच गर्नका लागि डब्बामा आइपुगे । उनले अन्य यात्रीलाई जसरी चर्चिलसँग पनि टिकट देखाउन आग्रह गरे ।
विन्स्टन चर्चिलले गोजीमा हात हाले, तर टिकट भेटेनन् । उनी चिन्तित भएर आफ्ना सबै गोजी र ल्याएका सामान निकालेर टिकट खोज्न थाले । टिकट निरीक्षकले उनलाई चिनिसकेका थिए । उनले मुस्कुराएर नम्रतापूर्वक भने, ‘भइगयो छाडिदिनुस् चर्चिल महोदय, मलाई थाहा छ तपाईंले टिकट अवश्य किन्नुभयो होला, तर कतै राखेर बिर्सनुभयो होला ।’
टिकट निरीक्षकको कुरा सुनेर चर्चिल एकक्षण रिसाए र फेरि गम्भीर स्वरमा भने, ‘टिकट निरीक्षकले माग्दा टिकट देखाउनु हरेक यात्रीको कर्तव्य हो । र, हरेक यात्रुको टिकट इमानदारीसाथ जाँच्नु टिकट निरीक्षकको पनि दायित्व हो । यसमा कुनै प्रकारको बहाना बनाउनु हुँदैन ।’ यति भनेर उनी फेरि टिकट खोज्नमा लागे र अन्ततः टिकट फेला पारेरै छाडे ।