
पशुपतिस्थित गौशाला धर्मशाला क्षेत्रमा रहेको अनधिकृत संरचना भत्काउन पुगेको काठमाडौं महानगरको डोजरलाई केहीबेर नियन्त्रणमा लिएर प्रहरीले फिर्ता गरेको छ । बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको दुईवटा डोजर साँझ फिर्ता गरेको हो ।
प्रहरीले फिर्ता गरेको डोजर काठमाडौं महानगरपालिका–८ कार्यालयमा राखिएको महानगर प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले बताए । ‘हामी नियमित कार्यक्रमअन्तर्गत अनधिकृत संरचना भत्काउन पुगेका थियौँ । अरू दिन कहिल्यै पनि प्रहरी नदेखिने उक्त क्षेत्रमा डोजर पुग्नुअघि प्रहरीको टोली बसेको थियो,’ शाहले भने, ‘हाम्रो डोजर पुगेपछि त्यहाँ बसेका प्रहरीले डोजरमै बसेर हाम्रो डोजर लगे । यसको महानगर घोर भत्र्सना गर्छ ।’
उनका अनुसार महानगरले जुनसुकै समयमा त्यस क्षेत्रको अनधिकृत संरचना भत्काउनेछ । गौशाला धर्मशाला क्षेत्रभित्र केही संरचना नक्सा पास नगरी बनेकाले उक्त संरचना भत्काउन महानगरको डोजर उक्त क्षेत्रमा गएको थियो । महानगरका अनुसार पशुपति क्षेत्र विकास कोषको अनुरोधमा उक्त संरचना भत्काउन डोजर गएको थियो ।
गौशाला धर्मशाला क्षेत्रमा कति अनधिकृत संरचना छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन । तर, शाहले भने नियमित कार्यक्रमअन्तर्गत डोजर गएको बताए । गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्न महानगरपालिका र कोषबिच गत मंगलबार सहमति पत्रमा हस्ताक्षर भएपछि महानगर र मारवाडी सेवा समितिबिचको विवाद बढ्दै गर्दा केन्द्र सरकार पनि विवादभित्र पसेको छ ।