संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति र आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नियमित सम्पर्क राखेको एक प्रसिद्ध पत्रकारले दाबी गरेका छन् । सन् २०२१ को जनवरीमा राष्ट्रपति निवास छोडेदेखि ट्रम्पले रुसी नेता पुटिनलाई कम्तीमा सातपटक फोन कल गरेको ८१ वर्षीय पत्रकार बब वुडवर्डले आरोप लगाएका छन् ।
सात फोन कलमध्ये एउटा कल यसै वर्ष (सन् २०२४)को सुरुमा भएको वुडवर्डले आफ्नो पुस्तक ‘वार’ मा दाबी गरेका छन् । रुसी नेतासँग कुरा गर्ने वेला ट्रम्पले कथित रूपमा आफ्ना एक स्टाफलाई ‘मार–ए–लागो’स्थित उनको कार्यालय छोड्न भनेको वुडवर्डको दाबी छ । ट्रम्पको चुनावी अभियानले भने उक्त आरोपलाई अस्वीकार गरेको छ । पूर्वराष्ट्रपतिका सञ्चार निर्देशक स्टिवन चेउङले वुडवर्डको पुस्तकमा उल्लेख भएको विवरण सत्य नभएको दाबी गरेका छन् । ती आरोप ‘ट्रम्प उन्मादबाट पीडित एकजना विकृत र विक्षिप्त व्यक्तिको काम’ भएको चेउङले टिप्पणी गरे ।
७८ वर्षीय ट्रम्प आफैँले पनि उक्त दाबीलाई अस्वीकार गरेका छन् । एबिसी न्युजसँग कुरा गर्दै ट्रम्पले वुडवर्डबारे भने, ‘उनी एक कथाकार हुन्, साथै खराब व्यक्ति पनि । उनले आफ्नो दिमाग गुमाएका छन् ।’ बुधबार रुसी प्रशासन क्रेमलिनले पनि पुटिन पूर्वअमेरिकी राष्ट्रपतिसँग नियमित सम्पर्कमा रहेको दाबीलाई अस्वीकार गर्यो । रुसको आरबिसी आउटलेटले पुटिन र ट्रम्पबिच फोन–संवादबारे सोधेको प्रश्नको जवाफमा रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘होइन, यो सत्य हुँदै होइन ।’
सन् १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनलाई पदमुक्त गर्न मद्दत गरेको चर्चित रिपोर्टिङ गरेका बब वुडवर्डले उनको पछिल्लो पुस्तक ‘वार’मा राष्ट्रपति निवास छोडेदेखि ट्रम्पले रुसी नेता पुटिनलाई कम्तीमा सातपटक फोन गरेको आरोप लगाएका छन् । चुनाव आउन केही साता मात्र बाँकी रहेको सन्दर्भमा यस आरोपलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
दाबीको दीर्घकालीन असर
यद्यपि, नोभेम्बर ५ मा अमेरिकाले आफ्नो चुनावको तयारी गरिरहेका वेला पुस्तकले गरेका दाबीले ट्रम्पलाई झट्का दिएको छ । वुडवर्ड अनुसन्धान रिपोर्टिङका लागि परिचित छन् । ‘वाटरगेट प्रकरण’ उनको अनुसन्धान रिपोर्टिङले बाहिर ल्याउन मद्दत गरेको थियो । सो रिपोर्टिङले सन् १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनलाई पदमुक्त गर्न मद्दत गरेको थियो ।उनै बुडवर्डको पछिल्लो पुस्तकले रुसी नेतासँग ट्रम्पको अनुचित घनिष्ठ सम्बन्ध रहेको चिन्तालाई जोड दिएको छ । ती आरोप सन् २०१६ सँग जोडिएका छन्, जतिवेला ट्रम्प पहिलोपटक राष्ट्रपतिका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यतिवेला, उनले आफ्नो डेमोक्रेटिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई निजी सर्भरबाट मेटाइएका भनिएका ‘हराएका इमेलहरू’ फेला पार्न मद्दत गर्न रुसलाई आह्वान गरेका थिए । अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई सहयोग गर्ने क्रममा मस्कोले अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको निष्कर्ष निकालेका छन् । तर, विशेष सल्लाहकार रोबर्ट मुलरले गरेको अनुसन्धानले ट्रम्पको टोली र रुसबिच कुनै षड्यन्त्र नभएको निष्कर्ष निकाल्यो ।
ह्वाइट हाउसमा पुनः फर्कने प्रयासबिच ट्रम्पले पुटिनसँग आफ्नो मित्रता रहेको कुरा भने अस्वीकार गरेका छैनन् । सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्यो, जुन विषयलाई ट्रम्पले विश्व मञ्चमा अमेरिकी नेतृत्वको कमजोरीको परिणामको रूपमा लिए । ट्रम्पले आफू राष्ट्रपति चुनिएमा २४ घन्टाभित्र युक्रेनमा जारी रुसी युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका छन् । यद्यपि त्यस्तो शीघ्र सफलताका लागि युक्रेनले रुसलाई आफ्नो ठुलो भूमि दिन तयार हुनुपर्ने किभका समर्थक विश्वास गर्छन् । आफ्नो भूमि छाड्न तयार नरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाएका छन् ।
गत महिना भएको राष्ट्रपतीय बहसमा ट्रम्प रुस–युक्रेनमा किभले युद्ध जित्नु अमेरिकाको हितमा रहेको स्वीकार गर्न तयार भएनन् । ‘म युद्ध रोक्न चाहन्छु । म जीवन बचाउन चाहन्छु । मलाई लाग्छ कि यो युद्ध समाप्त गर्न र यसलाई पूरा गर्नु अमेरिकाको उत्तम हितमा छ,’ उनले भने । एक दर्जनभन्दा बढी पुस्तक लेखिसकेका वुडवर्डको पछिल्लो पुस्तकमा सन् २०२० मा कोभिड महामारी फैलिन थालेपछि ट्रम्पको व्यक्तिगत प्रयोगका लागि पुटिनले कोभिड–१९ परीक्षण मेसिन पठाएको आरोप पनि लगाइएको छ ।
रुसी नेता पुटिनले ट्रम्पलाई कसैलाई नभन्न आग्रह गरेको भनिएको छ किनभने त्यसबारे खुलासा भयो भने मानिसहरू खुसी हुँदैनन् । मेसिनहरू कहिले पठाइयो भन्ने स्पष्ट छैन, तर अमेरिकी मिडियाले यसअघि अमेरिकाले रुसलगायत धेरै देशहरूमा परीक्षण मेसिन पठाएको रिपोर्ट गरेको थियो ।
‘ओबामाले पुटिनलाई गम्भीरतापूर्वक लिएनन्’
डेमोक्य्राटिक उम्मेदवार कमला ह्यारिसले पुस्तकमा गरिएका दाबीलाई चुनावी ‘मुद्दा’ बनाएकी छिन् । रेडियो होस्ट होवार्ड स्टर्नसँगको एक अन्तर्वार्तामा उनले ‘हत्यारा तानाशाह’लाई मेसिन दिएको आरोप लगाइन् । ‘यो व्यक्ति जो फेरि राष्ट्रपति बन्ने प्रयासमा छ, उसले गोप्य रूपमा एक प्रतिद्वन्दीलाई मद्दत गरिरहेको रहेछ । त्यो पनि त्यो वेला जतिवेला अमेरिकी जनता हरेक दिन सयौँको संख्यामा मरिरहेका थिए,’ उनले भनिन् ।
ट्रम्पका बारेमा विवादास्पद विषय उल्लेख गरेको वुडवर्डको पुस्तकले राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध र मध्य पूर्वको द्वन्द्वमा लिएको अडान पनि उल्लेख गरेको छ । यसमा अक्टोबर ७, २०२३ देखि गाजामा घातक सैन्य अभियानको नेतृत्व गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग बाइडेनको ‘निराशा र अविश्वास’को रिपोर्टहरू समावेश छन् । गाजामा लगभग ४२ हजार प्यालेस्टाइनीहरू मारिएका छन् । अमेरिकाको प्रयासका बाबजुद युद्धविराम हुन सकेको छैन । तनाव अहिले छिमेकी लेबनानमा समेत फैलिएको छ । पुस्तकमा भनिएको छ कि अमेरिकी राष्ट्रपति बाइडेनले गोप्य रूपमा नेतन्याहुलाई ‘कुतियाको छोरा’ र ‘खराब मानिस’ भने । नेतन्याहुले आफूसँग ‘नियमित रूपमा झुट बोल्ने गरेको’ बाइडेनको विश्वास रहेको पुस्तकमा उल्लेख छ ।
पुस्तकअनुसार सन् २०१४ मा क्रिमियामा पुटिनको आक्रमण रोक्न असफल भएकोमा डेमोक्य्र्राटिक राष्ट्रपति बाराक ओबामाको आलोचना गरे । बाइडेन ओबामाको शासनमा उनका उपराष्ट्रपति थिए । ओबामाले पुटिनलाई कहिल्यै गम्भीर रूपमा नलिएको पुस्तकको दाबी छ ।
अलजजिराबाट