मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Saturday, 21 December, 2024
इजरायल र प्यालेस्टिनी इस्लामी समूह हमासबिचको द्वन्द्व जारी रहँदा दक्षिणी गाजापट्टीको खान युनिसमा क्षतिग्रस्त संरचनाबाट सुरक्षित क्षेत्रतर्फ जाँदै एक बालक । तस्बिरः एपी
२o८१ असोज २२ मंगलबार o८:१o:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायल–गाजा युद्धको एक वर्ष : युद्धविरामको सम्भावना अझै क्षीण,  दुवै पक्ष आ–आफ्ना अडानमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o८:१o:oo

अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ । एक वर्षअघि हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो । आक्रमणमा १२ सय पाँचजनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाई आक्रमणकारी लडाकु समूहले लगेका थिए ।

हजारौँ युवा सांगीतिक माहोलमा रमिरहेका वेला हमास तथा अन्य सशस्त्र प्यालेस्टिनी लडाकु समूहले दक्षिण इजरायलमा नोभा संगीत महोत्सवको स्थल किब्बुट्ज रिमलगायत स्थानमा रक्तपात मच्चाएको थियो । आक्रमण र आफ्ना प्रियजनको दुःखद सम्झना गर्दै सोमबार सयौँ इजरायली नरसंहार स्थलमा भेला भई श्रद्धाञ्जली व्यक्त गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूले सोही स्थानमा उक्त दिन हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । आक्रमणस्थलमा नै उनीहरूले आफ्ना प्रियजनको विगत र वर्तमान अवस्थाको सम्झना गरे । 

प्यालेस्टिनी लडाकुले गाजापट्टीमा गरेको आकस्मिक आक्रमणको वर्ष दिनको सम्झनामा इजरायल र विश्वभरका सहरमा श्रद्धाञ्जली सभाका साथै बन्धकको रिहाइका लागि आवाज बुलन्द पारिएको छ । राष्ट्रपति आइज्याक हर्जोगले नोभा संगीत महोत्सवको स्थल किब्बुट्ज रिममा मौनधारण गरी दिनको सुरुवात गरेका थिए । उक्त स्थलमा हमासका लडाकुले गरेको सबैभन्दा घातक आक्रमणमा कम्तीमा ३७० जनाको मृत्यु भएको थियो । गाजापट्टीमा एक वर्षको युद्धपछि प्यालेस्टिनी जनताको समर्थनमा आवाज उठाउन र हमासको आक्रमणमा मारिएकालाई श्रद्धाञ्जली दिन आइतबार विश्वभरका सहरमा कार्यक्रम भएका छन् । गत वर्षको आक्रमणपछि हमासले इजरायललाई उसको सेना पूर्णरूपमा फिर्ता बोलाउन माग गरिरहेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन् ।

ठूलो मानवीय र भौतिक क्षति : हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झन्डै ४१ हजार व्यक्तिको मृत्यु भएको बताएका छन् । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।

आक्रमणका क्रममा प्यालेस्टिनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामका क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएका थिए । गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित ६ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो ।

संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्, ‘१२ महिनाको समय काफी हो । यसलाई अब कसैले पनि सहज लिन सक्दैन । अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ ।’ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैंकमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीले बताएका छन् ।

युद्धविरामको सम्भावना न्यून : जारी युद्धबिच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायत मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकको रिहाइको आशाको कुनै संकेत देखिएको छैन । इजरायलमा रहेका कैदीको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आ–आफ्नो अडानमा अडिग छन् । इजरायलले गाजामा युद्ध गरिरहेको र लेबनानको उत्तरमा हमासको सहयोगी हिजबुल्लाहविरुद्ध नयाँ युद्ध भइरहेको छ । गाजा र लेबनानकेन्द्रित युद्ध जारी रहँदा दिगो शान्तिको अवाजलाई पक्षधरताले छायामा पारेको छ । गत हप्ता इरानले इजरायलविरुद्ध गरेको क्षेप्यास्त्र आक्रमणलाई लिएर उसले तेहरानविरुद्ध पनि प्रतिशोधको तयारी गरिरहेको छ । यसले अझ व्यापक द्वन्द्वको आशंका बढाएको छ ।

इजरायली सेनाले सोमबार गाजाबाट कम्तीमा चारवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ र यसले गाजापट्टीभरि हमासको प्रक्षेपण चौकी र भूमिगत आतंकवादी संरचनामा आक्रमण गरेको जनाएको छ । हमासको सशस्त्र शाखाले एक विज्ञप्ति जारी गर्दै आफ्ना लडाकुले गाजासँगको सीमानजिक रफाह, केरेम सालोम र किब्बुट्ज होलिट सीमामा ‘शत्रुको जमघट’लाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ । उत्तरी इजरायलमा सोमबार बिहान व्यापक साइरन बजेको र छिमेकी लेबनानबाट दैनिक रकेट प्रहार हुने गरेको सेनाले जनाएको छ ।

युद्ध अन्त्य गर्न पश्चिमा राष्ट्रहरूको माग : पश्चिमा राष्ट्रहरूले इजरायल–हमास युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् । युद्धविराम रोकेर सम्बन्धित पक्ष वार्तामा आउनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले माग गरेका हुन् । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबिचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित हुनुपर्ने र गाजामा यथाशिध्र युद्धविराम गरिनुपर्ने बताए । गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उनले बताए । युद्धविरामको विकल्प नरहेको उनले बताए । प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक वर्ष पुग्नुभन्दा एक दिनअगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेखेका छन्, ‘यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ ।’

‘इजरायल र मध्यपूर्व हाम्रो देशको इतिहासबाट अविभाज्य मात्र होइनन्, उनीहरूको हाम्रो बहुसांस्कृतिक समाजसँग गहिरो सम्बन्ध छ,’ स्टार्मरले भने, ‘लाखौँको यस क्षेत्रसँग पारिवारिक सम्बन्ध छ ।’ अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले गाजापट्टीमा निरन्तर बमबारी गर्दै आएको छ । पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकु समूह हेजबोल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ ।