नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएसँगै झरीको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिन थालेकामा आइतबार कर्णाली र लुम्बिनीका पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन भएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अबको एक सातामा नेपालको पूरै भूभागबाट बाहिरिने आकलन गरिएको छ ।
मनसुनी वायु कमजोर हुन थालेकाले अब छिटफुट र हल्काबाहेक ठुलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । ‘मनसुन बाहिरिँदैमा पानी नै पर्दैन भन्ने होइन । मध्य र पूर्वी नेपालमा त अझै मनसुन कायमै छ, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ,’ लामिछानेले भने, ‘तर, झरी वा बाढीपहिरो आउने खालको पानी पर्ने देखिँदैन ।’
तर, यसअघि पहिरो खसेको क्षेत्रमा भने ३०–४० मिलिमिटरसम्मको वर्षाले पनि पहिरो ल्याउन सक्ने जोखिम हुने भएकाले हरेक दिन मौसमी बुलेटिन हेरेर यात्रा गर्न उनले अनुरोध गरे । लामिछानेका अनुसार नेपालमा प्रत्यक्ष असर गर्ने खालको ठुलो मौसमी गतिविधि तत्काल छैन ।
नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो भने भित्रिने औसत मिति जुन १३ हो । पश्चिमी वायुले मनसुनी वायु विस्थापित गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिन्छ । मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु हुन्छ । पोस्ट मनसुनमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहन्छ, तर मनसुनको जस्तो ठुलो वर्षाको सम्भावना कम हुन्छ ।
यसपालिको मनसुनमा ११५.३ प्रतिशत वर्षा
यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले गत जेठमा आकलन गरेझैँ औसतको ११५.३ प्रतिशत अर्थात् १७०६.२ मिलिमिटर वर्षा भएको हो । नेपालमा वार्षिक वर्षाको ८०.५ प्रतिशत अर्थात् एक हजार ३७४.१ मिलिमिटर वर्र्षालाई औसत मानिएको छ । तर, त्योभन्दा १० प्रतिशतभन्दा धेरै वर्षा भएमा औसतभन्दा बढी वर्षा मानिन्छ ।
‘यो देशका मुख्य २० वटा स्टेसनको औसत वर्षा हो, यसैलाई राष्ट्रिय मापदण्ड मान्छौँ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘मनसुनी वायुको प्रभाव अझै कायमै भए पनि हामी मनसुनको अवधि (१९ जेठदेखि १४ असोज) मा भएको वर्षालाई आधार मान्छौँ । अहिले मनसुनी वायुको प्रभावले वर्षा भए पनि यो पोस्ट मनसुनमा गणना हुन्छ ।’
यी २० वटा स्टेसनमध्ये धनकुटा, ताप्लेजुङ, दिपायल, सुर्खेत, दाङ, भैरहवा, ओखलढुंगा, जोमसोम, काठमाडौं, नेपालगन्ज र पोखरामा औसतभन्दा धेरै वर्षा भएको छ । तर, सिमरामा र जनकपुरमा मनसुनभर औसतभन्दा कम वर्षा रहेकामा अन्तिममा आएर औसत पानी परेको छ । जोमसोम र ओखलढुंगामा अन्तिममा आएर अत्यधिक वर्षा भएको छ । तर, जुम्ला र लुम्लेमा भने औसतभन्दा कम वर्षा भएको छ । गत वर्ष मनसुनमा एक हजार ४७२ र त्यसभन्दा अघिल्लो ०७९ मा एक हजार ३३५.२ मिलिमिटर वर्षा भएको थियो । ०७८ मा एक हजार ६२० मिलिमिटर (११५.५ प्रतिशत) वर्षा हुँदा देशभर बाढीपहिरोको कहर भएको थियो ।
रोजन लामिछाने, मौसमविद्
मनसुन बाहिरिँदैमा पानी नै पर्दैन भन्ने होइन । मध्य र पूर्वी नेपालमा त अझै मनसुन कायमै छ, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ । तर, झरी वा बाढीपहिरो आउने खालको पानी पर्ने देखिँदैन ।
यसपालिको मनसुनमा ११५.३ प्रतिशत वर्षा
यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले गत जेठमा आकलन गरेझैँ औसतको ११५.३ प्रतिशत अर्थात् १७०६.२ मिलिमिटर वर्षा भएको हो । नेपालमा वार्षिक वर्षाको ८०.५ प्रतिशत अर्थात् एक हजार ३७४.१ मिलिमिटर वर्र्षालाई औसत मानिएको छ । तर, त्योभन्दा १० प्रतिशतभन्दा धेरै वर्षा भएमा औसतभन्दा बढी वर्षा मानिन्छ ।