१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Saturday, 12 October, 2024
लोकबन्धु घिमिरे
२o८१ असोज १५ मंगलबार o८:o१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जनस्वास्थ्य र वातावरणीय लाभका लागि जैविक प्लास्टिक   

Read Time : > 5 मिनेट
लोकबन्धु घिमिरे
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o८:o१:oo

अजैविक प्लास्टिकबाट छिटो मुक्त हुन वानस्पतिक र प्राकृतिक तबरमा कुहिने बायोजैविक प्लास्टिक उत्पादनमा तीव्रता दिनुको विकल्प छैन

अजैविक प्लास्टिक, गम्भीर वातावरणीय समस्या : ‘प्लास्टिक फ्री जोन– सिंहदरबार’ भनी सिंहदरबारलाई अजैविक प्लास्टिकबाट मुक्त गर्ने अभियान सुरु हुनु राम्रो सुरुवात होे । यस्तो व्यवस्था नेपालभर गर्नुपर्छ । ‘प्लास्टिक फ्री जुलाई’ अभियान विगत सात वर्षयता युएनलगायत १९३ देशले सञ्चालन गरिरहेका पनि छन् । अहिले सहरबजारदेखि गाउँघरसम्म जताततै बोतल अनि प्लास्टिकको थुप्रो मात्र देखिन्छ । चाउचाउ, आलुचिप्स र पानपरागका खोल अनि प्लास्टिकका झोला त जताततै भेटिन्छन् । भर्खरै कोशीको पुलमा चढेको बाढीपछिको एउटा तस्बिर हेर्दा त्यहाँ सयौँ प्लास्टिकका बोतल देखिन्छन् । सहरमा मात्र नभई प्लास्टिक प्रदूषणको समस्या गाउँघरमा पनि उत्तिकै फैलिइसकेको छ । गाउँमा पर्याप्त वनजंगल छ, नजिकै सालका रुख छन्, खन्यु र हात्तीकानेका छाता जत्रा पात छन् र भोर्लाका झनै ठुला गोलाकार पात त कतिकति । यतिका जैविक साधनस्रोत भईकन पनि नेपालमा अजैविक प्लास्टिकको प्रयोग किन बढेको होला ? अजैविक प्लास्टिकले कृषि, माटो, नदी, प्राकृतिक इकोसिस्टम त बिगार्छ नै, अझ यसमा रहेका ‘एक्टिभ टक्सिक केमिकल’ले छिटै क्यान्सर रोगसमेत निम्त्याउँछ भनेर प्रचारप्रसार भएन कि ? जनचेतना कम पो भएछ कि ? जनस्वास्थ्यका दृष्टिले प्लास्टिक अति नै घातक छ भन्ने सन्देश चुस्त भएन कि ? सरकारले ०७८ असोजको राजपत्रमा सूचना निकालेर ४० माइक्रोनमुनिका प्लास्टिक झोला नेपालभर बन्देज लगाएको भए पनि मानिसले प्लास्टिक प्रयोग गर्न छोडेको देखिन्न । मानिसले जानाजान विषपान किन गरिरहेका होलान् ? 

‘ओकेड’ले प्रकाशित गरेको ग्लोबल प्लास्टिक आउटलुक २०२२ अनुसार संसारभर यतिखेर ८.३ बिलियन टन प्लास्टिकको थुप्रो रहेको छ । प्लास्टिकको ग्लोबल वार्षिक उत्पादन यतिवेला ४०० मिलियन टन रहेको छ । यो प्लास्टिक ब्याग र थैलाका रूपमा २२ प्रतिशत, ¥यापिङ पेपर ३९ प्रतिशत, बोतल ११ प्रतिशत र बाँकी २८ प्रतिशत अन्य प्रयोगमा खपत भइरहेको देखिन्छ । सामान्यतः प्लास्टिकमा ‘प्लास्टिसिटी’ (जता पनि मोडिने, तन्कने, जुनसुकै आकार बनाउन सकिने उच्च लचकदार प्रकृति) को गुण रहेकाले यसको नामकरण पनि यसैगरी भएको हो । खासमा प्लास्टिक रेजिन वा फोसिल फ्युल (हाइड्रोकार्बन– जसमा कार्बन र हाइड्रोजनको यौगिक हुन्छन्) का विभिन्न उप–उत्पादन र शेष ‘रेसिड्यू’बाट बनाइन्छ । यसलाई पोलिमर पनि भनिन्छ । यसमा लामो कार्बन चेन भएकाले यसको मोेलिकुलर तौल धेरै हुन्छ । ‘पोलिइथाइलिन’ भनेर पनि प्लास्टिकको नाम लिइन्छ । सन् १८४६ मा जर्मन रसायनशास्त्री क्रिस्टियन स्कोबियनले पोलिमर प्लास्टिक आविष्कार गरेपछि यो आमप्रचलनमा आयो । अहिले यो घरेलु खपतदेखि औद्योगिक खपतमा यत्रतत्र देख्न पाइन्छ । बढीजसो सिंगल युज ब्याग (४० माइक्रोनमुनिको झोला) र प्लास्टिक थैला, पानीलगायत पेयपदार्थका बोतल, विभिन्न भाँडा, बिजुलीका सामान, कृत्रिम कपडा, सवारीसाधनका सिट कभर, विविध पाइप, मेडिसिनको साधन, प्लेट, कप, चम्चालगायत खाद्यान्नका धेरैखाले प्याकेज सामानमा प्रयोग भएको देखिन्छ । अहिले संसारले पाँच ट्रिलियन प्लास्टिक झोला हरेक वर्ष प्रयोग गर्छ । यसरी प्रयोग हुने प्लास्टिकलाई पुनः प्रयोगमा नल्याई यत्रतत्र फ्याँक्नाले वातावरणीय समस्या आएको हो । प्लास्टिक ‘नन–बायोडिग्रेडिबल’ हुने भएकाले जब माटोमा पस्छ, अनि यो कुहिन (डिकम्पोज/कम्पोस्टिङ हुन) १०० वर्ष बढीसम्म लगाउँछ । यसले माटो प्रदूषण गर्छ । फलस्वरूप सोइल बायोटा (गड्यौला, फन्जी, अल्गी, ब्याक्टेरिया आदि) को संख्यामा उल्लेख्य कमी ल्याउँछ । यसले माटोको अग्र्यानिक कम्पोजिसनमा कमी ल्याउँछ अनि उर्वरता/उत्पादकत्व दुवै घटाउँछ । यसबाट खाद्यान्न संकट बढ्छ । जब प्लास्टिक नदीनाला र सिमसार क्षेत्रमा थुप्रिन्छ, त्यहाँको पानीमा अक्सिजन घटाउँछ र रासायनिक प्रदूषण बढाउँछ, जसले ‘फाइटो प्लांगक्टन’ घटाई जलचर प्राणी (माछा, सर्प, भ्यागुता) को संख्यामा ह्रास ल्याउँछ । प्लास्टिक जलाउँदा हावामा विषाक्त कार्बन मोनोअक्साइड उत्सर्जन गरी डरलाग्दो वायु प्रदूषण गराउँछ । अझ कार्बन मोनोअक्साइडले फोक्सोको क्यान्सर बढाउँछ । 

नेपालमा प्लास्टिक खपतको अवस्था : सेन्टर फर पब्लिक हेल्थ एन्ड इन्भायरन्मेन्ट डेभलपमेन्ट (सिफेड) ले सन् २०२२ मा गरेको अध्ययनबाट नेपालमा प्रतिवर्ष प्लास्टिकजन्य वस्तुको उत्पादन एक लाख ६५ हजार टन रहेको छ । यसको कच्चा पदार्थ र पोलिथिन पाइप, भुइँस्लेट, सेनिटरी, प्लास्टिक सिट कभर, थैला आदि तयारी प्लास्टिकजन्य वस्तु प्रशस्तै आयात हुन्छन् । इसिमोडको अध्ययनले नेपालले गार्बेजका रूपमा प्रतिदिन २.७ टन प्लास्टिक निकाल्छ । यी अध्ययनमा पोलि इथाइलिन र पोलि–प्रोप्लाइलिनको अनुपात बढी देखाएका छन् । सिंगल युज प्लास्टिकका सन्दर्भमा आशिष खनाल (टेरी इन्स्टिच्युट २०१७) को अध्ययनले नेपालमा प्रतिव्यक्ति प्लास्टिक थैला खपत २०८ वटा प्रतिवर्ष देखाएको छ । 

माइक्रो–प्लास्टिकको प्लास्टिक आतंक : माटोमा डिकम्पोज हुन नसकी जब प्लास्टिक टुक्राटुक्रा भई सूक्ष्म पार्टिकल (पाँच मिमीभन्दा कम लम्बाइ) को अवस्थामा आउँछ, यसलाई नानो/माइक्रो–प्लास्टिक भनिन्छ । यी यति गतिशील हुन्छन् कि जता पनि फैलिन्छन् । भान्सा, बैठक कोठा, क्याबिन, प्याकेजका खानेकुरालगायत सर्वत्र पस्छन् र फुड चेनका माध्यमबाट मानिसका संवेदनशील अंग (मुटु, कलेजो, किड्नी, ब्रेन), वीर्य, ¥याल, रगत, पेट, गर्भाशयलगायत पुग्छन् । यो जनस्वास्थ्यका दृष्टिले अति घातक छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९८० पछि जन्मेका सबै मानिसको पेटमा माइक्रो प्लास्टिक गएको छ । 

प्रतिवर्ष एक व्यक्तिले एक क्रेडिटकार्ड (पाँच ग्राम) बराबर यो निलेको अवस्था छ । यसरी मानिसले प्लास्टिक खाइरहेका छन् भने अन्य समुद्री जीवजन्तु, वन्यजन्तु, गाईभैँसी, बाख्रा, कुखुरासमेतले प्लास्टिक खाइरहेका छन् । खासगरी सिंगल युज प्लास्टिक छिटो टुक्रिन्छ । यसमा (क) पिइटी समूह (पोलिइथाइलिन टेरेप्थालेप), मा पेयपदार्थका बोतल पर्छन् । (ख) एडिपिई समूह (लो डेन्सिटी पोलिइथाइलिन) मा तापक्रममा छिटो गल्ने प्लास्टिक थैला, झोला, ट्रे आदि पर्छन् । (ग) पिपी समूह (पोलिप्रोपलाइन) मा जंकफुडका प्याकेट पर्छन् । (घ) पिएस (पोलिस्टरिन) समूहमा प्लास्टिक थाल, कप, चम्चा, प्लेट आदि पर्छन् । यी चारै समूहमा २–कार्बन र २– हाइड्रोजन हुन्छ । यो जल्दा कार्बन उत्सर्जन हुन्छ । यसर्थ जनस्वास्थ्यका लागि त यी चारैखाले प्लास्टिक खतरनाक त छन् नै, अनि जलवायु परिवर्तनका लागि पनि यो उत्तिकै जिम्मेवार छन् । डब्लुएचओले तयार गरेको श्रेणीअनुसार नेपालमा प्रयोग हुने प्लास्टिकमा पाइएका मुख्य घातक रसायन यस्ता छन् :

१) बिपी–ए (बिस्फिनोल ए) : यसको प्रयोग प्लास्टिकलाई कडा पार्न मिसाइन्छ । पानीको बोतल, फुड बेभरेज कन्टेनर, आइग्लास, पानीको पाइपलगायत बनाउँदा यो राखिन्छ । यो मानव स्वास्थ्यका लागि अति घातक हुन्छ । जसले मस्तिष्क विकासमै अवरोध गर्छ । डिप्रेसन र तनाव पैदा गर्छ । प्रजनन क्षमता घटाउँछ र पोलिसिस्ट ओभरी सिन्ड्रोम ल्याउँछ । मानिसलाई बाँझोपनको सिकार गराउँछ ।

२) अल्काइल फेनोल : यो रसायन रङरोगन, पेन्ट र कोटिङमा राखिन्छ । यसले पुरुषमा शुक्रकीट उत्पादन कम गरी प्रजनन क्षमतामा ह्रास ल्याउँछ र महिलामा स्तन क्यान्सर बढाउँछ । 

३) प्याथालेट्स : यो रसायन प्लास्टिकको लचकदार क्षमता बढाउन राखिन्छ । बढीजसो मेडिकल क्षेत्रमा प्रयोग गरिने ट्युब र पाइपलगायत वस्तुमा यो मिसाइन्छ । यसले टेस्टोस्टोरेन र थाइरोइड हर्मोन उत्पादन घटाउँछ । मधुमेहको जोखिम उच्च बढाउँछ । 

४) परफुल्नेटेड यौगिक (पिएफ ए) : यो रसायन कपडाको दाग हटाउन, कार्पेट नरम र चम्काउन तथा भुवा निकाल्न राखिन्छ । यसले इम्युन सिस्टम ध्वस्त गर्छ, लिभर र किड्नी बिगार्छ, महिनाबारी गडबढ गर्छ । 

५) डाइअक्सिन : यो रसायन बच्चाको खैलौनामा प्रयोग गरिन्छ । यो विषालु रसायनमध्ये एक हो । यो जनावर र मानिसको शरीरभित्र बोसोमा गएर बस्छ । यसले क्यान्सरको जोखिम उच्च बनाउँछ र मस्तिष्क विकास रोक्छ ।

६) सिसा : यो रसायन पनि प्लास्टिकमा पाइन्छ, यसले रगत, हड्डी र किड्नीलाई नोक्सान गर्छ ।

७) पोलि–फ्लुरोएल्काइल यौगिक : यो रसायन स्याम्पुको फिँज निकाल्न र स्टिल भाँडा/तावाहरू ‘ननस्टिकी’ बनाउन राखिन्छ । यसले हर्मोन उत्पादनलाई रोक्छ । 

८) एक्राइलिन : यो टुथपेस्ट र मोस्चराइजर आदिको पोलिट्युब बनाउँदा उपयोग हुन्छ । यसले श्वासप्रश्वासमा असर गर्छ, फोक्सो बिगार्छ, छालाको क्यान्सर निम्त्याउँछ । 

जैविक प्लास्टिकको विकल्प : परम्परागत अजैविक प्लास्टिकबाट छिटोभन्दा छिटो मुक्त हुन संसारभर वानस्पतिक र प्राकृतिक तवरमा कुहिन सक्ने बायो–जैविक प्लास्टिकको उत्पादन र अनुसन्धानलाई तीव्र बनाइएको छ । कतिपय जैविक रेसा उद्योग स्थापना भएका छन् । जैविक प्लास्टिकलाई दुई समूहमा राखिएको छ– क) बायोबेस्ड प्लास्टिक, ख) बायो डिग्रेडेबल प्लास्टिक । जैविक पिण्ड र वानस्पतिक पदार्थको सम्मिश्रणबाट तयार हुने र चाँडै कुहिने भएकाले बायो बेस्डभन्दा बायो डिग्रेडेबलले दिगो समाधान दिन्छ । यसले जनस्वास्थ्य र वातावरणीय लाभ पनि सिर्जना गर्छ । वैज्ञानिकले मकै, गहुँ, जौ, कोदो, उखुजस्ता अन्न र वनस्पतिबाट ‘पोलिलेक्टिक एसिड (पिएलए)’ र ‘पोलिबुरेलिन एसिड’ एवं ‘स्टार्च’जन्य पदार्थ निकाली जैविक प्लास्टिक बनाएका छन् । 

चीनले यतिखेर युरोपले भन्दा बढी बायो–प्लास्टिक उत्पादन गर्छ । अहिले यसको वार्षिक उत्पादन दुई मिलियन टन रहेको छ र यो तीव्र रूपमा बढ्दै छ । नेपालले ४० माइक्रोनमुनिका थैलामा प्रतिबन्ध लगाए पनि विकल्प दिन नसक्दा अजैविक प्लास्टिकको उपभोग नघटेको हो । अब हामीले जैविक प्लास्टिक उत्पादनलाई उच्च प्राथमिकीकरण गर्नुपर्छ । हामीले बायो–डिग्रेडेबल झोलाको प्रयोग बढाउँदै दुना, टपरी र बाँसबाट बनेका वस्तुलाई तत्काल प्लास्टिकको विकल्पमा लिनुपर्छ । हामीसँग प्रशस्त वनजंगल र वनस्पति छन् । जौ, कोदो र मकैको उत्पादन पनि राम्रै हुन्छ । पहाडी क्षेत्रमा मकै फल्ने बारी यथेस्ट छ । 

भ्युटावरजस्ता अनुत्पादक काममा भन्दा सोही पैसाले स्थानीय तहले एउटा बायो–प्लास्टिक उद्योग स्थापना गर्न सक्छन् । अनि थ्रीआर (रिसाइकल, रियुज, रिड्युस) उद्यम पनि गर्न सक्छन् । यो काम निजी क्षेत्रले पनि गर्न सक्छ । यतिखेर नै वन तथा वातावरण मन्त्रालय, कलेज र विश्वविद्यालय हरित अनुसन्धानमा लाग्नुपर्छ । पर्याप्त बायो उत्पादनलाई छिमेकी देशमा निर्यात गर्न सकिन्छ । यतिवेला बायो–प्लास्टिकको बजार राम्रो छ, जसले वार्षिक १२ बिलियन डलरको अजैविक वैश्विक बजारलाई प्रतिस्थापन गर्न सक्छ । यसले एकातिर जनस्वास्थ्य र पर्यावरणको रक्षा गर्छ भने अर्कातिर गाउँघरमै रोजगारी र अतिरिक्त आम्दानी सिर्जना गर्छ ।