१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज १५ मंगलबार o६:१३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नौजनाको परिवारमा जोगिएका एक्ला माइला 

पुरिएको आठ घण्टापछि ८१ वर्षीय दुधिराजको उद्धार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o६:१३:oo

भारी वर्षा भइरहेकाले शुक्रबार दिउँसो सबै घरमै थिए । तर, अचानक विपत् आइलाग्यो, पछाडिबाट पहिरो खसेर घर पुरियो । झ्यालबाट हामफालेर माइलाले ज्यान जोगाए, अरू सबै घरभित्रै पुरिए ।

काभ्रेको तेमाल गाउँपालिका– २ का माइला तामाङको नौ सदस्यीय परिवार थियो । उनीसहित श्रीमती, आमा, बुबा, भाइ, बुहारी र तीन छोराछोरी रहेको संयुक्त परिवार थियो । भारी वर्षा भइरहेकाले शुक्रबार दिउँसो सबै घरमै थिए । तर, अचानक विपत् आइलाग्यो, पछाडिबाट पहिरो खसेर घर पुरियो । झ्यालबाट हामफालेर माइलाले ज्यान जोगाए, अरू सबै घरभित्रै पुरिए ।

आइतबार हेलिकोप्टरबाट उद्धार भएपछि धुलिखेल अस्पतालमा उपचाररत माइलाले त्यो भयानक क्षण सम्झिए, ‘बिहीबारदेखि नै पानी परिरहेको थियो । शुक्रबार झन् ठुलो वर्षा भएपछि सबैजना घरभित्रै गफगाफ गर्दैै थियौँ । अचानक घरमा पहिरो खस्यो । म झ्यालबाट हामफालेँ । भाग्दाभाग्दै मेरो पनि आधा शरीर पुरिएको थियो । हातले पन्छाएर निस्किएँ ।’

घरभित्रै पुरिएका आठमध्ये तीनजनाको शव निकालिएको छ भने पाँचजना अझै पहिरोभित्रै छन् । घाइते माइलालाई शरीरभरि लागेको चोटले भन्दा सिंगो परिवार गुमाउँदाको चोटले बढी पीडा दिएको छ । अस्पतालको शड्ढयामा उनी घरि बर्बराउँछन्, घरि टोलाउँछन् । ‘मेरो परिवारै छैन त म बाँचेर के गर्नु ?’ उनी आफ्नो भाग्यलाई दोष दिन्छन् । 

काभ्रेमा मृतक ५९ पुगे
काभ्रेमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेको संख्या ५२ पुगेको छ भने अझै चारजना बेपत्ता रहेको छ । २८ घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक भेन्टिलेटर र एक आइसियूमा छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढीपहिरोका कारण जिल्लाभर अलपत्र परेका तीन हजार ७२५ जनाको उद्धार भएको छ । जसमा हेलिकोप्टरबाट ४५१ र अन्य माध्यामबाट तीन हजार २७४ को उद्धार भएको छ । 

धुलिखेल–भकुन्डे सडकखण्ड एकतर्फी सञ्चालन, अलपत्र भएको चार दिनपछि उद्धार
बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी सडकखण्ड सोमबारदेखि एकतर्फी सञ्चालन भएको छ । यो खण्डमा काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेँसीसम्म ठाउँ–ठाउँमा गरी ७५० मिटरमा अवरोध भएको थियो । 

त्यस्तै, भारतको गुजरातबाट पशुपति दर्शनका लागि आएका तीर्थयात्रीहरूको चार दिनपछि उद्धार भएको छ । गुजरातबाट करिब ३० व्यक्ति पशुपति तीर्थाटनका लागि बिहीबार निस्किएका थिए । सोही दिन साँझ रोशी गाउँपालिका– ११, कालढुंगामा आइपुुगेका उनीहरू फसेका थिए । जाममा परेका उनीहरू बाढीले गाडी बगाउन थालेको सूचना पाएपछि नजिकै विद्यालयमा गएर बसेका थिए । निरन्तर पानी परेपछि त्यहीँ फसेका उनीहरूको सोमबार हेलिकोप्टरबाट उद्धार भएको हो । भूतपूर्व भारतीय सेना बताउने देवराज पटेलले चार दिनसम्म खान पनि नपाएको बताए । 

बिपी राजमार्गमा अलपत्र परेका करिब पाँच सय यात्रु हिँडेरै काठमाडौंतर्फ लागेका छन् । उनीहरू कालढुंगाबाट हिँडेर भकुन्डेमा वास बसी नमोबुद्ध दाहाटारसम्म हिँडेर त्यसपछि बसमा यात्रा गरेका छन् । 

पुरिएको आठ घण्टापछि ८१ वर्षीय दुधिराजको उद्धार
जिल्लागत तथ्यांक हेर्दा बाढी–पहिरोले सबैभन्दा धेरै मानवीय क्षति काभ्रेमा पुर्‍यायो । पाँचजनाको परिवार रहेको रोशी गाउँपालिका– ९ रजवासका ८१ वर्षीय वृद्ध दुधिराजज्यू ठकुरीको घरमा पनि संकट भित्रियो । शुक्रबार बिहान ८ बजेतिर पहिरोले घर पुरेपछि घरभित्रै उनी र श्रीमती लक्ष्मी शाह ठकुरी पनि पुरिए । लक्ष्मीको मृत्यु भयो, अरू तीन सदस्य आफैँ निस्किए । तर, पहिरो पन्छाएर निस्किने दुधिराजको प्रयास सफल हुन सकेन । आठ घण्टापछि अपराह्न ४ बजेमात्रै उनको उद्धार भयो ।

हाल धुलिखेल अस्पतालमै उपचाररत दुधिराजले त्यो आठ घण्टाको कहानी सुनाए, ‘आफ्नै घरभित्र आठ घण्टासम्म पुरिएर बाँच्न लेखेको रहेछ । पुरिएको अवस्थामा पनि आफूमाथि मान्छेहरू हिँडेको, बोलेको सबै सुन्थेँ । तर, मैले बोलाउँदा बाहिरका कसैले सुन्दैनथे । पछि पहिरो खोतलेर मलाई निकाले । श्रीमती जीवित नरहेको सुनेपछि मलाई आफू बाँचेकोमा खुसी लागेन ।’