
गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।
शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए। ‘दुईजनाको नेपाली सेनाको हेलिकोप्टरबाटसमेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।’ गृहमन्त्री लेखकले भने, ‘मुलुकमा ठुलो विपद्को स्थिति आएको छ।’
मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको उनले बताए। ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले भने,‘ उद्धार र राहतलगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ।’
वर्षाका कारण काठमाडौं भित्रिने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। ‘विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ,’ उनले भने,‘ बाढी, पहिरोलगायत विपद्सम्बन्धी पूर्वसूचना जारी गर्ने काम पनि हुँदै आएको छ।’
उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाइ थियो।
उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’ २४सै घण्टा सक्रिय बनाइने बताए। ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्धारमा समेत समस्या भयो, ’उनले भने, ‘स्थलगत रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकोप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्ने गरी सुरक्षा निकाय परिचालन भएको छ।’