१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १७:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या बागमतीमा बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १७:३२:oo

बागमती प्रदेशमा २० वर्षमुनिको उमेरमा गर्भपतन गराउने महिलाको संख्या बढ्दो देखिएको छ। स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष ०८०/८१ को तथ्यांकअनुसार सुरक्षित गर्भपतन सेवा लिएकामध्ये ७.१ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन्।

नेपालमा प्रत्येक वर्ष करिब ८ लाख महिला गर्भवती हुने गर्दछन्। त्यसमध्ये करिब ९० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको सरकारी तथ्यांकले देखाएको छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीका अनुसार १५ देखि ४९ वर्ष उमेरका महिलाहरूमध्ये ९ प्रतिशतको गर्भ खेर जाने तथा १० प्रतिशतले गर्भपतन गर्ने गरेको देखिन्छ। यसका साथै गर्भपतन सेवाबारे जानकारीको अभावमा समेत स्वास्थ्यमा समस्या देखिने गरेको पाइएको छ। विभागको तथ्यांकअनुसार प्रजनन उमेरका केवल ४१ प्रतिशत महिलाहरूलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ।

त्यस्तै, ४८ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध हुन्छ भन्ने जानकारी छैन। निर्देशक तिवारी भन्छन्, ‘कानुनी मान्यताबारे जानकारी नभएका र आर्थिक अवस्था कमजोर भएका महिलाहरू बढी प्रभावित भइरहेका छन्। स्वास्थ्य समस्यासँगै असुरक्षित गर्भपतनले मातृ मृत्युसमेत भइरहेको छ। नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुन्छ।’

यस्तै, कम उमेरमा गर्भपतन र पटक-पटक गर्भपतनसमेत समस्या बन्दै गइरहेको भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनीलमणि पोखरेलले बताएका छन्। ६ देखि ७ पटकसम्म गर्भपतन गराउनेको संख्यासमेत उत्तिकै भेटिने भएकाले बाँझोपन अन्य प्रजननसँग सम्बन्धित समस्यासमेत जोडिएर आउने गरेको उनले जानकारी दिए। सामान्यतया सूचीकृत स्वास्थ्य संस्था र दक्ष जनशक्ति भएको स्थानमा मात्रै सेवा लिने वातावरण अझै बनिनसकेको र धेरैपटक सुरक्षित वा असुरक्षित रूपमा गर्भपतन गराउँदा पाठेघरमा समस्या आउनेसमेत उनले बताए।

समाज, आफन्त र परिवारको डरका कारण लुकिछिपी गर्भपतन गराउने दर कम उमेरका महिलामा व्याप्त रहेको उनको भनाइ छ। साथै, मान्यताप्राप्त औषधिको प्रयोग, सूचीकृत स्वास्थ्य संस्थाको अवस्था र दक्ष जनशक्तिको बारेमा समेत ज्ञान नहुँदा विभिन्न स्वास्थ्य समस्या निम्तिरहेको डा. पोखरेलले बताए।