मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Sunday, 22 December, 2024
२o८१ असोज ३ बिहीबार १२:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १२:१७:oo

सल्यानमा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएको चिकित्सकले बताएका छन् । जिल्लामा पहिलो पटक देखिएको स्क्रब टाइफस डेंगुका तुलनामा तिब्र रुपमा फैलिएको छ ।  स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार स्क्रब टाइफसका २१ र डेंगुका ६ बिरामी फेला परेका छन् । दुई साता अघिसम्म अस्पतालमा उपचार गर्न आएका बिरामीको रगत परीक्षण गर्दा नौ जनामा स्क्रव टाइफस देखिएकोमा आइतबारसम्म रोगबाट संक्रमित हुनेको संंख्या २१ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अजुर्न बुढा मगरले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी शारदा नगरपालिकामा १०, बागचौर नगरपालिकामा ४, बनगाड कुपिण्डे नगरपालिकामा १, छत्रेश्वरी गाउँपालिकामा ४, दार्मा र सिद्ध कुमाख गाउँपालिकामा एक /एक जना स्क्रम टाइफस रोगबाट संक्रमित भएका छन्। संक्रमित हुनेमा दुई जना पुरुष र १९ जना महिला छन् । जसमा सात जना बालबालिका रहेका छन्। 

डेंगु रोगको लक्षणसँग मिल्दोजुल्दो देखिएपछि परीक्षण गर्दा धेरैमा स्क्रब टाइफस देखिएको डा. बुढामगरले बताए। उनले भने, ‘अस्पतालमा ज्वरो आउने, टाउको दुख्ने गरेका बिरामी दैनिकजसो आउने गरेका छन्। तीमध्ये स्क्रब टाइफस परीक्षण धेरैजसोमा पोजेटिभ देखिएको छ।’

स्क्रब टाइफसबाट संक्रमित भएका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र धेरैजसो निको भएर घर फर्किसकेको उनको भनाइ छ। स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणु (एक प्रकारको सानो किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो। यो जीवाणु मुसामासमेत पाइन्छ । विशेषगरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ ।समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन)को अवस्था पनि सिर्जना हुनसक्ने डा. मगरको भनाइ छ ।

स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, जोर्नी र मांसपेशी दुख्ने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, शरीरमा रातो बिमिरा आउने, टोकेको ठाउँमा कहिलेकाही कालो दाग देखिने हुन्छ ।

खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुने चिकित्सकको भनाइ छ  ।

स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको मगरले बताए ।  तर समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्ने उनको भनाइ छ । उनले भने ‘स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परे गमबुट लगाउने र शरीर पूरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।’