Skip This
इन्द्रजात्रामा किन गराइन्छ राष्ट्रप्रमुखलाई दुईपटक सरिक ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असोज १ मंगलबार १२:४६:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

इन्द्रजात्रामा किन गराइन्छ राष्ट्रप्रमुखलाई दुईपटक सरिक ?

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १२:४६:oo

उपत्यकाको मुख्य पर्वभित्र पर्छ ‘इन्द्रजात्रा’ । वसन्तपुरमा लिंगो (यःशी) ठड्याएर जात्रा सुरु हुन्छ । भोटाहिटीमा लिंगो तयार भइसकेपछि उक्त लिंगो हनुमानढोका पुर्‍याइन्छ । तीन दिनसम्म नेवार समुदायले त्यहाँ क्षमा र विधिपूजा गर्छन् । आठ दिन चल्ने यो जात्राका क्रममा हरेक दिन फरकफरक नेवारी नाच, झाँकी र संस्कृतिको बेजोडता प्रस्तुत गरिन्छ । इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुन्छ । यो जात्राका क्रममा लाखे, पुलकिसी, कुमारी, भैरव, गणेश, देवी, इन्द्र, दश अवतारलगायतको जात्रा प्रदर्शन गरिन्छ । इन्द्रजात्राको लिंगोलाई इन्द्रध्वजा पनि भनिन्छ । काभ्रेको नालाबाट ल्याएको ३२ हात लामो काठबाट इन्द्रध्वजा तयार पारिन्छ । हरेक वर्ष आठ दिनसम्म मनाउने यो जात्राको तिथि घटबढ हुँदा कुनै वर्ष थोरै दिनसम्म पनि मनाउनुपर्ने हुन सक्छ ।

इन्द्रजात्राको वेला राष्ट्रपतिलाई दुईपटक रथजात्रामा सामेल गराइन्छ । जात्रा सुरु भएको दोस्रो र आठौँ अर्थात् अन्तिम दिन राष्ट्रपति इन्द्रजात्राको प्रसाद ग्रहण र कुमारीको पूजा गर्न पुग्ने चलन छ । जात्राको वेला दुईपटक राष्ट्रप्रमुख पुग्नुपर्छ भन्ने कहीँ लेखिएको छैन । तर, यो जात्राको सुरुवातीदेखि नै तत्कालीन राजा जयप्रकाश मल्लले यस्तो परम्परा बसालेका थिए । हालसम्म यो जात्राको वेला राष्ट्रपति वा राष्ट्रप्रमुख दुईपटक दर्शन र टीका ग्रहण गर्न पुग्ने गर्छन् । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार परम्पराको आधारमा राष्ट्रप्रमुखलाई जात्रामा सामेल गराइन्छ । राष्ट्रप्रमुखले जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख, शान्ति हुन्छ भन्ने मान्यता छ ।

जयप्रकाशले सुरु गरेका थिए
जयप्रकाश मल्लको पालामा सुरु भएको यो जात्राको इतिहास झन्डै तीन सय वर्ष पुरानो छ । इन्द्रजात्राको प्रतीकका रूपमा लिंगोलाई लिइन्छ । यसलाई तान्त्रिक विधिबाट पूजाआजा गरिन्छ । यसबाहेक नाचगान गर्ने र रथजात्रा पनि इन्द्रजात्राको रमाइलो पक्ष हो ।

यस्तो हुन्छ जात्राको तालिका

पहिलो दिन
जात्राको पहिलो दिन लिंगो ठड्याइन्छ । सो दिन वसन्तपुर क्षेत्रमा पुलकिसी, श्वेतभैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइन्छ ।

दोस्रो दिन 
राष्ट्रपतिलाई रथजात्राको दर्शन गराइन्छ । त्यसपछि कुमारी, गणेश र भैरवको रथयात्रा सुरु हुन्छ । वसन्तपुर हुँदै जैशीदेवल, लगनटोल, कोहिटी, भीमसेनस्थान, मरुटोल परिक्रमा गर्दै रथलाई वसन्तपुरमा ल्याइन्छ । यस दिन सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिन्छ । 

तेस्रो दिन 
गणेश, कमारी र भैरवको रथारोहण गरिन्छ । दिउँसोदेखि रथयात्रा सुरु हुन्छ । रथलाई वसन्तपुरदेखि प्याथल, नरदेवी, ङ्यखा, असनटोल, इन्द्रचोक, हनुमानढोका परिक्रमा गराइन्छ ।

चौथो दिन
चौथो दिन देवी र लाखे नाच प्रदर्शन हुन्छ । सवाभकु (हल्चोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी–देवताको नाच देखाइन्छ । त्यस्तै, आकाश भैरवको मुखबाट प्रसाद वितरण हुन्छ । हनुमानढोकामा श्वेतभैरवको मुखबाट प्रसाद वितरण हुन्छ । 

पाँचौँ दिन 
देवी र लाखे नाच प्रदर्शन हुनेछ । सवाभकु (हल्चोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी–देवताको नाच देखाइन्छ । आकाश भैरवको मुखबाट प्रसाद वितरण हुन्छ । हनुमानढोकामा श्वेत भैरवको मुखबाट पनि प्रसाद वितरण हुन्छ । 

छैटौँ दिन
छैटौँ दिन ठाउँमामा देवी र लाखे नाचहरू देखाइनेछ । त्यस्तै, सवाभकु (हल्चोक आकाश भैरव) पुलुकिसी नाच (एरावत)लगायत देवी–देवताको नाच प्रस्तुत गरिन्छ । आकाश भैरव र श्वेतभैरवको मुखबाट प्रसाद वितरण हुन्छ । 

अन्तिम दिन 
यस दिन कुमारी गणेश र भैरवको रथारोहण हुन्छ । त्यसपछि रथयात्रा सुरु हुन्छ । रथलाई वसन्तपुरबाट प्याथल लगिन्छ । त्यहाँबाट नरदेवी पु¥याइन्छ । किलागल, भेडासिंंह, इन्द्रचोक हुँदै वसन्तपुर ल्याइन्छ । सो दिन राति कुमारीघरमा पुगेर राष्ट्रपतिले कुमारीको दर्शन गरी कुमारीको पाहुलीबाट टीका–प्रसाद ग्रहण गर्ने चलन छ । त्यहाँबाट राष्ट्रपति फर्किएपछि लिंगो ढालिन्छ र इन्द्रजात्रा समाप्त हुन्छ ।

किंवदन्ती– फूल चोर्न आएका राजा इन्द्रलाई समात्दा...
किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्र मानव रूप धारण गरी पारिजातको फूल टिप्न धर्तीलोकमा आए । उनी आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन वसन्तपुर क्षेत्रको मरुटोलमा अवस्थित भगवतीमा रहेको बगैँचामा पुगे । इन्द्रले फूल टिप्न लागेको मालीले देखे । त्यहीवेला उनले चोर आयो भन्दै इन्द्र राजालाई समाते । उनी स्वर्गका राजा इन्द्र हुन् भनेर मालीलाई थाहा थिएन । सधैँ फूल चोर्न आउने यही मानिस रहेछ भन्दै मालीले सबैलाई जानकारी गराए । समुदायका सबै मिलेर इन्द्रलाई पाता कसेर नगर परिक्रमा गराएर बेइज्जत गराउने सल्लाह गरे । राजालाई पाता कसेर नगर परिक्रमा गराए । त्यो दिन नेवार समुदायमा कुमारीको रथयात्रा परेको थियो । त्यही वेला सबैलाई देखाउनुपर्छ भनेर इन्द्रलाई हात बाँधेर नगर परिक्रमा गराइएको किंवदन्ती छ । उता फूल टिप्न गएको छोरा इन्द्र धेरै दिन नफर्किएपछि इन्द्रकी आमा दागी आत्तिएकी थिइन् । उनले आफ्नो छोरालाई कसैले समातेको सपना देखिन् । सपना पछ्याउँदै दागी छोरा खोज्न धर्तीमा आइन् । उनले छोरालाई मालीले समातेर राखेको पत्तो पाइन् । उनले समुदायका मानिसहरूसँग आफ्नो छोराले गल्ती गरेको भन्दै क्षमा मागिन् । त्यसपछि समुदायका सबैले ती फूल टिप्न आउने व्यक्ति स्वर्गको राजा इन्द्र रहेको थाहा पाए । स्वर्गका राजालाई आफूहरूले नराम्ररी सजाय दिएको भन्दै समुदायका सबैले गल्ती स्वीकार गर्दै माफी मागे ।

छोरालाई लिएर जानुअघि इन्द्रकी आमा दागीले समुदायसँग माफी मागिन् । उनले आफ्नो छोरालाई स्वर्गमा लिएर जानुअघि यस धर्तीमा मरेका व्यक्तिहरूलाई स्वर्गमा वास दिने वाचा गर्दै पितृहरूलाई स्वर्गमा लगेको किंवदन्ती छ । यसबाहेक इन्द्रकी आमा दागीले छोरालाई लिएर फर्कने वेलामा कुहिरोजस्तो धुवाँ छाडेर गएको मान्यता छ । कुहिरोका कारण यो वेलामा अन्नबाली राम्रो हुने जनविश्वास पनि छ । त्यही समयदेखि उपत्यकामा इन्द्रजात्रा मनाउन सुरु गरियो ।

गुठी र समुदायबिच सहकार्य 
यो जात्रा वसन्तपुरको तल्लो टोल (कोनेया) र माथिल्लो टोल (ठनेया)मा मनाइन्छ । यस अवसरमा यो क्षेत्रका नेवार समुदाय इन्द्रजात्रा मनाउने धुनमा हुन्छन् । उनीहरू जात्राको तयारीमा व्यस्त रहन्छन् । अहिले इन्द्रजात्राको तयारीमा यहाँका सबै गुठीयारहरू जुट्छन् । वसन्तपुरआसपास क्षेत्रका गणेश, भैरव, लाखे आजु, हल्चोक, आकाश भैरव, पुलुकिसी आजु, श्वेतभैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, कुमारी देवी, किसिचा, महाकालीलगायत गुठी हातेमालो गरी जात्राको तयारीमा जुट्छन् ।

कुमारीलाई बाहिर निस्कने अवसर
जात्राबाहेक अन्य समयमा कुमारी घरबाट बाहिर निस्कन मिल्दैन । कुमारीलाई कुमारीघरमै सबै व्यवस्था र सुविधा दिइएको हुन्छ । कुमारीलाई खाना ख्वाउने, स्याहार गर्ने र पढाउने व्यक्ति राखिएको छ । यसबाहेक कुमारी इन्द्रजात्राको वेला तीन दिन बाहिर निस्कन पाउनेछिन् । कुमारीलाई रथमा राखेर नगर परिक्रमा गराइनेछ । जात्राको वेला कुमारीलाई रथमा राखेर नगर परिक्रममा गराइन्छ । यस्तै जात्रापर्वको वेला वर्षमा १३ पटक कुमारी कुमारीघरबाट बाहिर निस्कन पाउँछिन् ।

घिमिरेद्वारा लिखित ऐतिहासिक पुस्तक होचोढोकाबाट...