Skip This
दोरम्बा पहिरोमा ज्यान गुमाएकालाई बागमती सरकारले जनही एक लाख दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १o:o४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोरम्बा पहिरोमा ज्यान गुमाएकालाई बागमती सरकारले जनही एक लाख दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १o:o४:oo

बामगती प्रदेश सरकारले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ८ डडुवामा पहिरोमा परी ज्यान गुमाएका १० जनाको परिवारलाई राहत रकम दिने भएको छ । मृतकका परिवारलाई प्रतिमृतक एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजन्द्र लामिछानेले जानकारी दिए । यो रकम रामेछापको जिल्ला विपत् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने गरी निकासा हुने उनले बताए । 

गत ८ भदौमा मझुवा, पात्ले, सल्लेटार, मंसिरेलगायत क्षेत्रमा गएको पहिरोमा परी एक हजार ३१५ घरपरिवार विस्थापित भएका छन् । २३७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । स्थानीय बासिन्दा सार्वजनिक स्थलमा सामूहिक रूपमा बस्दै आएका छन् । मन्त्री लामिछानेले विस्थापितको पुनस्र्थापनाका लागि प्रदेश सरकारले काम गर्ने बताए । ‘अहिले विवरण संकलनको काम भइरहेको छ, पालिकाबाट माग हुनासाथ राहत र पुनस्र्थापनाका लागि रकम पठाउँछौँ,’ उनले भने ।विपत्का घटनापछि पुनस्र्थापना र पुनर्निर्माणका लागि स्थानीय तहले २०, प्रदेशले ३० र संघ सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने हुन्छ । रामेछापमा विपत्मा परेकालाई राहत एवं पुनस्र्थापनाका लागि यसअघि नै प्रदेशको कोषबाट ३० लाख निकासा भइसकेको उनले बताए । 

संघ सरकारले १० मध्ये पाँच मृतकका परिवारलाई दियो ८ लाख
संघ सरकारले पहिरोमा परी ज्यान गुमाएका १० मध्ये पाँचजनाका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानका अनुसार मृतकहरू पुड्की पहरी, सन्दीप पहरी, सन्तोष पहरी, चण्डिका थापामगर र आमोष श्रेष्ठका परिवारले राहत रकम प्राप्त गरेका हुन् । सहायक प्रजिअ न्यौपानेका अनुसार एकाघरका तीनजना पहिरोमा परी मृत्यु भएकाको परिवारको एकजना छोरा विदेशमा छन् । कानुनी प्रक्रिया पूरा गर्न उनकी श्रीमतीसँग नाता प्रमाणीकरणका लागि विवाह दर्ता पनि नभएको र बैंक खाता पनि नभएकाले राहत रकम उपलब्ध गराउन नसकिएको उनले बताए । 

पहिरोमा परेका दुईजना अझै बेपत्ता छन् । सनाखत हुन बाँकी रहेकाले राहत रकम हस्तान्तरणमा केही ढिलाइ भएको न्यौपानेले बताए । विपत्मा परी बेपत्ता भएको शव १० दिनसम्म पनि फेला नपरेमा मृतकसरह राहत दिने व्यवस्था गरिएको छ । ‘पालिकाले मृतकको सनाखतसहितको पूर्ण विवरण उपलब्ध गराएपछि बाँकी पाँचका हकवालाको बैंक खातामै रकम पठाउने व्यवस्था गरेका छौँ,’ न्यौपानेले भने । संघमा रहेको विपत् कोषबाट आठ लाख र प्रदेश कोषबाट पाँच लाख रकम प्राप्त भएको उनले बताए । न्यौपानेले घाइतेमध्ये ११ परिवारलाई २५ हजारका दरले दुई लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको बताए ।