Skip This
परम्परागत प्रविधिसँग ‘फ्युजन’को खाँचो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
डा. एमएल शर्मा
२o८१ असोज १ मंगलबार o८:३९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

परम्परागत प्रविधिसँग ‘फ्युजन’को खाँचो

Read Time : > 5 मिनेट
डा. एमएल शर्मा
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o८:३९:oo

हाम्रा पुर्खाले विज्ञान र प्रविधिलाई कसरी अगाडि बढाएका रहेछन् भन्ने खोजी गरी आधुनिक प्रविधिसित तिनको ‘फ्युजन’ गर्नु जरुरी छ

मानव सभ्यताको सुरुवातसँगै जीवनलाई सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । विज्ञानको चेतसँगै दैनिक जीवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकताअनुसार प्रविधिमा स्थानविशेष, हावापानी, स्रोत–साधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँचो पर्दै जान्छ । नवप्रवर्तनमार्फत उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आमजनताको श्रीवृद्धिमा प्रयोग गर्दा राष्ट्र समृद्धिको यात्रामा अगाडि बढ्छ । विज्ञान र प्रविधिमा देश तथा समाजको आवश्यकताअनुसार नवप्रवर्तनले सदैव नयाँ माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकता फरक हुन सक्छन् । समकालीन विश्वमा विभिन्न देशले विज्ञान र प्रविधिको प्रयोगमा चामत्कारिक उपलब्धि हासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् । 

नेपालमा विज्ञान शिक्षा तत्कालीन त्रिभुवन–चन्द्र क्याम्पसमा १९७६ देखि आइएस्सी पढाइबाट थालिएको थियो र बिएस्सीको पढाइ २००४ देखि सुरु भएको हो । ०२२ मंसिरदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञानको पढाइ सुरु भएको थियो । पहिले स्नातकोत्तर तहका विज्ञान कक्षा त्रिचन्द्र कलेजमा सञ्चालित थिए भने पछि कीर्तिपुरमा हुन लागेको हो । हाल विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ–नयाँ विकाससँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विषयमा खुलेर छलफल सुरु भएको छ, यसलाई सुखद मान्नुपर्छ ।    

नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाली योगदान पुर्‍याएको ‘पब्लिक साइन्स कलेज’को स्थापना १ असोज ०१३ मा भएको थियो र आज सो कलेज हाल त्रिविको आंगिक क्याम्पस रूपमा अमृत साइन्स क्याम्पसका रूपमा चिनिन्छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा हाल विभिन्न विश्वविद्यालयका विभिन्न संस्थाले औपचारिक शिक्षा प्रदान गरी महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसै सन्दर्भमा नेपाल सरकारले ०७० देखि हरेक वर्ष १ असोजमा राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउन दिवसका रूपमा मनाउन थालिएको हो । 

नेपाली समाज र सभ्यतामा अनेकौँ प्रविधि प्रयोग गरिएका छन् । विगतमा हाम्रा पुर्खाले विज्ञान र प्रविधिलाई कसरी अगाडि बढाएका रहेछन् भन्ने खोजी गरी आधुनिक प्रविधिसित तिनको ‘फ्युजन’ गर्नु जरुरी छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका वेला थुप्रै शिल्पीको ज्ञान र प्रविधिलाई अपनाएको सन्दर्भ एकातिर छ भने राणा परिवारमा जन्मिएर विज्ञान, प्रविधि र नवप्रवर्तनमा गेहेन्द्र शमशेरको विशेष भूमिका उल्लेख्य छ भने मुसे थापालगायत अनुसन्धानताले परम्परागत प्रविधिको संरक्षण गर्दै आधुनिक विज्ञानको उपयोगमा काम गरेको पाइन्छ । विज्ञानले ल्याएको विकास भन्नासाथ ठुला हवाईजहाज, शक्तिशाली बम र ठुला कलकारखाना मात्र हुन् भनेर सोच्ने चिन्तन आफैँमा अधुरो छ । यी वस्तु मानवीय सुख, सुविधा र आवश्यकताले आदिम कालदेखि आविष्कार गरिँदै आएका विज्ञान, प्रविधि र नवप्रवर्तनका परम्परामा पछिल्ला उदाहरण मात्रै हुन् । विज्ञान दिवसका अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पुर्‍याउन विशेष पहल गर्दै युवा प्रतिभालाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्नु अनिवार्य छ । 

विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्यसम्पादनमा सहजता ल्याउन सक्नुपर्छ । यसले परम्परागत ज्ञान र सीपलाई परिस्कृत गरी स्थानीयस्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सक्नुपर्छ । देशका विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम यदाकदा ल्याएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन । यस्ता कार्यका लागि सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको स्रोतसाधनमा आधारित उद्योग तथा कलकारखाना खोलेर रोजगारी वृद्धि गर्दै आत्मनिर्भर देश बनाउने हिसाबले नीति अवलम्बन गर्नुपर्छ अनि मात्र युवा पलायनलाई रोक्न सकिन्छ । विज्ञान प्रविधि दैनिकीसित जोडिँदै राष्ट्र निर्माणमा भूमिका खेल्ने तहमा पुग्नुपर्छ । 

देशका हरेक भूगोलको आफ्नै विशेष महत्व हुन्छ र विकास भनेको एकीकृत प्रयास हो । तराई क्षेत्रको आफ्नै महत्व छ भने पहाडी र हिमाली क्षेत्रको पनि त्यस्तै विशेष भूमिका र महत्व छ । विविधतासँगै हावापानीमा पनि भिन्नता हुन्छ । भूगोलको विविधताअनुसार उत्पादन गरिने वस्तु फरक हुनु स्वाभाविक हो । जुन कुरा हिमाली तथा उच्च पहाडी भूभागमा उत्पादन हुन सक्छ वा हुन्छ, त्यही कुरा मध्यपहाडी क्षेत्रमा नहुन पनि सक्छ । आधुनिक विज्ञान र प्रविधिको प्रयोगसँगै पारम्परिक ज्ञान र प्रविधिलाई पनि सुधार्दै अघि बढ्ने हो भने उत्पादनमा वृद्धि भई समृद्ध नेपाल बन्न सक्छ । हामीले एक ठाउँको उत्पादन र उपयोगिता अर्को ठाउँका जनतासम्म पुर्‍याउन नसक्नु नै विकासमा पछाडि पर्नुको मुख्य कारण हो । 

आफू जन्मिएको र हुर्किएको देश तथा गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसले बिर्सन सक्दैन, यो मानवीय स्वभाव हो । जीवनमा केही हासिल गरेपछि आफ्नो देश र जनतालाई फाइदा पुर्‍याउने उद्देश्यले जोकोहीले विभिन्न तरिकाले सहयोग गर्न चाहन्छ र सक्छ । आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सबैले योगदान गर्न चाहन्छन् । विदेशमा अध्ययन र अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्ति नेपाल फर्किएर काम गरिरहेका र गर्न चाहिरहेका धेरै उदाहरण छन्, तर सरकारबाट उचित वातावरण र प्रोत्साहन नपाउँदा राष्ट्रले अवसर गुमाइरहेको देखिन्छ । अनुसन्धानमा नाम कमाएका वैज्ञानिक आफ्नो देशमा केही गर्न चाहेर फर्किएका छन्, तर राज्यले यसबारे सोचेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन खोलिएका संस्था र विश्वविद्यालयमा क्षमतावान् व्यक्तिलाई स्थान दिन सरकार र सम्बद्ध निकायसित योजना देखिन्न । विज्ञान र प्रविधि क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एक–आपसमा सहकार्य गर्ने वातावरण मिलाइदिन पनि अति नै जरुरी छ । यो काम नीतिगत रूपमा सरकारीस्तरबाट मात्रै सम्भव हुन सक्छ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पुर्‍याउन सकिन्छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधि विकासका लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी, नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट, नेपाल सरकारको वनस्पति विभागअन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायका प्रयोगशाला छन् । नास्टलाई सबल संस्थाका रूपमा विकास गर्न पहल लिनुपर्छ । नास्ट तथा विश्वविद्यालयले विदेशमा रहेका वैज्ञानिक तथा अनुसन्धानविदलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनुपर्छ । नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकताबमोजिमको अनुसन्धान र प्रविधि विकास मुख्य विषय हो । यी राज्य पोषित निकायले जनताले अपनत्व ग्रहण गर्ने गरी कार्य गर्न सकेका छन् कि छैनन् भनेर विचार गर्न आवश्यक छ । नेपालमा पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । तर, त्यसबाट जति फाइदा लिनुपर्ने हो त्यो भने हुन सकेको छैन, किनभने हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमका रूपमा मात्र प्रयोग गरिँदै छ । यसरी प्रविधिलाई कृषि, स्वास्थ्यजस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पुर्‍याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न सम्भव छ । कोरोना कालमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षा सूचना प्रविधिको प्रयोग गरेर सञ्चालन गर्न सफल भएका उदाहरण छन् । अप्ठ्यारो समयमा शिक्षाको गति अवरुद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यस हिसाबले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढंगले अगाडि बढिरहेको भन्न सकिन्छ ।

कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफैँ जाग्नुपर्छ । जनता आफैँ जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यसका लागि सरकारले सही योजना निर्माण गर्न आवश्यक हुन्छ । हाल अधिकांश नेपाली युवा विदेश गइरहेका छन् । त्यस्तो जनशक्तिले नेपालमै काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्छ । साथै, हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिने र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ राज्यले ध्यान दिनु जरुरी छ । जबसम्म नेपालमा विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर काम गरिँदैन तथा सरकार र समाजले गम्भीरतासाथ लिँदैनन्, तबसम्म बिदेसिने युवाको लर्को रोकिनेछैन ।

राजनीतिक स्थिरता र इमानदार राज्य व्यवस्था मात्रै भइदिने हो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सीप, समाज र उमेर समूह वरदान साबित हुन सक्छन् । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउन सक्ने प्राज्ञिक संस्था, अनुसन्धान केन्द्र, गैरसरकारी संघसंस्थासहित देशबाहिरका जनशक्तिलाई पनि उत्प्रेरित गरी आर्जित ज्ञान, सीप र अनुभवलाई देश हितमा लगाउन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्छ, तर योग्यताका आधारमा भन्दा भनसुन र बन्द हडतालका माध्यमबाट बल प्रयोग गरेर घुसपैठ गर्ने र यस्तै प्रवृत्तिलाई सरकार र राजनीतिकर्मीले प्रश्रय दिने कामलाई बन्द गरिनुपर्छ । 

अन्त्यमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउन, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्वपूर्ण भूमिका खेल्नुहुने व्यक्तिलाई सम्झने र सम्मान गर्ने दिनका रूपमा पनि विज्ञान दिवसलाई लिनुपर्छ र केही गर्ने उत्साहसाथ अघि बढ्न खोजेका प्रतिभालाई प्रोत्साहित गर्ने दिनका रूपमा पनि यसलाई लिनुपर्छ । यसका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सकिनेछ । हामी नेपालीले विगत लामो समदेखि राजनीतिक अस्थिरता व्यहोरिराखेका छौँ । विकास र समृद्धि आफ्नै जीवनकालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरुरी छ । तब मात्र १२औँ विज्ञान दिवसको ‘विज्ञान तथा प्रविधि : विकास र उत्पादनमा वृद्धि’को नारा सार्थक हुनेछ । 

(डा. शर्मा रसायन शास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्)