मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालमा कल सेन्टर राखेर विश्वभरि ठगी, चिनियाँ र फिलिपिनीसहित ५० जना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १o:४७:oo

कल सेन्टरको आवरणमा कार्यालय राखेर अनलाइनमार्फत ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन विदेशीसहित ५० जनालाई पक्राउ गरेको छ । ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर चिनियाँ नेतृत्वको गिरोहले विश्वभरि नै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई चिनियाँ, एक फिलिपिनी र अन्य ४७ नेपालीलाई पक्राउ गरेको हो । त्यसमध्ये ४२ जना सामान्य कामदार मात्र देखिएकाले उनीहरूलाई छाडिएको र अन्य आठजनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । थुनामा राखिएकामा चिनियाँहरू डिङ जियाहोङ र लिन क्विनजिन छन् । फिलिपिन्सका हनिपा सिन्सुवात भाषा अनुवादकका रूपमा कार्यरत थिए । कल सेन्टरमा चिनियाँहरूको ग्रुप लिडरका रूपमा काम गर्दै आएका रौतहटका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, विजयबहादुर गिरी र घर भाडामा लिएर चिनियाँलाई लगाउने नवलपरासीका सुदीप अधिकारी छन् । 

कल सेन्टरबाट महिला बनेर विभिन्न डेटिङ एपमार्फत विश्वभरिका मान्छेसँग कुरा गर्न लगाउने र क्रिप्टोमा लगानी गर्न लगाएर ठगी हुने गरेको एसपी बोगटी बताउँछन् । चिनियाँ र फिलिपिनीले विगतमा दुबईमा यस्तो अपराध गरेकोमा त्यहाँ पक्राउ परी डिपोर्ट गरिएकोसमेत खुलेको छ । ‘त्यसपछि उनीहरूले नेपालमा आएर यस्तो काम सुरु गरेको देखिन्छ,’ एसपी बोगटीले भने । पक्राउ परेकाउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत कारबाही अघि बढेको छ । सो घरबाट प्रहरीले मोबाइल, ल्यापटपलगायत सामान बरामद गरी विस्तृत अनुसन्धान अघि बढाएको छ । 

सुन तस्करीमा क्यासिनो सञ्चालक जेल चलान 
ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक टेरेन्स से जेल चलान भएका छन् । सुन तस्करी प्रकरणमा फरार रहेका उनलाई सिआइबीले मंगलबार क्यासिनोबाटै पक्राउ गरी बुधबार अदालतमा पेस गरेको थियो । अदालतमा बयान र थुनछेक बसहपछि उनी कारागार चलान भएका हुन् । गत असारमा उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भइसकेको छ । सो क्यासिनोबाट सुन तस्करीको पैसा शुद्धीकरण हुने गरेको प्रहरी निष्कर्ष छ । पहिलो चरणको अनुसन्धानमा उनै टेरेन्सलगायतलाई उन्मुक्ति दिएको भन्दै न्यायिक जाँचबुझ आयोगले तत्कालीन सिआईबी प्रमुख किरण बज्राचार्यलगायतलाई कारबाही सिफारिस गरेको थियो ।  दोस्रो चरणको अनुसन्धानमा सिआइबीले तीन हजार १९४ केजी सुन तस्करी गरेको निष्कर्षसहित गत असारमा मुद्दा दायर गरेको थियो ।