१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ भदौ २० बिहीबार o७:२o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेको निष्कर्ष : वामपन्थी मोर्चाबन्दी असम्भव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o७:२o:oo

एमालेले वाम पार्टीहरूसँग कुनै मोर्चाबन्दीको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरिरहेका वेला छलफल गर्न डाकिएको पोलिटब्युरो बैठकबाट एमालेले वाम पार्टीसँगको मोर्चाबन्दीलाई अस्वीकार गर्दै त्यस्तो सम्भावना नै नरहेको निष्कर्ष निकालेको हो । 

दुई दिनको छलफलपछि बैठक बुधबारै सकिएको छ । बैठकमा वामपन्थीको नाममा मोर्चा बन्ने सम्भावनाबारे छलफल गर्ने क्रममा बैठकले त्यस्तो कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘वामपन्थीको नाममा कुनै मोर्चा बन्छ कि जस्ता विभिन्न कोणबाट पनि छलफल भयो । तर, बैठकले वामपन्थीका नाममा अहिले कुनै मोर्चा बन्ने सम्भावना छैन । पार्टीको नीति वर्गीय पक्षधरतामा बढी जोड दिँदै पार्टी निर्माण र विस्तारलाई जोड दिने र वस्तुगत अनुगमन मूल्यांकनका आधारमा अघि बढ्ने निष्कर्ष निकालेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘मंसिरको उपनिर्वाचनमै एमाले कसरी प्रस्तुत हुन्छ थाहा पाउनुहुनेछ ।’ 

अध्यक्ष केपी ओलीले एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि गठबन्धनसँग प्रतिस्पर्धा गरेको स्मरण गराउँदै अब पनि कसैको बैसाखी नटेकी चुनाव लड्ने प्रस्ट्याएका थिए । उनले एमाले अहिले कांग्रेसकै हाराहारीको ठूलो शक्ति भए पनि निर्णायक बलियो राष्ट्रिय शक्ति नबन्दा स्वतन्त्रतापूर्वक पार्टी नीति लागु गर्दै देशलाई समृद्ध बनाउने लक्ष्य पूरा नहुने भएकाले निर्णायक राष्ट्रिय शक्ति बनाउने पार्टीको मिसन पूरा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘हामी अहिले पनि राष्ट्रिय शक्ति छौँ, तर निर्णायक शक्ति नबनेसम्म परिणाम दिन सकिँदैन । एमालेले चाहेको निर्णय अहिले हुन सक्ने स्थिति छैन, त्यसैले अबको ध्यान त्यस दिशामा केन्द्रित गर्नुपर्छ,’ उनको भनाइ थियो । 

ओलीले पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढेको भन्दै पार्टी नेताहरूलाई कि साँच्चै राजनीति गर्न, कि पार्टी छाडेर इन्जोय गर्न विकल्प दिएका छन् । ‘पार्टीभित्र अनुशासनहीनता र चरित्रहीन गतिविधि बढेको विषय बैठकमा जोडदार उठेको छ । अध्यक्षले कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ । दुवै एकैपटक गर्न पाइँदैन । आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एमाले हुन सम्भव छैन भन्दै कडाइका साथ नियन्त्रणका लागि निर्देशन दिनुभएको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने । 

अराजकता र असहिष्णुता रोक्ने प्रतिबद्धता

एमालेले अहिले नेपाली समाजको विशेषतालाई कमजोर पार्ने, राष्ट्रिय एकता, सामाजिक सद्भाव खलबल्याउने अराजक गतिविधि बढिरहेकोमा चिन्ता जनाउँदै त्यसलाई नियन्त्रण गर्न क्रियाशील हुने प्रतिबद्धता जनाएको छ । ‘पछिल्लो समय हाम्रा यी विशेषता र गुणलाई कमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सद्भाव तथा एकतालाई कमजोर पार्ने प्रवृत्ति देखा परेका छन्,’ पारित प्रस्तावमा भनिएको छ, ‘अराजकता लोकतन्त्र होइन र असहिष्णुता सभ्यता होइन । पोलिटब्युरोको यो बैठक सामाजिक सद्भाव, रचनात्मक बहस र स्वस्थ प्रतिस्पर्धाजस्ता नेपाली समाजका विशेषताको संवद्र्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने संकल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ ।’

कांग्रेससहितको अहिलेको सरकारले मुलुकलाई सही दिशा दिने गरी जनतामा आशाको सञ्चार गरेको निष्कर्ष निकाल्दै बैठकले सातबुँदे सहमतिलाई स्वागत गर्दै सरकारलाई सफलताका लागि शुभकामना दिएको छ । ‘सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरणजस्ता उपलब्धिले जनतामा आशाको सञ्चार भएको छ,’ पारित प्रस्तावमा भनिएको छ । 

बैठकले कतिपय राजनीतिक दलबाट व्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार र संयमित बन्न आग्रह गरेको छ । ‘कतिपय राजनीतिक दल एवं नेताहरूबाट अभिव्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सत्तापक्ष होस् या विपक्ष, हामी सबै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौँ र यसको रक्षा, विकास र सफलता हामी सबैको दायित्व हो,’ एमालेले भनेको छ । 

मूलभूत विषयमा कांग्रेस र एमालेको धारणा एउटै : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले खासखास विषयमा कांग्रेस र एमालेको एकै धारणा रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको बताए । ‘एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी हौँ । कति कुरामा समस्या हुन सक्छन् । तर, खासखास विषयमा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन,’ देउवाले भने । देउवाले कांग्रेस र एमाले मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताए । देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताए । उनले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई आग्रह गरे । 

कांग्रेस र एमालेले देशलाई अधिनायकवादतर्फ लैजान खोजे : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले दुईदलीय व्यवस्था हुँदै देशलाई अधिनायकवादतर्फ लैजान खोजेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकको बुधबार समापन गर्दै उनले सुशासन, राष्ट्रियता र जनजीविकाको सवाल पेचिलो बन्दै गएको बताए । ‘दुईदलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजाने कोसिस हुँदै छ । त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्छ । जनताको तागतको अगाडि कसैको केही लाग्दैन,’ उनले भने । पार्टीलाई एकताबद्ध बनाउँदै संगठन विस्तार र सुदृढ गरेर मात्रै प्रतिगामीलाई पराजित गर्न सकिने उनले बताए । संविधान संशोधनमार्फत जनताको अधिकार खोस्ने प्रयास भइरहेको उनको दाबी छ ।