स्याउखेतीको सम्भावना भएको सुदूरपश्चिम प्रदेशको एक मात्र जिल्ला हो बाजुरा । यतिवेला जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ पाण्डुसैनमा लटरसम्म स्याउ फलेका छन् । यी स्याउ साहार स्याउ फार्मले फलाएको हो ।
स्याउ फलेर बोट लटरम्म छन्, तर यातायातको व्यवस्था नहुँदा स्याउले उचित मूल्य भने पाउन सकेको छैन । उल्टै झरेर कुहिन थालेका छन् ।
बुढीनन्दा नपा अंगाउपानीमा करिब तीन हेक्टर जमिनमा ३० हजारभन्दा बडी स्याउका बोट छन् । तीमध्ये २० देखि २५ हजार बोटमा स्याउ फल्ने गरेको साहारा स्याउ फार्मका सञ्चालक उज्ज्वल रावतले बताए । यहाँ उत्पादित स्याउ बिक्रीका लागि स्थानीय बजार कोल्टी, मार्तडी, पिलुचौरलगायतका विभिन्न स्थानमा पुग्छ । स्थानीय बजारसम्म पुर्याउन उचित सडकको व्यवस्था नहुँदा कृषकको परिश्रम खेर गएको छ ।
‘अविरल वर्षाले मार्तडी–कोल्टी राजमार्ग असार पहिलो सातादेखि अवरुद्ध भएको छ,’ रावत भन्छन्, ‘सडक अवरुद्ध हुँदा बारीमा फलेको स्याउ बजारसम्म पुर्याउन सकिएन । स्याउ झरेर कुहिन थालेको छ ।’
मार्तडी–कोल्टी राजमार्ग सुचारु भएन, आफूहरूलाई स्याउ बजारसम्म लैजान सजिलो हुने उनको भनाइ छ । साथै, उत्पादित स्याउ ठूला सहर धनगढी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत काठमाडौंजस्ता सहरमा ल्याएर बिक्री–वितरण गर्न सकिने उनको भनाइ छ ।
‘सडककै कारण अहिले उत्पादन गरेको स्याउ बजारसम्म पुग्न पाएन,’ उनले भने, ‘जसले गर्दा सस्तो मूल्यमा बिक्री गर्नुपरेको छ । अहिले ५० देखि ६० रुपैयाँ केजीमा स्याउ बिक्री गर्ने गरेको स्याउ उत्पादकहरूको गुनासो छ ।
कृषि ज्ञानकेन्द्र बाजुरा कृषि अधिकृत मीनप्रसाद जैसीका अनुसार करिब तीन सय ७० हेक्टरभन्दा बढी जग्गामा स्याउखेती उत्पादन हुन्छ । स्याउखेती हुने क्षेत्र एक सय ७५ हेक्टर छ ।
बाजुरामा वार्षिक ११ सय ३७ मेट्रिकटनसम्म स्याउ उत्पादन हुने गरेको छ । स्याउ उत्पादनमा बाजुरा सुदूरपश्चिमकै एक मात्र भएको जैशीले बताए । ‘मार्तडी–कोल्टी राजमार्ग र कर्णाली करिडोर सडकखण्ड तीन महिनादेखि अवरुद्ध हुँदा कृषकले उत्पादन गरेको स्याउ बजारसम्म लैजान सकिएको छैन,’ उनले भने, ‘कृषकको बारीमा उत्पादन गरेको स्याउ बजार लिन नसक्दा बारीमा कुहिन थालेपछि सस्तो मूल्यमा बेच्ने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था आएको छ ।’
जिल्लामा बुढीनन्दा नगरपालिका, स्वामिकात्तिक गौमुल, जगन्नाथ, खप्तड छेडेदहलगायतका केही भागमा स्याउ उत्पादन हुने गरेको छ ।