मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Wednesday, 15 January, 2025
२o८१ श्रावण १९ शनिबार १२:१७:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश :  सात वर्षमा चार प्रदेश प्रमुख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार १२:१७:oo

 बागमती प्रदेशमा सात वर्षमा चारजना प्रदेश प्रमुख बनेका छन्। संघीयता कार्यान्वयनको ७औँ वर्ष चलिरहँदा बागमती प्रदेशले अहिलेसम्म चारजना प्रदेश प्रमुख पाएको हो। शुक्रबार मात्रै चौथो प्रदेश प्रमुखको रूपमा शुक्रबार दीपक प्रसादले पदभार ग्रहण गरेका छन्। 

यसअघि बागमती प्रदेशमा यादवचन्द्र शर्मा, विष्णु प्रसाईं र अनुराधा कोइराला प्रदेश प्रमुख बनेका थिए। संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ।तर, पदावधिअगावै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले चाहेमा प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सक्ने भएकाले सत्तासमीकरणको प्रभाव प्रदेश प्रमुख फेरबदलमा पनि पर्ने गरेको छ। सत्तासमीकरण परिवर्तन भएसँगै प्रदेश प्रमुख पनि परिवर्तन गर्ने परिपाटी बन्दा बागमतीले सात वर्षमा चारजना प्रदेश प्रमुख पाएको हो।

असारमा कांग्रेस र एमालेबीच नयाँ सत्तासमीकरण बनेसँगै बागमतीमा प्रदेश प्रमुख परिवर्तन हुने चर्चा चलेको थियो। यसअघिको सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीका तर्फबाट प्रदेश प्रमुख बनेका यादवचन्द्र शर्माको स्थानमा देवकोटा प्रदेश प्रमुख बनेका हुन्। 

नयाँ सत्तागठबन्धनमा कांग्रेस र एमाले मात्रै सहभागी भएपछि १४ साउनमा बसेको संघीय मन्त्रिपरिषद् बैठकले शर्मालाई हटाएर एमालेनिकट देवकोटालाई प्रदेश प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गर्दै देवकोटासँगै लुम्बिनी र कर्णालीका नवनियुक्त प्रदेश प्रमुखहरूलाई पनि बिहीबार पद तथा गोपनीयताको शपथ गराएका थिए।

यसअघि बागमती प्रदेशको पहिलो प्रदेश प्रमुखका रूपमा ३ माघ २०७४ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अनुराधा कोइरालालाई नियुक्त गरिएको थियो। करिब २२ महिना प्रदेश प्रमुख रहेकी कोइरालालाई हटाएर १८ कात्तिक २०७६ मा तत्कालीन केपी शर्मा ओली सरकारले विष्णु प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरे।

२०७८ भदौमा पुनः प्रधानमन्त्री बनेका देउवा नेतृत्वको सरकारले प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखका रूपमा नियुक्त गर्‍यो। एमालेको कोटामा प्रदेश प्रमुख बनेका उनले २१ महिना काम गर्ने अवसर पाए। २०७४ मा झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका प्रसाईं पराजित भएपछि प्रदेश प्रमुख नियुक्त भएका थिए।

यस्तै, २०७७ फागुनमा नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि एमाले विभिजन भएर बनेको नयाँ पार्टी एकीकृत समाजवादीको तर्फबाट तत्कालको पाँचदलीय गठबन्धनको सरकारले ३ भदौ २०७८ मा प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट शर्मा सत्तागठबन्धन परिवर्तनसँगै पदमुक्त हुने चर्चा चलेको थियो। करिब तीन वर्ष प्रदेश प्रमुखको जिम्मेवारी पाएका शर्मालाई गत १४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। शुक्रबार औपचारिक रूपमा नवनियुक्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर शर्मालाई बिदाइ गरेका छन्।