Skip This
पेरिस ओलम्पिक २०२४ : इटालियन बक्सरले खेल छाडिन् ४६ सेकेन्डमै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Thursday, 19 September, 2024
२o८१ श्रावण १९ शनिबार o८:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिस ओलम्पिक २०२४ : इटालियन बक्सरले खेल छाडिन् ४६ सेकेन्डमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o८:५८:oo

कारिनीले विपक्षी बक्सरको लैंगिक विषय उठाउँदै रिङमा आफू महिला नभएर पुरुष खेलाडीविरुद्ध प्रतिस्पर्धा गरेको प्रतिक्रिया दिइन् 

पेरिस ओलम्पिकअन्तर्गत बक्सिङ इभेन्टमा कारिनीले अल्जेरियाकी इमान खालिफसँग प्रतिस्पर्धा गरेकी हुन् । खालिफले क्वार्टरफाइनल स्थान पक्का गर्न एक मिनेट पनि खर्चनुपरेन । ३० सेकेन्डमा खालिफले अनुहारमा मुक्का हानेपछि कारिनी आफ्नो हेडगियर सम्हाल्न प्रशिक्षककहाँ पुगेकी थिइन् । खेल सुरु भएको केही सेकेन्डमै उनी आफ्नो कुनामा फर्किन् । तत्कालै खेल त्याग गरेको संकेत गरिन् । रेफ्रीले खालिफलाई विजेता घोषित गरेका थिए । 

कारिनीले विपक्षी बक्सरको लैंगिक विषय उठाएकी छिन् । उनले रिङमा आफू महिला नभएर पुरुष खेलाडीविरुद्ध प्रतिस्पर्धा गरेको प्रतिक्रिया दिइन् । ‘रिङमा म एक महिला नभएर पुरुषविरुद्ध खेलिरहेकी थिएँ,’ निराश हुँदै कारिनीले भनिन्, ‘पुरुषको मुक्का महिला खेलाडीले कहाँ सामना गर्न सकिन्छ ? म आफ्नो ज्यान बचाउन पछि हटेकी हुँ ।’ 

अन्तर्राष्ट्रिय बक्सिङ महासंघको प्रतिबन्धका बाबजुत पेरिस ओलम्पिकमा खालिफले भाग लिएकी छिन् । पेरिसमा उनीसँगै थप एक महिला खेलाडीले महासंघको मापदण्ड पूरा गरेकी छैनन् । मापदण्ड पूरा नहुँदा उनले यसै वर्ष भएको महिला बक्सिङको विश्व च्याम्पियनसिपमा भाग लिन नै पाइनन् । तर, पेरिस ओलम्पिक आयोजकले खालिफलाई खेल्न अनुमति दियो । महासंघले खालिफको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेका कारण भारतमा भएको विश्व च्याम्पियनसिप खेल्न दिएको थिएन । टेस्टोस्टेरोनको हर्मोन पुरुषमा पाइन्छ । 

खालिफले करिअरमा ५० मध्ये नौ खेल मात्र गुमाएकी छिन् । उनले आफू स्वर्ण पदक जित्नका लागि पेरिस आएको र सबै खेलाडीसँग लड्ने बताइन् । खेलको एक दिनअघि अल्जेरियाको ओलम्पिक कमिटीले उनीमाथि लागेको आरोपलाई निराधार भएको जनाएको थियो । 

रिङमा समानता नभएको आरोप
इटालियन बक्सर कारिनीले रिङ लैंगिक समानता नभएको आरोप लगाएकी छिन् । ‘म रिङमा डराएकी थिइन् । उसले प्रहार गर्दा पनि मलाई डर लागेन । मैले खेल समाप्त गर्न बाध्य भएँ, किनभने म रिङमा लैंगिक लडाइँ लड्न असमर्थ थिएँ,’ उनले भनिन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले कारिनीलाई साथ दिइन् । ‘समानताका आधारमा प्रतिस्पर्धाको अर्थ हुन्छ । मेरो विचारमा यो खेल समानताको आधारमा थिएन,’ उनले भनिन् । 

कारिनीले विपक्षीको प्रहार सामान्य नहुँदा लैंगिक भेदभाव विषय उठान गर्न बाध्य भएको बताइन् । ‘म रोकिएँ । मैले आफैँलाई रोक्न भनेँ । यो मेरो जीवनभरका लागि यादगार खेल हुन सक्थ्यो, तर त्यसवेला मैले आफ्नो ज्यान जोगाउनुपरेको थियो,’ उनले भनिन्, ‘यसपटक सबै कुराको अन्त्य हुनैपर्छ । मैले खेल समाप्त गरेँ, किनभने म एक पुरुष खेलाडीविरुद्ध लडिरहेकी थिएँ ।’ 

ओलम्पिकमा मापदण्ड पूरा
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सबै बक्सरले प्रतियोगितामा भाग लिन र प्रवेशका लागि योग्यता मापदण्ड पूरा गरेको जनाएको छ । ‘यी खेलाडीले यसअघि पनि धेरै प्रतियोगितामा खेलिसकेका छन् । उनीहरू अचानक यहाँ आएका होइनन् । तिनीहरूले टोकियोमा पनि खेलेका छन्,’ आइओसीका प्रवक्ता मार्क एडम्सले भने । अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष ओमर क्रेमलेभ रुसका कारण ओलम्पिक कमिटीले बक्सिङ महासंघको निर्णय नमानेको तर्क राखेका छन् । विश्व च्याम्पियनसिपमा बक्सिङ महासंघको निर्णय चल्ने भए पनि ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्नै निर्णयमा खेल गराउँछ । 

यता, अल्जेरियन मिडियाले खालिफको उच्च टेस्टोस्टेरोनका कारण विश्व च्याम्पियनसिपबाट हटाएको दाबी झुटो भएको जनाएका छन् । खालिफले आफूमाथि षड्यन्त्र भएको बताएकी छिन् । ‘केही देशहरू अल्जेरियाले स्वर्ण पदक जितेको चाहँदैनन् । यो ठूलो षड्यन्त्र हो । यसमा हामी चुप लागेर बस्दैनौँ,’ खालिफले भनिन् ।