काठमाडौंको मोह त्यागेर कृषिमा रमाएका एसपी पोखरेल

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

उच्च ओहोदामा पुगेका प्रहरी अधिकारीहरू पदमा छँदै कृषि कर्ममा लागेको विरलै भेटिन्छन्। एसपी दीपक पोखरेल ती विरलै प्रहरीमध्ये पर्छन् । झापा मेचीनगर नगरपालिका– १० का स्थायी बासिन्दा एसपी पोखरेल गत पाँच वर्षदेखि ड्रागन फलको अर्गानिक व्यावसायिक खेती गरिरहेका छन् । 

एसपी पोखरेलले घरनजिकैको आफ्नै तीन बिघा जमिनमा ०७६ देखि ड्रागन फलको खेती गर्दै आएका हुन् । सुरुमा एक करोड रुपैयाँ लगानी गरेर एक हजार पोलमा तीन हजार बिरुवा रोपेर खेती थालेका उनी ड्रागन फलखेतीबाट सन्तुष्ट हुने गरी  आम्दानी गरिरहेको बताउँछन् ।  

कृषक परिवारमा जन्मिएका एसपी पोखरेल सानैदेखि बुबाआमाले झैँ कृषि कर्ममा रुचि राख्थे । यसैले आफू प्रहरी सेवाको उच्च पदमा पुगे पनि उनले कृषिकर्मलाई बिर्सन चाहेनन् । बरु आफ्नो जन्मगाउँमै केही गर्नुपर्छ भनेर जागिरमा कमाएको पैसा सहरको घरजग्गामा खर्च गर्नुभन्दा  कृषि पेसामै लगानी गर्ने सोच बनाए । यसैले उनले लामो अध्ययन गरेर काठमाडौंमा घडेरी किनेर घर बनाउन नागरिक कोषबाट ऋण लिएको पैसाले गाउँमै ड्रागन फलको खेती गर्ने निधो गरे । त्यसपछि उनले भारतको हैदराबाद पुगेर अध्ययन गरे । अनि त्यहीँबाट  ड्रागन फलको उन्नत बिरुवा ल्याएर रोपे । त्यसले एक वर्षपछि नै  राम्रो आम्दानी दिन थालेको छ । सुरुमा रातो ड्रागन फल मात्र लगाएका दीपकले अहिले सेतो, पहेँलो फल पनि लगाएका छन् ।  

पाराडाइज नामको  कृषिफर्म दर्ता गरेर ड्रागन फलको व्यावसायिक  खेती गरिरहेका पोखरेल २४सै घण्टा सेवामा खटिनुपर्ने प्रहरी भएकोले सधैँ समय दिन भ्याउँदैनन् । त्यसैले उनलाई श्रीमती भावना अधिकारीले साथ दिँदै आएकी छिन्। दीपकको निर्देशनमा श्रीमती भावनाले नै खेतीमा नयाँ बिरुवा हुर्काउने, मल हाल्ने, कामदार खटाउने अनि फल टिपेर बिक्री गर्ने गर्दै आएकी छिन् । उनले खेतीमा प्रत्यक्ष चारजनालाई र अप्रत्यक्ष वर्षमा ६ पटक दुई दर्जनलाई वार्षिक रोजगारी दिँदै आएका छन् । यसबाहेक वर्षमा २५ ट्रयाक्टर गोबर मल किनेर हाल्ने गरेकाले वस्तुपालन गर्ने स्थानीयले पनि आम्दानी गर्न पाएका छन् । 

एसपी दीपकको ड्रागन फलको बगैँचा मेचीनगरमा नमुना बनेको छ । उनको खेती हेर्न दैनिक धेरै मानिस पुग्ने गरेका छन्। खेती हेरेर हौसला बढाउन एमाले अध्यक्ष केपी ओलीदेखि अन्य धेरै नेता पनि पुगिसकेका छन् । ड्रागन फलखेतीको बजार नेपालमा राम्रो रहेको, तर अध्ययनविना हल्लाकै भरमा हौसिएर कसैलाई पनि खेती नगर्न एसपी दीपक पोखरेल सुझाव दिन्छन् ।

आजभाेलि धेरै राम्रो कमाइ हुन्छ, मिहिनेत पनि गर्नुपर्दैन, एकपटक लगाएपछि वर्षौँलाई पुग्छ भन्ने हल्लाकै भरमा मानिसले विनाअध्यन खेतीमा लगानी गर्ने गरेको, तर हल्ला भएजस्तो नहुँदा निराश हुने गरेका छन् । तर, ड्रागन फलखेतीको नेपालमा राम्रो सम्भावना रहेकाले सरकारले नीति बनाएर कृषकलाई प्रोत्साहन गर्नुपर्ने एसपी दीपकको भनाइ छ । सरकारले ड्रागन फलखेतीलाई सोझै अनुदान दिएर हाेइन उत्पादन भएको फल खरिद गरेर वा  कोल्डस्टाेर निर्माण गराई  सुरक्षित भण्डारणमा सहयोग गर्नुपर्ने एसपी दीपकको सुझाव छ ।   

एसपी पोखरेलका अनुसार उत्पादन कम भएकाले पहिले ड्रागन फलको बजार धेरै राम्रो थियो । तर, अहिले उत्पादन बढेसँगै मूल्यमा गिरावट आएको छ । तैपनि लगानी नै डुब्ने गरी घाटा हुँदैन, राम्रो मुनाफा नै हुन्छ  । हाल ड्रागन फल स्थानीय बजारमा  प्रतिकेजी चार सय रुपैयाँसम्म बिक्री भइरहेको छ । तेस्रो मुलुक निर्यात गर्न सकेमा अझै धेरै आयआर्जन गर्न सकिन्छ ।  तर, अहिले यो फलको बजारीकरण विस्तार हुन नसक्दा ठूला मल र मार्टहरूमा मात्र बिक्री सीमित भइरहेको छ 
 

सुझावित समाचार